मृत्यु जिन्दगीको अन्तिम बिन्दु हो । तर त्यो अन्तिम बिन्दुसम्म पुग्नु अगाडि कयौँ दुःखकष्टलाई छिचोल्नु पर्छ। नेपाल ले अब बुझनु पर्छ, विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका अहिले कोरोनाको विनाशको सामना गरिरहेको छ। पछिल्लो २४ घण्टा अमेरिकामा कोरोनाका कारण एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस देशमा कोरोनाबाट मर्नेको संख्या ६ हजार नाघिसकेको छ भने अझै यो संख्या बढ्ने देखिन्छ।
अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या गुणात्मक रुपमा चीनभन्दा बढ्दो छ। न्यूयोर्कमा मात्र दुई हजारभन्दा बढी मानिस मरेका छन्।
संयुक्त राज्य अमेरिकाको युएस कोरोना टास्क फोर्सका प्रमुख डेबोरा बिरसेका अनुसार कोरोनाको संक्रमणका कारण मात्र अमेरिकामा १ देखि २ लाख मानिस मारिने सम्भावना छ। उनले भनेका छन्, ‘हाम्रो सबैभन्दा राम्रो प्रयास भनेको मानिसको जीवन बचाउनु र मृत्युको संख्या कम्तिमा राख्नु हो।’
अमेरिकाबाट केही शिक्षा लिएर नेपालले स्टेज–२ मा पुगिसकेकाे कोरोनाको अवस्थामा केहि सावधानी अपनाउनु जरुरी छ। नेपालको सरकारलाई अहिले पनि पर्याप्त समय छ, देशलाई पूर्ण रुपमा सुरक्षित राख्न।
कोरोनाले संसाधनलगायत सबै कुराले सम्पन्न राष्ट्र पनि असहाय देखिएका छन्। स्वास्थ्यमा नेपालले जीडीपीको १.१ प्रतिशत खर्च गर्छ। अमेरिकाले ८८ लाख करोड खर्च गर्छ, यसैले त अमेरिका अरु देशभन्दा कति धेरै अगाडि छ प्रष्ट हुन्छ।
कोरोनाको महामारीले सारा विश्व त्रासमा रहेको बेला नेपाल सरकार कानमा तेल हालेर सूतिरहेको छ। विश्वमा फैलिएको महामारीको अवस्थामा अहिले मुलुकलाई ‘हाइअलर्ट’ मा राख्ने समय हो। ‘लकडाउन’ मात्र यसको समुचित उपाय होइन। त्यो त सावधानी मात्र हो। संक्रमित भएपछिको ‘एक्शन प्लान’ के हो? अब जनताले सरकारलाई संशयको आँखाले हेर्न थालेका छन्।
बहुमतको सरकार भए पनि ओली सरकार अहिले असहाय र लाचार देखिन्छ। दृढ़ शक्तिको कमिले ओली सरकार कुनै पनि कड़ा कदम जनताको हितमा लिन सकिरहेको छैन। क्याबिनेट सुचारु रूपमा चलाउन अनुगमन प्रणाली छैन। प्रधानमन्त्रीले केहि भनेपछि ठ्याक त्यसको उल्टो उनको पार्टीका नेताहरूको प्रतिक्रिया आउँछ।
माओवादीसँग समायोजन भएपछि नेकपाको कुनै अस्तित्व देखिदैन। नेकपाका शीर्ष नेता पनि प्रधानमन्त्रीसँग गुनासो गर्छन्–उनीहरूको कुरालाई प्रधानमन्त्रीले महत्व दिएनन् भनेर।
यस्तो अवस्थामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर यो महामारीविरूद्ध लड्न सबैलाई एकजुट गराउने सहास देखाउनु पर्थ्याे। न कि पुरानो तिक्तता राखेर सरकार चलाउने।
अझ महामारीको अवस्थामा कमिशनको चलखेलमा लागेका मन्त्रीदेखि दलालहरूको पहिचान गर्दै कार्यवाहीको दायरालाई अगाडि बढाउन सक्नुपर्छ। यसले प्रधानमन्त्रीको गरिमालाई नै माथि उठाउने हो।
अहिले संकटको घडीमा सरकार जति सक्रिय हुनुपर्ने हो, त्यति भएको अनुभव आमजनताले गर्न पाएका छैनन्।
भारतीय सीमामा नेपालीहरू विगत एक सातादेखि बिचल्लीमा छन्। उनीहरूलाई आफ्नै देशमा व्यवस्थित रूपले क्वारेन्टाइनमा राख्ने सामर्थ पनि यो सरकारमा देखिएको छैन। अर्को कुरा कोरोनाविरूद्धको लडाईमा होम्मिएका चिकित्सकलाई आवश्यक पर्ने पीपीईलगायत आवश्यक सामाग्री अहिलेसम्म उपलब्ध नगराएर सरकारले चरम लापरवाहीको नमूना पेश गरेको छ।
यसले हाम्रा नेताहरू राजनीति भाषण गर्न मात्र माहिर भएको पुष्टी हुुँदै गइरहेको छ। उनीहरूसँग देश चलाउने न दुरदृष्टि देखिएको छ, न महामारीसँग लड्ने दृढ इच्छा शक्ति नै । नेताहरुकाे रवैया हेर्दा हाम्रा अग्रजहरूले भनेकाे कुरा अहिले मलाई याद आइरहेकाे छ, यो देश ‘पशुपतिनाथको कृपाले’ चलेको छ भनेर।
याे पनि:
५० हजार लगानीबाट सुरु भएको नेपा डान्स एकेडेमी यसरी बन्यो मुलुककै ठूलो डान्स स्कुल