बेलायती प्रधानमन्त्री जोन्सन आइसियूमा, स्वास्थ्य अवस्था गम्भीर

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ।

कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि जोन्सनलाई आइसियूमा सारिएको उनको कार्यालयले जनाएको छ।

५५ वर्षका जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको छ। कोरोनाका लक्षणहरु कम नभएपछि उनीलाई अस्पताल लगिएको थियो। तर स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उनलाई आइसियूमा सारिएको बेलायती सञ्चारमाध्यमले जनाएकाे छ।

उनलाई भेन्टिलेटरमा भने राखिएको छैन। प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘उहाँलाई लण्डनको सेन्ट थोमस हस्पिटलको डाक्टरको निगरानीमा रोखिएको छ। उहाँको अवस्था थप गम्भीर देखिएपछि मेडिकल टिमको सल्लाहमा आइसियूमा सारिएको हो।’

आफ्नो अनुपस्थितिमा सरकारका अत्यावश्यक कामहरु गर्नका लागि प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री डोमिनक राबलाई जिम्मेवारी दिएको  प्रवक्ताले बताएका छन्।

लेबर पार्टीका नेता सर केएर स्टार्मरले प्रधानमन्त्री जोन्सनको स्वाथ्यलाभको कामना गरेका छन्। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोन्सनको स्वाथ्यलाभको कामना गरेका छन्।

मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा थिए।

कोरोनाको संक्रमण पुष्टि भएपछि फ्रान्समा मृत्यु हुनेको कुल संख्या ८ हजार ९११ पुगेको छ। यस्तै संक्रमितको कुल संख्या ९८ हजार १० रहेको छ।

प्रकाशित मिति: : 2020-04-07 06:50:00

प्रतिकृया दिनुहोस्