मस्को अस्पतालको बेड नम्बर २०

केटाकेटीलाई खेलौना बेच्न जस्तो आनन्द केही लाग्दैन मलाई । मस्कोमा केटाकेटीको खेलौना बेच्छु म। केटाकेटीको खेलौनामा मेरो भावना र अन्तरंग जोडिएको छ। सानैमा ध्रुवेसित भागेर दिल्ली जाँदा होस् वा बनारसको हिन्दू विश्वविद्यालयमा साहित्यको विद्यार्थी हुँदाका अनुभूति हुन्, खेलौनासँग धेरै कुरा जोडिएका छन्। 

बाह्र वर्षको मस्को बसाइँका क्रममा मैले धेरै केटाकेटीसँग संगत गरेकाे छु। एक प्रकारले साथी नै बनाएको छु। केटाकेटी साथी भए सामान बेच्न सजिलो हुन्छ। केटाकेटी झुण्डिएर मागे भने बाबुआमाले नकिनी सुख्खै छैन। यति बेला खासै भाउताउको कुरो पनि हुन्न। 

गत साता मेरी सानी फुच्ची साथी श्वेतलाना आमासित आएकी थिई। श्वेतलाना मलाई मेरी कान्छी छोरी करुणा जस्ती लाग्छे । आनीबानी ठ्याक्कै उस्तै । करुणा ठूली भैसकी। गोरी भएर मात्र हो नत्र सबै उस्तै। श्वेतलानालाई घरीघरी जिस्क्याएर म करुणा भन्ने गर्छु। त्याे दिन श्वेतलाना पसल आउँदा उसले मलाई चिनिन्। म बडेमानको मास्कले नाकमुख छोपेर बसेको थिएँ । हातमा बाक्लाे पन्जा थियाे । बाहिर चिसो पनि थियो। ग्वाम्मको ज्याकेट लगाएको थिएँ । भर्खर मस्कोमा किनेर ल्याएको ज्याकेट थियो, त्याे।

इटाली र स्पेनमा दसाैं हजारकाे ज्यान गइसक्दा पनि रुस खुल्लै थियो । त्यत्रा मान्छे मरिसके बन्द गर्नुपर्दैन भन्दा रुसी बूढाहरु ठट्टा गर्थे–‘हाम्रा रगतमा भोड्का बग्छ । यस्ता भाइरसले केही हुन्न।’

तर, बिस्तारै मस्कोमा कोरोनाकाे संक्रमण बढ्न थालेपछि मान्छेहरु डराउन थालेका छन्। मास्क र पन्जा लगाएर काम गर्नेकाे सख्या बढ्न थालेकाे छ। श्वेतलानालाई म काखमा लिन्थेँ । त्यस दिन लिइन। मलाई सँचो छैन भने । साँच्चिकै बिहानैदेखि ज्यान तातो भइरहेको थियो। टाउको गरुँगो। श्वेतलानाले एउटी राजकुमारी छानी । सधै हाँस्ने रमाइलो गर्ने म बिरामी छु भन्ने सुनेपछि उसले आमालाई सोधी, ‘बिरामी मान्छे किन काम गरेको मम्मी? म बिरामी हुँदा त तपाइँले अस्पतालमा डाक्टर अँकलकोमा लानुहुन्छ।’

उसकी कैली आमाले सम्झाई, अँकल भोलि जानुहुन्छ । श्वेतलाना निस्किएपछि मलाई चिटचिट पसिना आयो । पुरै पसल मेरा टाउकोमा फन्फनी घुमे झैँ भयो । पृथ्वी कतै भासिन लागेजस्तो लाग्यो । बाहिर बादल फाटेर ठूलै वर्षा हुन आँटेको अनुभूत भयो । मलाई लाग्यो, ढल्दै छु । छेउमा रहेका तुलबहादुर रानाजीलाई मैले भने,‘रानाजी मलाई रिँगायो।’ 

