न्युयाेर्कमा काेराेना कहरसँगै फेरिएकाे मेराे दैनिकी

तारा भट्टराई

न्युयोर्क, अमेरिका

अमेरिकाको कोरोना इपिसेन्टर मानिएको न्युयोर्कमा ०२० को मार्च २ मा कोरोना भाइरसकाे पहिलाे संक्रमण देखिएको थियो। त्यसको १२ दिनपछि मार्च १४ को बिहान १० बजे मेराे काम गर्ने ठाउँको एलिभेटरमा कोभिड-१९ को एक बिरामीसँग पहिलाे औपचारिक भेटघाट भयाे।

अधबैशे उमेरका उनी भर्खर किड्नी डायलिसिस गरेर रेडियो सुन्दै आफ्नाे काेठामा गैरहेका थिए भने म र मेरी एकजना सहकर्मीले उनकाे रेडियो कानमै राखेर सुन्ने बानीलाई लिएर जिस्क्याइरहेका थियाै। उनी र म मात्रै एसियन मुलका भएकाेले मसँग हाँसाे-ठट्ठा गर्ने र आफ्नाे पीरमर्का शेयर गर्न उनी सजिलाे पनि मान्थे। आधा घण्टापछि उनले ज्वराे आएकाे बताएपछि नाप्दा १००.४ थियाे । ९११ मा फाेन गरेर अस्पताल पठाउने काम भयाे। तीन दिनमा उनी पाेजेटिभ देखिएकाे ख़बर आएपछि मेराे हंशले ठाउँ छाेड्याे। उनीसँग सम्पर्कमा आएका सबैलाई धमाधम क्वारेन्टाइनमा राखियाे। उनीसँग संसर्ग भएका म र मेरी एक सहकर्मी भगवानसँग प्रार्थना गरिरहेका थियाै, भगवान हामीलाई केही नहोस्। मलाई के रात के दिन केहीकाे पत्ताे थिएन।

मार्च २१का दिन उनकाे मृत्युकाे ख़बर आयाे। उनकाे मृत्युको ख़बरले मेरा हात गाेडा लल्याकललुक्क भए। किनकि मैले मास्क नलाएकाे बेलामा संसर्गमा आएकाे काेराेना पहिचान भएको पहिलो ब्यक्ति उनी नै थिए ।

यस बिचमा उनीसँग संसर्गमा नआएका दर्जन ब्यक्ति पनि अस्पतालकाे भेन्टिलेटरमा पुगिसकेका थिए। हामीले पनि अनिवार्य मास्क लाउने, बिरामीकाे काेठामा जाँदा आईसाेलेसन गाउन लाउन शुरू गरिसकेका थियाै ।

बिशेष गरेर डायलिसिस र किमाेथेरापी गर्ने अस्पताल जाने आउने क्रममा काेराेना भाइरस आयातकर्ताकाे मुख्य भूमिकामा देखिएकाले उनीहरूलाई छुट्टै क्वारान्टाइन र अरु साधारण स्वास्थ्य समस्या भएकालाई छुट्टै ठाउमा राखियाे। एकपछि अर्काे गर्दै काेराेनाका बिरामीसँग राम्रैसँग साक्षात्कार हुन थाल्याे। काेठाभित्र थुनेर राखिएकालाई एकाबिहानै ढाेका ढक्ढक्याएर हेर्नै पर्याे। ज्वराे आएकाे छ कि छैन भनेर परीक्षण गर्न छेउमै पुग्नु पर्याे। छेउमै पुग्दा ख्वाक्क खाेकिसकेर एक्सक्युज मी भन्छन्। आएकाे खाेकी राेकुन् पनि कसरी? औषधी, सिटामाेल र पानी पुर्याईदिनै पर्याे। कुकुरलाई झै राखिदिएकाे खाना खाएकी खाएनन भनेर हेर्नै पर्याे। थुनिएर कैदी बनाईएका रातभरमा दिमागमा के के हजाराै कुरा खेलाएर बस्छन् सबै कुराकाे जवाफ सकेसम्म खाेजेर दिनै पर्याे। तर हामीले के अपराध गरेका थियाै र बन्दी बनाएकाे? भन्ने प्रश्नकाे जवाफ भने मसँग हुँदैन पनि। डिप्रेशनबाट बचावट गर्न अलिकति उत्प्रेरणा जगाउने काम गर्नै पर्याे। एकैठाउमा बस्दा र सुत्दा शरीर कुँजाे हाेला भनेर ब्यायाम गराउनै पर्याे। डाक्टरहरु २४ घण्टामा मुख देखाउँछन र बिरामीलाई मुखै नदेखाईकन एक-दुईवटा प्रेसक्रिप्शन लेखेर फ़ार्मेसीमा पठाएर ईन्सुरेन्सकाे रकम तानेर घर हिंड्छन्।

