घर

कथा

‘हेर बाबु घर चाहीँ यस्तो बनाईयो,’ ससुराले मेरो कोठाको ढोका खोलेर आफ्नो काका पर्नेको छोरालाई देखाउँदै भने।

कोठाभित्र बसेर लुगामा आईरन लगारहेकी म एक्कासी झस्किएँ। कति झुटो बोल्न सकेका होलान्। हुन त यो घरमा विवाह भएर भित्रिएदेखि झुटैझुटको खेती भईरहेको छ। सोच्दा पनि उदेक लाग्छ मान्छेले हुँदै नभएको कुराको धाक लगाएर आखिर के पाउँछन्?

जबदेखि यस घरमा विवाह गरेर आएकी छु। मनमा अलिकति पनि खुशी छैन। हुन त प्रशान्तलाई रोज्ने काम मैले नै गरेकी हुँ। अब खुशी नभए पनि खुशी देखिनुपर्छ।

एकपटक एउटा एफएममा अन्तर्वाता दिईसकेपछि फ्रेन्ड रिक्वेस्टको ओईरो लाग्यो। त्यही ओईरोमा प्रशान्त भेटियो। कालो कालो वर्ण अनि हल्का दाह्री पालेको अनुहार। फोटोमा निकै आर्कषक देखिन्थ्यो प्रशान्त। फेसबुकबाटै चिनजान भयो। चिनजान भएको केही दिनमा नै प्रेम प्रस्ताव राख्यो। मैले नकार्न धेरै कोशिश गरेँ, तर सकिनँ।

प्रशान्त एकोहोरो पाराले पछि लाग्न थालेपछि मैले उसलाई भेटेँ। अग्लो, कालो बर्ण अनि हल्का पालेको दाह्री देखेर म मोहित भएँ। न्यूरोडको क्याफेमा भेटेकै दिन उसले मेरो घरमा बुवाआमालाई भेट्यो। उसको बोली यति मिठो थियो कि उसको मिठो बोलीले मेरो बुवाआमा दङ्ग पर्नुभयो। बुवाआमालाई भेटेको तीनदिनपछि उसले आफ्नो आमालाई लिएर आयो। उसको आमाले त्यसैदिन नै ईंगेज्मेन्ट गर्ने हठ लिएपछि हतारहतारमा उसको र मेरो ईंगेज्मेन्ट भएको हो।

ईंगेज्मेन्ट भएपछि प्रशान्तले कहिले डाईनिङ टेबल त कहिले टिभीको डिमान्ड राख्न थाल्यो। उसले डिमान्ड गर्न थाले पछि मन कताकता बिझाएँ झै भयो। तर उसको मायामा मैले कुनै कुराको पर्वाह गरिनँ। प्रशान्तको एउटा समस्या थियो। उसको आफ्नो घर थिएन। त्यसैले ऊ घर बनाएर मात्रै विवाह गर्न चाहन्थ्यो। बुवाआमा मेरो लागि घर किनिदिन चाहनुहुन्थ्यो। मैले त्यही कुरा उसलाई सुनाएँ। प्रशान्त यो खबर सुनेर खुशी भयो। अनि घर खोज्न थाल्यो।

मेरो सासु चाहन्थिन् त्यो घर दुईजनाकै नाममा होस्। बुवाआमा चाहनुहुन्थ्यो कि त्यो घर मेरो नाममा मात्रै होस्। मैले बुवाआमाको कुरालाई बेवास्ता गरेर सासुको कुरा मानेर दुई जनाकै नाममा घर पास गर्ने जिद्दी गरेँ। मेरो जिद्दीको अगाडि बुवाआमा हार्नुभयो। मेरो र प्रशान्तको नाममा घर पास भयो। अनि म विवाह गरेर यहाँ अन्मिएकी हुँ। ओहो! आईरनले च्वास्स हातमा पोलेपछि पो म सोचाइबाट बाहिर आएँ।

श्रीमान, सासु, ससुरा, जेठानी, आमाजु, उनका श्रीमान र ३ बर्षकी छोरी यसै घरमा विराजमान छन्।