रानाजी मेरा साथी हुन् । सर्लाहीका। वर्षौदेखि हामीसँगै छौँ । रुसमा मेरो परिवार,साथी,दाजुभाइ जो भनेपनि यिनै हुन्। रानाजीले समातेर कुर्चीमा राखे। टाउको छामे । ‘हेत्तेरिका सर तपाईँलाई त ज्वरो आएकोछ’, उनले खै खै नापौँ भन्दा थर्मोमिटर भेटिएन।

मलाई ज्वरो आएकै थिएन, किन चाहियो थर्मामिटर? रानाजी कुँदेर फार्मेसीमा गएर थर्मामिटर ल्याए । नापेको एकसय दुई रहेछ ।

‘ल सर गएर सुत्नुस् । यहाँ म हेर्छु’, उनले भने। यतिन्जेल मलाई घरी चीसो त घरी तातो भइरहेको थियो । नौनाडी गलेको अनुभूत भइरहेको थियो । अलिअलि खोकी लागिरहेको थियो । कोरोनाको हल्ला चलेको हुनाले म सावधान त भएकै थिएँ । कोठा पुगेपछि जोडले सुख्खा खोकी लाग्न थाल्यो । ज्वरोको पारो तात्न थाल्यो । खाटमा उत्तानो परेर माथि हेर्छु, सधै चुपचाप झुण्डिइराख्ने पँखा भने खसेर च्याँप्छ कि भनेर डर लाग्न थाल्यो ।

मैले शिरक खापेँ । जाडो घटेन । रानाजीको सिरक खापेँ । अहँ भएन । एकैछिनमा फेरि गर्मी उखरपात भयो । सबै सिरक फालेँ । फेरि कामजोरो आयो । फेरि खापेँ । झाँक्री हल्लिएझैँ ज्यान हल्लियो । त्यसपछि अलि अलि छाती दु:खेको अनुभव भयो । 

अब भने लाग्यो, पक्कै पनि मलाई कोरोनाले समायो । पसलमा हजारथरीका मान्छे आउँछन् । कतिथरी केटाकेटी आउँछन् । अस्तिसम्म त केटाकेटीलाई ग्वाम्मै अँगालो हाल्थेँ । केटाकेटीहरु गोविन अँकल भनेपछि हुरुरु कुँदेर आउँथे । मैले सम्झिएँ, चोकका बूढाहरु फुर्सदमा आफ्ना लडाइँका कथा, पुराना प्रेमिकाका कथाहरु सुनाउन आइपुग्ने। भ्लादिमिर बूढोलाई झ्वाट्ट सम्झिएँ । भ्लादिमिर बूढो मेरो दश वर्षे पुरानो साथी हो । उसकी स्वास्नी ६ वर्षअघि कहिल्यै नफर्कने गरी गई । उसले प्रेम गरेर ल्याएको थियो स्वास्नीलाई । रिटायर्ड सिपाही बूढाको नजिकै बसेर म उसका गफ सुन्थेँ।

कोरोनाको हल्ला चलेपछि उसैले मगाएकाे कफी पनि पिएकाे थिएँ । हिँड्ने बेलामा हात मिलाएको थियाे। रानाजीले भ्लादिमिर केही दिन भयो, कता गयो होला भनेर सोध्दा मैले ठट्टै ठट्टामा कोरोनाले मर्यो कि गफाडी बूढो भनेको थिएँ । अघिल्तिरको बारमा सधै भोड्का खान आइरहने भ्लादिमिरलाई मैले कोरोना करार गरिदिएँ । मनमनै निष्कर्शमा पुगेँ, दिनको एक पटक नभेटी र दुईचार रमाइला कुरा नगरी नजाने भ्लादिमिर नआएको यत्रा दिन भैसक्यो । पक्का पनि कोरोना लाग्यो ।

रक्सी नपिई सुत्न नसक्ने मेराे अर्काे साथी साेलाेखाेभले भनेकाे थियाे–बारमा आउने एकदुई जना बूढाहरुलाई कोरोना लागेको छ। अहो, मैले आफैलाई धिक्कारेँ । इटालीमा त्यत्रा मान्छे मर्दा पनि मैले त्यही बूढाको गफलाई बेपर्वाह किन महत्व दिएर सुनेँ होला? 

