दुई बाला बयली खेल्दा ड्याली काकुनका
दुई मैना कसरी काटूँ चैत फागुनका
गाउँले परिवेश बिहानै सुनिन्छ कोयलीको कुहू कुहू। वारिपारि डाँडामा नयाँ पालुवा पलाइरहेका रुखहरू देख्दा लाग्छ भरखर बिमार ठिक भएर तग्रिदै गरेका जीवन जस्ता। कनिकुथि मुस्कुराउन सिकिरहेका अनुहार जस्ता। तिनका पत्रपत्रमा स्पर्स गरेर दौडिरहेको छ बतास। नयाँ वर्षको आगमन हुँदै गर्दा मालिकको अनुहार हेरिरहेझैं देखिन्छन् घरहरू। पाएका छैनन् कैयौंले रातो माटो र कमेरो बोक्न।
चैत महिना आफैमा उदाश र बिरक्त बनाउने महिनाका रुपमा देखिन्छ। त्यसैमा कोरोनाको त्रासले थपेको छ झन बढी विरक्ति। तुवालोले चारैतिरका किनारमा धमिलो देखिने दृश्य छन्। माथि लेकतिर अलाप्न थालिसकेका छन् गोठालाले बाँसुरीको विरहपूर्ण धुन। मन बरालिने महिना हो यो। त्यसैले त बुढापाकाहरू सुनाउछन् – ‘महिलाहरुको पोइल जाने महिना हो यो।’ तुलनात्मक हिसावले विगतमा पोइल जाने अर्थात भगाएर लैजाने कार्य चैतमा बढी नै भएका रहेछन्। त्यसैले गाउँघरमा हेर्न थाले चैतलाई महिलाहरूको पोइल जाने महिनाका रुपमा पनि। भगाउने महिना भनेनन्। भाग्ने वातावरण सिर्जना गर्ने पुरुष पर्दा पछाडी नै रहे। यो पाटोमा छुट्टै लेख आउने नै छ। यतिखेर शिरानीका यी पंक्तिलाई सम्झिन बाध्य तुल्याइ दिए गायक टेकराज अवस्थीको गीतले।
एकातिर लकडाउन र कोरोनाको दिनप्रतिदिनको व्यापकताले सन्नाटा छाएको छ। त्रासपूर्ण वातावरणको सिर्जना गरेको छ। अर्कोतिर सुदूरपश्चिमका पाहाडी बस्तीका मानिसहरू खुलेआम घुमिरहेका देखिन्छन्। डोटीको तिल्ताली, गोपघाट, बानेडुग्रीसैन लगायत ठाउँका बासिन्दाहरू खुलेआम घुमिरहेका देखिन्छन्। उनीहरू अलिकति हच्किन्छन् लाहुरे देख्दा मात्रै। तर भन्न केही सक्दैनन्। केही भनिहाल्दा ल मलाई, मेरो मान्छेलाई शंका गर्यो भन्ने खालको प्रश्न खडा भैदिन्छ। कतै आक्रोशपूर्ण वातावरण छ। कतै शङ्कालु हेराइ छ। कतै मुख बाङ्गो गरेर तेस्रो व्यक्तितिर हेरेर गरिने इशारा छ। सेती किनारतिर जाल बोकेर हिँडिरहेकै छन् माछा मार्नेहरू। आखिर जे सुकै भए पनि छैन लकडाउन जस्तो लकडाउन। साँझ दुईचार क्वाटर चढाएपछि दिमागबाटै टाढा पुगिसक्छ कोरोना।
जिल्लामा ठाउँठाउँमा बनाइएको छ भारतबाट आएका लाहुरेहरूका लागि क्वारेन्टाइन। अधिकांश क्वारेन्टाइनको अवस्था हेर्दा लाग्छ केवल औपचारिकता मात्रै निभाइए जस्तो। डोटीको शिखर नगरपालिका अन्तर्गत पर्ने बानेडुङ्ग्री सैनस्थित सेती किनारमा अवस्थित श्री शिद्धेश्वर माविको क्वारेन्टाइनमा भारतबाट आएका १४ जना र काठामाडौंबाट आएका १ जना गरी १५ जनालाई राखिएको छ। ती मध्ये शिखर नगरपालिका वडा नं. १० का ६ जना र वडा नं. ११ का ९ जना छन्। जहाँ ७ दिनसम्म चार/पाँच जनाले एउटै ओछ्यानमा सुत्नु परेको समाचार डोटीका पत्रकार रामहरि ओझाले प्रकाशित गरे लगत्तै सरोकारवालाका आँखा कान खुलेछन्।
सिडिओ लगायत स्थानीय अगुवाहरू भेट्न पुगेछन्। सुदूरपश्चिमका अधिकांश ठाउँहरूमा यस्तै समस्या देखिएको छ। सात दिनपछि अलग ओछ्यान बनाउनुको कुनै अर्थ त राख्दैन। तथापि अलि सहज ढंगले सुत्न त पाएका छन्। तर पनि एक बेडदेखि अर्को बेडसम्मको दूरीको ख्याल गरिएको देखिदैन्। ७ दिनसम्म एउटै ओछ्यानमा सुत्न लगाएको कुरा सुन्दा आश्चर्य चकित हुनु पर्ने मात्र नभएर यो देशका स्थानीय निकायदेखि प्रदेश सरकार र माथिल्लो निकायसम्मका अगुवाहरूको लापरवाहीका बारेमा मनन् गर्नु पर्ने हुन्छ। केही गर्लान् भनी जनताले भोट दिएर जिताएका नेताहरूले उल्टै जनताको जिन्दगीसँग खेलबाड गर्न थाल्दछन् भने यो भन्दा दुर्भाग्य अरु के नै हुन सक्छ।
