कोभिड —१९ : उपचार कोषमा सहयोग

रासस

पोखरा

पोखरा रोयल सहकारी संस्थाले यस वर्षको ६३ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा  कोरोना उपचार कोषमा सहयोग गर्ने जनाएको छ। 

सस्थाले प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम व्यवस्थापन र उपचार कोषमा रु तीन लाख तीन हजार तथा सो महानगरपालिकाको सो कोषमा रु ३३ हजार २११ गरी कूल तीन लाख ३६ हजार ११ सहयोग गर्ने भएको संस्थाले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
 
 संस्थाको तर्फबाट रु एक लाख एक हजार, सञ्चालक समिति, लेखा तथा सल्लाहकार उपसमितिबाट रु एक लाख ३२ हजार २१० र सस्थाका कर्मचारीबाट रु एक लाख चार हजार गरी उक्त सहयोग गर्न लागिएको सूचना अधिकारी मीलन ढकालले जानकारी दिए।
 
विषम परिस्थितिमा सम्भावित व्यक्तिको स्वास्थ्य परीक्षण, दैनिक मजदुरी गरेर जीवीकोपार्जन गर्ने मजदुरलाई अत्यावश्कीय सामग्री उपलव्ध गराउने तथा क्वारेन्टाइनमा रहेकाको व्यवस्थापन सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको संस्थाले जनाएको छ।
 
जिल्ला सहकारी सङ्घले समेत जिल्लामा रहेका सम्पूर्ण सहकारी सङ्घ संस्थाहरुलाई समेत सो कोषमा रकम जम्मा गर्न आह्वान गरेको सङ्घका वरिष्ठ उपाध्यक्ष बलराम गौतमले बताए। 

नेपालमा वि।सं। २०१३ चैत २० गते चितवनको बखानपुरमा  ऋण सहकारी संस्थाको स्थापना भएको थियो। सहकारी आन्दोलनको शुरुआत भएको सो दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने गरिएको थियो।  यस वर्ष कोरोना भाइरसको जोखिमका कारणले औपचारिक कार्यक्रम नगरिने भएको हो।

प्रकाशित मिति: : 2020-04-02 12:26:51

प्रतिकृया दिनुहोस्