यति बेला कलेज पढ्दै गरेका दुइटी छोरीहरु मेरा आँखामा नाचिरहेका थिए । स्कूल पढ्दै गरेको छोरोको चन्चलपन मेरा दृष्यपटमा घुमिरहेकाे थियाे। तिर्खाले मुख प्याक प्याक भयाे। प्लाष्टिकको जारमा तताएर राखेको पानी घट्घटी पिएँ । अघिल्तिर शिवजीको मूर्ति भित्तामा किलाले ठोकेर राखेको आज बडा अँध्याराे देखे।

सधै बिहान उठेर पूजा गर्ने मान्छे आज बिसँञ्चाेले सुतेँ। नुहाउने हिम्मत पनि थिएन । बाले हिँड्ने बेलामा दिएको जनै अर्को किलामा झुण्डिएको थियो । फेरी बाको याद आयो । बाकाे एकदम माया लागेर आयो । बिरामी भएर काठमाडाैं उपचार गर्न आउनुभएको छ। एक सातासम्म खोकेको खोक्यै गरेर काठमाडाैं आउनुभएको थियो, ज्वरो र खोकीले गालेपछि । दमको रोगी । असीको आसपासको मान्छे ।

मैले सोचेँ, ‘एकदिन त मलाई यति गाह्रो छ भने बाले यत्रा वर्ष केगरी खोकी र ज्वरो खप्नुभयो होला । यो अनकन्टार परदेशमा क्यै गरी मरिहालियो भने बालाई कति नरमाइलो लाग्ला?’

बाटो हेरेर बसेका छोराछोरी र श्रीमती, अनि बूढी आमा, भाइ बैनीहरु सम्झेर मेरा आँखा रसाए। यति साेचेकाे मात्र के थिए– कसैले ढोका ढक्ढक्यो । उही रानाजी रहेछन् । खुल्लैछ पनि भन्न सकिन।

‘अहो देवकोटा सर । यत्तिका सिरक खाप्नुभा छ । बेसरी चाँप्यो कि क्या हो?’ उनले निधार छामे,’खै खै फेरी ज्वरो हेरम् ।’

ज्वरो त १०४ पुगेछ । के गर्ने कसो गर्ने हुँदा हुँदै मेरो खोकी, दुखेको छाती र घाँटी, अनि सास फेर्दा हुने स्याँ स्याँले उनी पनि डराइरहेका थिए । मेरो मुखबाट निस्कियो, ‘रानासर कोरोनाले समात्यो कि क्या हो?’

रानाजीले पत्याएनन्। ‘हैन होला सर । मसला खानेलाई कोराना लाग्दैन भन्थे । सर त झन् शाकाहारी । बिहानी बेलुका पूजा गर्ने, नन्वाइ नखाने पन्नित । कहाँ लाग्ने लाग्दैन । पशुपतिनाथको पुरै आशिर्वाद छ । नेपालमा त क्यै भाछैन,’ उनले हौसला दिए। 

लगातारको खोकी र ज्वरोले मेरो तागत गुम भइसकेको थियो । खाेक्दा पनि फिलिँगा देख्ने भइसकेको थिएँ ।

‘सर के खाने मन छ?’ उनले सोधे ।

‘केही मन छैन,’ मैले जवाफ दिए। हिजो बेलुकी पनि जबरजस्ती अलिकति गिलो भात खाएको थिएँ । आज त केही खाने मन नै थिएन । 

‘सर यसरी हुन्न । के हो के हो? एकचोटी अस्पताल जाम्,’ रानाजीले सल्लाह दिए ।

मलाई पनि लाग्यो, उपचार नै नगर्ने हो भने त यत्तिकै मरिएला । जे पर्ला पर्ला उपचार गरौँ । 