एकातिर आशंकामा राखिएका लाहुरेहरूका लागि एउटै ओछ्यान बनाइन्छ। अर्कोतिर तिनका आमा बुवा,छरछिमेक र आफन्तहरू भगवान् पुकारी रहेका छन् –गाउँघरमा कसैले संक्रमित बन्नु नपरोस्, महामारी नफैलियोस् भनेर। उता सरकारका मन्त्रीहरू कमिशनको चक्करमा व्यस्त देखिन्छन्। समस्त देशवाशी नै भगवान् भरोशामा बाँचिरहेका छन्।
अविरल बगिरहेकी सेतीका छाल हेरेर टोलाइरहेका मन एकातिर छन्। परदेशबाट छोरो आएन भनेर चिन्तित हुँदै केही नभैदेओस् भनी भाकल गर्ने मनहरू अर्कोतिर छन्। क्वारेन्टाइनमा रहेकाहरूका आफन्तका औंला धकेलिएकै छन् साँझ बिहान मोबाइलका अङ्क थिच्न। पाकेका गहुँका फाँटमा बिछाएकै छ सूर्यले किरण। हातहातमा हँसिया बोकेका महिलाहरू निस्किरहेका छन् एकाबिहानै गहँु काट्नलाई। उनीहरूलाई सोद्धा भनिदिन्छन् – ‘पाकेको खेती छाडिबर कसेरी बसिरनु घर। अइले गहुँ नकाट्या पछि के खानु। काम त गद्दु पर्यो। आब जे गद्दाछन् भगवान।’
भगवानप्रतिको आस्था पुरानै हो। उहिले उहिले घरमा कोही बिमारी हुँदा धामी सोध्ने, इष्ट, कुलदेवता गुहार्ने परम्परा थियो। जुन अहिले पनि छदै छ। गाउँबस्तीतिर महामारी नफैलियोस्। हामी कसैलाई केही नहोस् भनेर गाउँघरतिर स्थानीय देवतालाई पुकार्दै पाठ पुजा गर्ने, भरभारकल गर्ने काम भैरहेकै छ। यसै सन्दर्भमा डोटी शिखर नगरपालिकाको ११ नं. बडास्थित गोपघाटमा सेती नदी पारि रहेको तेडीको मन्दिरमा चैत २१ गते बिहानै देखि पूजापाठ चलिरहेको थियो। लकडाउनको कुनै पर्वाह थिएन।
समुदायका सबैजना जम्मा भएर दश औंला जोडेर देउता काँपिरहेको घामीलाई भनिरहेका थिए–‘परमेश्वर प्रभु यहाँ कसैलाई केही नहोस्। महामारी नफैलियोस्। रक्षा गर्न अगाडी लाग्नु पर्ने तैले नै हो।’ धामी पनि हातभरि पहिरेका चाँदीका बालाको छङ्छङ आवाज निकाल्दै, लामा कपाल र टुपी हल्लाउँदै आश्वासन दिइरहेकै थिए – ’दजाऽ पन पै म छदै छु तल्ली नगरी मल्ली नगरी सबैकी रक्षा अरिहालुलो लाउ।’
आफ्नो ख्याल राखेर घरभित्रै बस्नुको सट्टा लकडाउनको समयमा समुदायका सबैजना जम्मा भएर देवता पुकार्नु कतिसम्म उचित थियो त्यो एकातिर छदै छ। यतिबेला यस्तो कार्य गर्नु उचित हैन भन्ने कुराको राम्रो ज्ञान भएकाहरू पनि भनिरहेका थिए – ‘यो देशका नेता र सरकारको भर परेर केही हुने वाला छैन। विश्वमा यस्तो महामारी फैलिरहेको बेला बिमारीको लागि मगाइएको औषधिमा समेत घोटाला गर्ने सरकारले हामी दूरदराजका जनतालाई के हेर्छ। यो देशमा के नै छ र। आफैले आफ्नो र घरपरिवारको ख्याल गर्नु र तिनै बाउ बाजेका पालादेखि पुज्दै गरेका इष्ट, कुललाई पुकार्नु शिवाय छैन कुनै विकल्प।’
काठमाडौंलाई नैपाल भन्ने सुदूरपश्चिमेलीहरूको प्रतिनिधि आवाज हो यो। सदूरपश्चिम प्रदेशमा गतिलो अस्पताल नहुनु, अहिलेसम्म एउटा मेडिकल कलेज सञ्चालनमा आउन नसक्नु लगायतका कैयौं कारणले गर्दा जनतामा निराशा छाएकै छ। कोरोनाकै प्रसङ्गमा हेर्दा देवताप्रतिको आस्था र विश्वासले उनीहरूको शाहस बढिरहेको देखिन्छ।
आशा र भरोशाले शरीरमा इम्युनिटि पावर पनि बढाइरहन्छ यस अर्थमा यतिखेर भगवान् पुकार्ने कार्य पनि उचित नै देखिन्छ होला। तर यस्तो कार्य घरमै बसेर गर्दा उचित होला। एकातिर भारतबाट लाहुरेको आगमन भैरहनु अर्कोतिर मन्दिरमा जमघट गर्नु देखि लकडाउनको समयमा सबैले खुलेआम घुम्न थाल्दा दुर्भाग्य निम्तिन कति नै बेर लाग्छ र। कहावत नै छ दुर्भाग्य बाजाबजाएर आउँदैन। हामी पनि कामना गरौं दुर्भाग्य न निम्तियोस्।