नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या न्यून रहेको र कोविड-१९ को कारण कसैको मृत्युको रिपोर्ट नआउँनु सुखद अनुभूति हो। यसको पछाडि के कस्ता कारण हुनसक्छन् भन्ने कुराको विभिन्न अनुमानकाबीच भर्खरै प्रकाशित एक अनुसन्धानको परिणामले एक मननीय कारण औंल्याएको छः नेपालमा वालवालिकालाई अनिवार्य रूपमा दिइने बीसीजी खोपको कारण नेपालीको कोविड-१९ विरुद्धको प्रतिरक्षा दह्रो बनेको हुनसक्छ।
कोविड-१९ संसारका धेरैजसो देशमा फैलिएको भएपनि यो रोग को प्रभाव भने बिभिन्न देशमा फरक-फरक देखिएकोले विश्वका बिभिन्न मुलकको तथ्यांक संकलन गरी राष्ट्र्रिय बीसीजी खोप नीति र कोविड-१९ मृत्युदरबीचको सहसम्वन्धको विश्लेषण गरिएको हो।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गत रहेको डिपार्ट्मेन्ट अभ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले संयुक्त रुपमा गरेको अनुसन्धानको रिपोर्टअनुसार राष्ट्रव्यापि बीसीजी खोप नीति र कोविड-१९ को मृत्युदरबीच सहसम्बन्ध रहेको देखाउँछ।
बीसीजी खोपले साधारणत: श्वासप्रणालीको संक्रमणबाट बचाउँछ।यी शोधकर्ताले धेरै देशको बीसीजी भ्याक्सिनेशन पोलिसी र कोविड-१९ मृत्युदरको बीचमा रहेको हुनसक्ने तादत्म्यतालाई खोतलेका थिए।
नेपालीलाई श्रीपशुपतिनाथको कृपाले नै कोरोनाबाट बचाइरहेको हुनसक्ने हाम्रो अनुमानमा केही न केही दम भने देखिन्छ। बीसीजी खोपको प्रभावले नै हामी नेपालीको रोग-प्रतिरोधात्मकताको काम गरिरहेको रहेछ भन्ने कुराको पुष्टी भैहाले पनि हाम्रो नेपाली तर्क भने फेल खाँदैन । त्यो के भने यदि श्रीपशुपतिनाथको कृपा नभएको भए हामीले बीसीजीको खोप नै पो कसरी पाउने थियौं र?
उनीहरुको विश्लेषणले लामो समयदेखि वालवालिकालाई अनिवार्य रुपमा बीसीजी खोप दिने नीति अंगालेका देशको तुलनामा यस्तो अनिवार्यता लागु नगरेका इटाली, नेदरल्याण्ड, संयुक्त राज्य अमेरिका जस्ता देश कोरोनाबाट बढी प्रभावित भएको देखाएको छ।
यसैगरी अनिवार्य बीसीजी नीति ढिला सुरु भएका देशमा पनि कोरोनाको उच्च मृत्युदर देखियो। उदाहरणको लागि इरानले अनिवार्य बीसीजी नीति १९८४ देखि मात्र शुरु गरेको थियो, जसको कारण त्यहाँको वृद्ध जनसंख्यामा मृत्युदर उच्च छ। जापानले सन् १९४७ देखि नै बीसीजी खोप लागु गरेको थियो। स्मरण रहोस्, जापानमा कोविड-१९ को प्रारम्भदेखि नै संक्रमित संख्या रहेको भएपनि र लकडाउनजस्ता सामाजिक अलगावको सबैभन्दा कडा प्रकार लागु नगरे पनि मृत्युदर भने त्यहाँ उच्च छैन।
मृत्युदर मात्रै होइन बरु बीसीजी खोपको दीर्घकालीन प्रभाव रहेको देशमा कोविड-१९ भएका व्यक्तिको रिपोर्टेड संख्यामा पनि उल्लेख्य कमी देखिएको छ। यदि यो सोधले देखाएको प्रारम्भिक नतिजा अन्य शोधबाट पनि प्रमाणित हुँदै गएमा कोविड-१९ बिरूद्धको लडाईमा बीसीजी भ्याक्सिनेशनले एक नयाँ सम्भावित ढोका खोल्नेछ।
नेपालीलाई हालसम्म पशुपतिनाथले कोरोनाबाट बचाइरहेको हुनसक्ने हाम्रो अनुमानमा केही न केही दम भने देखिन्छ। बीसीजी खोपको प्रभावले नै हामी नेपालीको रोग-प्रतिरोधात्मकताको काम गरिरहेको रहेछ भन्ने कुराको पुष्टी भैहाले पनि हाम्रो नेपाली तर्क भने फेल खाँदैनः यदि पशुपतिनाथको कृपा नभएको भए हामीले बीसीजीको खोप नै पो कसरी पाउने थियौं ?