साथीसंगी र परिवारसँग भेटेर कुरा गर्न नपाएकाे याे अवस्थामा हामी काम गर्नेलाई नै सबैभन्दा नजिककाे मानिस ठान्छन्। हामी पनि मास्कले मुख छाेपेर टाढैबाट बाेलचाल गर्न खाेजेपनि ब्यवहारिक रुपमा उनीहरु नजिक नै आईपुग्छन्। कुरा बुझाउँन निक्कै कठिन छ। जीवनमा कहिल्यै नसुनेकाे साेसल डिस्टान्सिङ भन्ने शब्द बुझाउन नै एक बर्ष लाग्ला जस्ताे छ। बाहिर संसार हेर्न नपाएर छट्पटिएका मानिस कसैलाई भेट्नासाथ पाखुरामा च्याप्प समातेर उम्कनै दिंदैनन। उनीहरुमा भय र त्रास छ। सबैभन्दा बढी त्रासचाहिं भाइरस लागेपछि डाक्टर, नर्सलगायत परिवारका काेही पनि सदस्य भेट्न पाईदैन र एक्लै छट्पटिनु पर्छ भन्ने कुरामा छ। हुन त प्रायः सबैले आफ्नाे मृत्युपछि चिहानका लागि भनेर आठज्जार डलर बुझाएरै बसेका हुन्छन् र दाहसंस्कार कस्ले गर्ने भनेर पनि पहिले नै ताेकिसकेका हुन्छन् । तर पनि याे अहिलेकाे परिस्थितिलाई बुझेर आत्मसात् गर्न सकेकाे अवस्था छैन । यस्ताे अवस्थामा काम गरिरहँदा मलाई पनि पटकपटक मरेकाे अनुभूति हुन्छ। बरु बम हानेकाे भए वा अरु कुनै प्राकृतिक विपत्ति आइलागेकाे भए एकैपटकमा मरिन्थ्याे हाेला र टण्टै खतम हुन्थ्याे जस्ताे पनि लाग्छ। एकातिर मास्क, गाउन , हेण्ड सेनिटाटाईजरलगायतका सामग्रीकाे अभाव छ। एउटै मास्क र गाउन धाेएर पटक पटक प्रयाेग गर्नुपर्ने अवस्था छ। सप्लाई अत्यन्तै ढिलाे छ। बजारमा पैसा हालेर किन्छु भन्दा पनि पर्सनल प्राेटेक्टिभ ईक्व्पमेण्ट (पीपीई) पाइदैन। उता भाइरस डढेलाेजस्तै कहिल्यै ननिभ्ने गरी सल्किएकाे सल्किएकै छ।