तत्कालै रानाजीले एम्बुलेन्स बोलाए । लक्षण सुन्ने बित्तिकै अस्पतालले सम्भावित कोरोनाको बिरामी बोक्न एम्बुलेन्स पठाइदियो । मलाई लागेको थियो, रानाजी पनि सँगै जान्छन् । एकजना कुरुवा त लान देला । तर के को दिनु? मलाई खाटमा सुताए । चढ्न खोजेका रानाजीलाई सेनाले रोक्यो । मुखमा घ्वाप्प अक्सिजनको मोखरा हालिदिए । साइरन बजाउँदै गाडी कुँदिहाल्यो । झण्डै आधाघण्टापछि अस्पताल पुगियो । 

कोरोना संक्रमित र सम्भावित संक्रमितको लुँडो नै रहेछ नि अस्पतालमा । यसरी एम्बुलेन्सले बोकेर मलाई ल्याएको यो पहिलो पटक थियो । बिरामीहरु कोही कहराइरहेका थिए त कोही रोइरहेका। कोही बल्लबल्ल अक्सिजन लिइरहेका। यो सबै देखेपछि मलाई लाग्यो, लौ जीन्दगी सिद्दियो । फर्केर घर जाने भइन । फोन हिजैबाट बन्द गरेर थन्क्याएको थिएँ । खोकी र ज्वरोले च्याँप्दै गएपछि बूढिमाउसँग पनि बोल्ने हेउ थिएन, थाहा पाए पीर गर्लान् भन्ने सोँचेर । तुलबहादुरजीलाई पनि क्यै भन्ने शुद्धि आएन ।

असाध्यै रुखा र टर्रा नर्सहरु। झिज्जिएका र कामको चापले थकित डाक्टरहरु मेरा अगाडि देखिए। डाक्टरले के के सोध्दै थियो, कमजोरीले गर्दा मैले राम्राेसँग सुन्न सकिन। छेउको सैनिकले मेरो पाखुरा झट्कार्यो । हप्काउने पाराले सोध्यो, ‘धेरै बिरामी छन्। तँलाई मात्रै कुरेर सक्दैन यो डाक्टरले। सुनिनस्?’
याे बेला तानसेनको मिशन अस्पतालमा काम गर्ने दयालु ठूल्दिदीको यादले सारै सतायो । हाम्री दिदी बिरामीलाई असाध्यै माया गर्छिन् । निको भएर घर फर्केपछि पनि कतिपय बिरामीहरु सिस्टर्नी दिदी भन्दै भेट्न आएको देखेको थिएँ । यी नर्सहरु पनि हाम्री सरस्वती दिदी जस्तै भइदिए, एकमनले साेच्याे ।

यसै पनि विदेशी भनेपछि हेलाहोँचो भएको अनुभव गरेँ । तर म रुसी भाषा प्रष्ट बोल्ने भएकोले समस्या भएन । रगत, खकार, पिसाब सबै दिएपछि कोरोनाका सम्भावित संक्रमितहरुको छेउमै म मूढो झैँ पल्टिएको थिएँ । तीन त्रिलोक चौध भुवन त्यहीँ देखिएको थियो । जीवनमा मैले यत्तिको एक्लो महसुस भागेर इन्डिया जाँदा खल्तीमा केही नहुँदा पनि गरेको थिइन ।

जीवनले बडो ठूलो धोका दिन लागे झैँ अनुभव भइरहेको थियो । छेउकै पखेरोमा ठूलै पहिरो गएर आफ्नो झुप्रोमाथि खस्दै गरेको निर्धो मान्छेको हालतमा थिएँ म। बर्खामा उर्लिएको गण्डकीको भेलले बगाउँदै गरेको मान्छे जस्तो भएको थिएँ । जीन्दगी सिद्धिने क्रमको अन्त्यमा थियो । अब रिपोर्ट आउँछ, कोरोना पोजिटिभ भनेर र उनीहरुले मलाई ‘आइसोलेशन’ मा राख्ने छन् । यही सम्झदैँ मैले रुसीहरुकाे व्यवहार पनि साेच्न भ्याए। मैले लगभग जीवनदेखि हिम्मत हारिसकेको थिएँ । 