प्रशान्तको दाई प्रस्ताव विदेशमा छन्। मेरी सासुले खै किन हो जेठो छोराको बारेमा खासै केही भनेकी छैनन्। विवाहमा पनि उनी आएनन्। कोरियाबाटै बेलाबेलामा भिडियो च्याट गर्छन्। कहिलेकाहीँ मसँग पनि बोल्छन्। साह्रै मज्जाका लाग्छन् मलाई यो परिवारमा उनी एकजना। जो आफ्नी कोरियन श्रीमतीलाई नेपाली परिवारको जिम्मा लगाएर डेढ वर्षको छोरो छोडेर विदेशिएका हुन्।

प्रशान्त घरको कान्छो छोरो। त्यसैले ऊ अलि भिन्दै प्रकारको छ। उसले भने अनुसार ऊ एउटा एन.जी.ओ मा काम गर्छ। तर मैले उसले काम गर्ने अफिस अहिलेसम्म देखेको छैन। अँ बेलाबेलामा उसको लेडी बोसको भने फोन आईरहन्छ उसको मोबाईलमा। बेलुका पनि के काम हुन्छ र फोन गर्छे होला उसको बोसले भनेर म सोचिरहन्छु तर प्रशान्तलाई कहिल्यै सोध्दिनँ। 

प्रशान्तको माया त मैले विवाहभन्दा अगाडि मात्रै पाएँ। जब आफैंले उसको र मेरो नाममा घर पास गरेर उसको र उसको परिवारको बस्ने बन्दोबस्त गरिदिएँ उनीहरुले मेरो ख्याल गर्नै छोडिदिए। यस्तो लाग्न थाल्यो कि उनीहरुले पैसा र धन मात्रै चाहेका थिए। प्रशान्त र मेरो पनि खासै कुरा मिल्न छोडेको छ। उसको र मेरो सोच ठ्याक्कै विपरित हुँदै गईरहेको छ । ऊ विदेशमात्रै जान चाहन्छ। मलाई देश छोडेर कतै जान मन छैन। खासै आर्थिक अवस्था राम्रो नभएर पनि होला ऊ मलाई स्टुडेन्ट बनाएर अस्ट्रेलिया गएर पैसा कमाउन चाहन्छ। त्यसैले उसको र मेरो विचार नमिलेर बेलाबेलामा घमासान झगडा पर्छ।

आजकल प्रशान्त मसंग खासै राम्रो संग बोल्दैन। काम पर्दा बोल्छ नत्र बोल्दैन। विवाह गरेको दुई बर्ष बितिसक्दा पनि न उसले मसंग कहिले मिठो पल बितायो न त कतै घुमाउन नै लग्यो। मेरो जीवन यही घरभित्र मात्रै सिमित छ।

एकदिन कौशीमा लुगा सुकाउँदै थिएँ। सासुले भनिन्, ‘शिवानी, अब तिम्रो अहिलेसम्म बच्चा पनि भएन। तिमी विदेश पनि जान खोज्दिनौं बरू प्रशान्तलाई कसैसँग विवाह गरेर विदेश पठाईदऊ।’

उनको कुरा सुनेर यस्तो लाग्यो कि उनलाई विदेश जाने बुहारी चाहिएको थियो। म चुपचाप बसिरहेँ। उनलाई यो पनि भन्न सकिनँ कि उनको आफ्नै छोराले चाहेनन् बच्चा जन्माउन।

त्यसदिन बेलुका मैले सासुको कुरा प्रशान्तलाई सुनाएँ। प्रसान्तले उल्टै आफ्नै आमाको पक्ष लिएर बोल्यो। ‘मैले त तिमीसंग विवाह गरेर केही सहयोग होला भनेर विवाह गरेको थिएँ तर मलाई केही सहयोग भएन,’ उसले मसँग विवाह गर्नुको कारण बल्ल बुझेँ। म अस्ट्रेलियाबाट फर्केको भएर प्रशान्तले मसँग विवाह गरेपछि सजिलै अस्ट्रेलिया जान पाईन्छ भन्ने ठान्यो। मैले बिस्तारै बुझ्दै गएँ उसको मनसाय।

