कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न त्रियुगा नगरपालिकाले रु एक करोडको कोष स्थापना गरेको छ। शुक्रबार बसेको नगरपालिकाको बैठकले सो कोष सञ्चालनमा ल्याउने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए।
'बैठकले लकडाउनमा गरिब तथा दैनिक ज्यालादारी गर्ने विपन्न समुदायलाई १५ दिनको लागि खाद्यान्न उपलब्ध गराउने पनि निर्णय गरेको छ', उनले भने।
नगरका सबै वडामा विपद् व्यवस्थापन समिति गठन गरी ती समुदायको पहिचान गर्ने उनको भनाइ छ। 'नगरपालिकाभित्र क्वारेन्टाइनको क्षमता बढाउने र क्वारेन्टाइनमा रहनेका लागि खानाको व्यवस्था गरिनेछ' उनले भने।
नगरभित्र रहका सो भाइरसका सम्भावित बिरामीका लागि तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताउदैं उनले भने, 'स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्न लागिएको छ।'
स्थानीय तहले विदेशबाट फर्किएकालाई राख्न तयार गरेका क्वारेन्टाइनमा ६२ र होम क्वारेन्टाइनमा २४५ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए। जिल्लाका विभिन्न आठ वटा स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेका छन्।