झण्डै ५ घण्टा कुरेपछि रिपोर्ट आयो । नर्सले हातको कागज हेर्दै भनी, ‘खारोसे नोभोस्ती । अर्थात् खुशीको खबर । तिमीलाई कोरोना नेगेटिभ देखियो । टाइफाइड भएको रहेछ । ’

मिनेट भरमा म फेरी अर्को संसारमा पुगे। मेरा आँखाबाट आँसू बग्याे । मैले मेरा अगाडि बाआमा, श्रीमती र छोराछोरी, भाइ बैनाहरु सबै बसेको कल्पना गरे। परैबाट नर्सले निभल्नुस्या भनी । अर्थात् पीर नगर । डाक्टरले दिएको औषधीको लिस्ट बोकेर भित्तोको आडमा म बाहिर निस्किएँ । 

गोजीको बन्द मोबाइल खुल्यो । त्यहाँ त मिसकलको ताँती रहेछ । रानाजीले घरमा श्रीमतीलाई सुनाएछन् म अस्पताल आएको कुरा । मलाई कोरोना लागेको भए उनी पनि आइसोलेसनमा जानु पर्थ्याे । उनले आफ्नो आफन्तीलाई पनि खबर गरिसके छन् । स्विट्जरल्याण्ड हुने काइँलो भाइले जेनेभाको नेपाली दूतावास मार्फत् मस्कोको दूतावासमा सम्पर्क गरेको रहेछ । अस्पतालको नाम र बेड नम्बर दिएर ।

माेबाइल खोल्ने वित्तिकै दूतावासका कर्मचारीको फोन आइहाल्यो। बडो मिजासिलो पारामा खिमानन्द सरले साेध्नु भयाे, ‘गोविन्दजी आरामै हुनुहुन्छ?’ फलामको कुर्चीमा बल्लतल्ल धानिएको भोको र रोगीले काँपेको स्वरमा जवाफ दिएँ, ‘सन्चै छु सर । जेमराजको ढोकाबाट फर्कँदैछु । कोरोना हैनछ । टाइफाइड रहेछ।’

उहाँले आफ्नाे ख्याल राख्न  सुझाव दिँदै माेबाइल राख्ने क्रममा भन्नुभयाे–‘ केही सहयाेग चाहिए भन्नुहाेला। काठमाणाैंमा तपाइँको माइलो भाई, भैरहवामा परिवार र दिदी, बाआमा सबैले तपाइँसँग बोल्न खोज्नुभएको छ ।’ 

उनीसँग कुरा गर्दैथिएँ। श्रीमती र स्वीसबाट भाइले फोन गर्यो । मलाई परिवारसँग भएको अनुभव भयो । बासँग पनि बोलेँ। दिदी भाइहरुसँग पनि बोलेँ । भोको ज्यानले नसकेपनि जीवन जितेको अनुभव भयो । 

कोरोना लागेर भन्दा आत्तिएरै मरिने पो रहेछ । फेरि कोरोनासँग मिल्दोजुल्दो लक्षण छ भन्दैमा आफूलाई कोरोना लागेकै निश्कर्षमा पुग्नु पनि खराब रहेछ। मलाई त निद्राबाट ब्युझिए जस्तो लाग्याे । सार्वजानिक बस चढेर घर आइपुगेँ । रानाजीलाई फोन गर्न बिर्सिएँछु । रानाजी तनावमा कोठामा बसेका । 

‘के भयो सर?’ उनी आत्तिए । 

‘केही भाको भा म यहाँ हुन्थेँ र रुममा’, मैले ठट्टा गरेँ।

टाइफाइड भएकोमा खुशी हुँदै दुबै हाँस्यौँ ।

‘तपाइँ अस्पताल गएपछि मलाई पो ज्वरो आउला झैँ भाथ्यो,’ रानाजीले सुनाए। 

रानाजीले पकाएको जाउलो खाँदा मध्यरात हुन लागेको थियो। 

जहाज खुल्ने बित्तिकै नेपाल फर्किने मेरो योजना छ । अब जेमराजसँग जम्काभेट भएको रुस फर्कन्न होला ।

 

प्रकाशित मिति: : 2020-04-04 13:40:00

प्रतिकृया दिनुहोस्