लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालन नआएपछि विचल्लीमा परेका सवारी साधनका मजदूरलाई विहान र वेलुकी खाना खुवाउने कार्यको शुरु गरिएको छ।
सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालि, नेपाल यातायात मजदूर सङ्घ, बसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदूर सङ्घ र अखिल नेपाल यातायात मजदूर सङ्घले संयुक्त रुपमा बसपार्कस्थित होटलमा दैनिक ६० मजदूरलाई विहान र वेलुकी खाना खुवाउने कार्य बुधवारदेखि शुरु गरिएको छ।
सुनौलो विहानका अध्यक्ष राजन कँडेलले सार्वजनिक यातायात सञ्चालन नहुँदा भोकै वस्नु परेको कैलाली, वाँके, जनकपुरलगायतका मजदूरहरुलाई लकडाउनको अवधिसम्म खाना खुवाउने व्यवस्था मिलाएको बताए।
सप्तरीका चालक हरिनारायण मुखीयाले यातायात सञ्चालन नहुँदा आफूसँग भएको सबै रकम खर्च भइसकेको र भोकै वस्नु पर्ने अवस्थामा अहिले विभिन्न सङ्घसङ्गठनले खानाको व्यवस्था गर्दा खुशी लागेको बताए।
उक्त कार्यमा सिएमजी स्वास्थ्य क्लव विराटनगर–११ ले पनि सहयोग गरेको छ । यस्ता कार्यमा सहयोग गर्न अन्यदातालाई आग्रह गरिएको बताइएको छ।