सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको  सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ। गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं.९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बिना अनुमति हुने आवतजावतलाई रोक्नका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो। गाउँपालिकाले सूचना जारी गरेर आजसम्म दर्खास्त दिन आह्वान गरेको छ ।

सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको हो। गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको छ। त्यस्तै लकडाउनका बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाको नामावली सङ्कलन थालेको छ।

गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिको विवरण सङ्कलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिका स्तरीय ‘कोभिड–१९ र्‍यापिड रेसपोन्स टीम’ले निर्णय गरेको छ। कतिपय औषधि स्थानीय मेडिकलमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दमलगायतका अन्य बिरामीलाई राहत पुगोस् भन्ने लक्ष्यले उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजीकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए। रासस

प्रकाशित मिति: : 2020-04-08 14:32:34

प्रतिकृया दिनुहोस्