डोटीको जोरायल गाउँपालिका–४ देउथलाको नङ्नीटोलकी २० वर्षीया अनिता वनको शवको दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन।
गोली हानी हत्या गरिएकी वनको शव जिल्ला अस्पताल डोटीको शवघरमा राखिएको दुई दिन बितिसक्दासमेत परीक्षण हुननसकेको हो।
जिल्ला अस्पतालमा पाँच चिकित्सक कार्यरत रहे पनि गोलीकाण्डको परीक्षण गर्ने अधिकारप्राप्त चिकित्सक कोही नभएका कारण उनको शव परीक्षण हुन नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ज्योति पाण्डेले बताए। उनले भने, ‘अस्पतालमा हामी पाँच चिकित्सक कार्यरत छौँ, गोलीकाण्डको परीक्षण गर्ने अधिकार र तालिम हामीसँग नहुँदा नगरिएको हो।’
गएको आइतबार राति निज महिलाको छातीमा भरुवा बन्दुकले गोली हानिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले बताए।