प्रशान्त र मेरो धेरै जसो समय पैसाको निहुँमा झगडा गरेरै बित्न थाल्यो। बाहिरबाट जति झगडा गरे पनि म मनबाट उसलाई माया गर्थेँ। तर ऊ आफूलाई केही चाहियो भने मिठो बोल्थ्यो नत्र केही वास्त गर्दैन। उसको लागि म खुड्किला झैं भएकी छु जसलाई प्रयोग गरेर ऊ सफलताको शिखर चुम्न खोज्छ।

उमेरमा ऊ मभन्दा झण्डै नौ वर्ष कान्छो छ जुनकुरा मैले विवाह गरेको भोलिपल्ट उसको सानीमाको छोरी मार्फत् थाहा पाएँ। सुरूसुरूमा उमेरले खासै फरक पार्दैन भनेर मलाई सम्झाउने प्रशान्त आजभोलि मेरो उमेर ठूलो भएकै कारण साथीहरूसँग मलाई चिनाउन खोज्दैन।

१५ मिनेटको अन्तरालमा उसको र मेरो अफिस छ। तर ऊ कहिल्यै पनि मलाई सँगै लैजान र ल्याउन चाहदैन। म एक्लै बसमा आउने जाने गर्छु। एक्लै आउने जाने गरेको देखेर वरपर घरका मान्छेले मलाई अनेकौं प्रश्न सोध्छन् तर प्रशान्तलाई केही सोध्दैनन्। म आफूलाई एकदम एक्लो महसुस गर्न थालेको छु।

प्रशान्त न त मलाई साथीसँग कतै घुम्न जान दिन्छ न त आफू नै कतै लिएर जान खोज्छ। घुमाउने त परको कुरा  मसँग बोल्नुपर्दा पनि उसको घाँटीमा केही अड्के झैं हुन्छ। खासै मसँग बोल्न नपरे हुन्थ्यो जस्तो गर्छ। सोधेको प्रश्नको जवाफ मुस्किलले दिन्छ। बस् त्यही हो उसको र मेरो गफ। विवाह अगाडि ऊ मप्रति एकोहोरो भएको थियो अहिले म उप्रति एकोहोरो भईरहेको छु। तर एकोहोरो सम्बन्ध कति नै चल्छ र। मैले केही निर्णय गर्नैपर्छ।

मैले प्रसान्तसँग डिभोर्स गर्ने निर्णय गरेँ। त्यसरात जब हामी सबै परिवारसँगै बसेर खाना खाँदै थियौं मैले डिभोर्स गर्न चाहेको खबर सुनाईदिएँ। मेरो कुरा सुनेर सबैको मुहारमा पसिना आयो। सायद खाईरहेको खाना पनि बेस्वादको भयो होला उनीहरुको लागि।

खाना खाईसकेर प्रशान्तले कोठामा गएर अर्को महाभारत मच्चायो। मैले आफ्नो मनलाई ढुंगा बनाएँ। ‘तिमीजस्तो घमण्डी केटी मैले अहिलेसम्म देखेको छैन,’ उसलाई म अब मनपर्न छाडेकी छु त्यसैले म उसको लागि घमण्डी भएँ। त्यसरात जसोतसो त्यो घरमा बिताएर भोलिपल्ट म बुवाआमाका फर्केँ। बुवाआमालाई आफ्नो वेदना सबै सुनाएँ।

त्यसको भोलिपल्ट प्रशान्त आफ्नो बुवाआमालाई लिएर मलाई फकाउन आयो। यसपटक ढुंगा बनिसकेको मेरो मन पग्लेन। डिभोर्स हुने पक्का भएपछि मैले मेरो घर फिर्ता मागेँ। त्यसमा पनि प्रशान्तले धेरै खेल खेल्यो। यतिसम्म कि मेरो हस्ताक्षर समेत नक्कली गरेर उसले घर बेच्न खोज्यो। भाग्यबस् त्यो घर किन्ने मान्छे मेरै साथी पर्‍यो र मैले सबैकुरा थाहा पाएँ। मैले जसोतसो साथीलाई सबैकुरा भनेर त्यो घर प्रशान्तको हातबाट बेचिन दिइनँ। त्यो घर मैले नलिएर बेचिदिएँ। घरसँगै बेचिदिएँ प्रसान्तसँग बिताएका तमाम यादहरू।

प्रकाशित मिति: : 2020-04-04 10:32:18

प्रतिकृया दिनुहोस्