बाघ जस्तो शक्तिशाली जनावरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकाको न्युयोर्क शहरस्थित ब्रोनक्स चिडियाखानामा रहेको बाघमा कोरोना पोजेटिभ देखिएको हो।
अमेरिकाको कृषि तथा राष्ट्रिय भेटनरी सर्भिस लेबरोटरी विभागका अनुसार बाघमा कोरोनाको संक्रमण देखिएको सम्भवत यो पहिलो घटना हो।
बाघ र सिंहलाई स्वासप्रश्वासमा समस्या देखिएपछि गरिएको परीक्षणमा बाघलाई कोरोनाको संक्रमण देखिएको हो।
वन्यजन्तु संरक्षण समाजले कोरोना प्रभावित बाघको नाम नादिया भएको पुष्टी गरेको छ। यो मलेसियाबाट ल्याइएको बाघ थियो भने यसको उमेर ४ वर्ष बताइएको छ। चिडियाघर प्रशासनका अनुसार नादिया र उनको बहिनी अजुल, यस्तै दुईवटा अमुर बाघ र तीनवटा अफ्रिकन सिंहलाई सुख्खा खोकी लागेको थियो।
यसपछि उनीहरूलाई वन्यजन्तुको डाक्टर कहाँ उपचारका लागि लगिएको थियो। उनीहरूको उपचारमा सामान्य एनेस्थेसिया प्रयोग गरिएको चिडियाखाना प्रशासनले जानकारी दिएको छ।
चिडियाखानाका कामदारले बाघमा कोरोनाको संक्रमण मानिसबाट सरेको हुनसक्ने आशंका गर्छन। अरु जनावरलाई बाघमा भएको कोरोनाको भाइरस नसरोस भनेर निगरानीमा राखिएको बताइएको छ। अमेरिकामा कोरोनाको प्रभाव बढ्न थालेपछि मार्च १६ देखि चिडियाघर बन्द गर्ने घोषणा गरिएको थियो।