विदेशमा काम गर्न गएका आफ्नाहरूप्रति समर्पित
आमा .....
अचानक खै के भयो ?
धर्ती नै बिरामी भयो
कर्मभूमिले त गुलाम बनाएकै हो
मातृभूमिले पनि आज सौतेलो बनायो
मेरो घर फिर्ने बाटो हरायो ।
मान्छे सबै एकाएक कैदी भए
मानौ .....
सिङ्गो धर्ति कारागृह भयो
मान्छेले मान्छेलाई छुन सम्म डराए
मृत्युमा मलामी हराए
मर्ने बेलामा परिवार पनि भए पराये
लाशहरूका लागि चिहान पुगिरहेको छैन
कसैले कसैलाई कुरिरहेको छैन
आमा .....
मेरो देशलाई सन्चै छ ?
त्यहाँको माटोले के भन्दै छ ?
यहाँ त चोखो हावा पनि महङ्गो भयो
मानव सँस्कृति नै नाङ्गो भयो
हामीलाई त शरणार्थी बनायो
आमा .......
आफ्नो गाउँ सम्झेर आज मुटु चहरायो
मेरो घर फिर्ने बाटो हरायो ।
कसैलै कसैलाई छुदैन अचेल
आफ्नै घरलाई बनाएको छ जेल
नाँचीरहेको यो संसारै अचानक मौन भयो
मानव र मानवता नै गौण भयो
जता ततै लाशै लाश छ
मान्छेको मनमा त्रासै त्रास छ
के गरूँ आमा .....
म पनि डरले थरथर काँपिरहेको छु
येनकेन पशु झै खोर भित्र बाँचिरहेकोछु
जाबो एक थरी कीटाँणुले
मान्छे र मान्छेले आर्जेको
मानव सभ्यतालाई नै लडायो
आमा ....
मानवता विहिन यो पराया माटो त्यागी
घर फर्किन मन आत्तियो
तर आमा ...
सुन्दै छु मेरो देशले पनि ढोका बन्द गर्दैछ रे
शहर पनि गाँउतिर सर्दैछ रे
कसलाई भनूँ कसरी भनूँ
आफ्नै देशले आज पराया बनायो
मेरो घर फिर्ने बाटो हरायो