यस्ताे अवस्थामा म घरीघरी आफ्नै नाक मुख र आँखासँग त्रसित छु। राेग सारिस् भनेर म कस्लाई दाेष दिउँ? कतै याे नाकले अदृश्य भाइरस सुघिहाल्छ कि भनेर बिरामी भएकाे ठाउमा श्वास नै फेर्दिन। म अत्यन्तै जरुरी समस्यालाई प्राथमिकता दिएर जतिसक्दाे छिटाे सेवा दिएर फुत्कने काेशिस गर्छु। एक त बिल्डिंगभरि छरिएकाे केमिकलकाे गन्ध, अर्काेतिर बिहान घर छाेडेदेखि लगाइने मास्क, त्यसमाथि बिरामी देख्नासाथ स्वाँस फेर्न बन्द गर्नाले निसास्सिएर टाउकाे फुट्ला जस्ताे हुन्छ।

मानसिक रुपमा अत्यन्तै बलियाे ठान्ने म हरेक कुरामा शंका गर्ने र डरैडरले विस्तारै एन्जाइटीले आक्रमण गरिरहेकाे अवस्थामा पुगेकी छु। कामपछि घर आएर पुस्तक पढने, आराम गर्ने र अरु ससाना कुरामा ध्यान दिने मेराे दैनिकी फेरिएर ब्यक्तिगत सरसफाई र लुगा धुनमा समय बित्न थालेको छ। एकचाेटि पुछ्याे अनि फेरि भाइरस टाँसियाे कि भनेर पुछ्याे गर्छु म। हात धुँदा र केमिकल रगड्दा रगड्दा मेरा हात असार साउनमा जाेतेका गाेरुका काँधजस्तै भैसकेका छन्। 

मानसिक रुपमा अत्यन्तै बलियाे ठान्ने म हरेक कुरामा शंका गर्ने र डरैडरले विस्तारै एन्जाइटीले आक्रमण गरिरहेकाे अवस्थामा पुगेकी छु। ड्यूटीपछि घर आएर पुस्तक पढने, आराम गर्ने र अरु ससाना कुरामा ध्यान दिने मेराे दैनिकी फेरिएर ब्यक्तिगत सरसफाई र लुगा धुनमा समय बित्छ। एकचाेटि पुछ्याे अनि फेरि भाइरस टाँसियाे कि भनेर पुछ्याे गर्छु म। हात धुँदा र केमिकल रब गर्दागर्दा मेरा हात असार साउनमा जाेतेका गाेरुका काँधजस्तै भैसकेका छन्। भाइरस मार्नका लागि भनेर म बिहानैदेखि ताताेपानी पिउँछु। नुनपानीले गार्गल गर्छु। कागतीकाे बाेक्रा, लसुन र नुनपानीकाे बाफ लिने गरेकी छु। कसैले याे खाउ भन्छन्, कसैले त्याे खाउ भन्छन्। साेसल मिडिया चलाउने सबै मानिस डाक्टर। खालि सेताे काेट र स्टेथोस्कोप मात्रै भिर्न बाँकि छ यिनलाई। न्यूज़काे स्राेत के हाे र कहाँबाट कस्ले यस्ताे बकवास फैलायाे भन्ने ख्यालै नगरिकन भिटामिन 'ए'देखि 'जी'सम्मका सबै ट्याब्लेट घरमा थुप्रिसकेका छन्। लामाे समयदेखि पेटकाे राेगी मलाई कुनै पनि ट्याब्लेट निल्नासाथै अर्काे सिरियस रियाक्सन हुन्छ र उठ्नै नसक्ने अवस्थामा पुग्छु। तर पनि काममा जानैपर्ने अवस्था हुन्छ। न त भिटामिन सी, कागती र सुन्तला नै खान सक्छु।

टिभी खाेलाैं भने काेराेनाभन्दा अरु समाचार नै छैन। साेसल मिडियामा त झन वास्तविकताभन्दा भ्रमात्मक कुरा बढी छन्। यी समाचारले आफूलाई मानसिकरुपमा कुनै पनि मद्दत नगर्ने देखेपछि मैले टिभी नखाेलेकाे १० दिन भयाे भने मिनेट मिनेटमा टवाङ्-ट्वाङ् बजेर नाेटिफिकेसन दिने माेबाइल एप्स पनि सबै मेटाई सके। तैपनि कुनै फर्मास्यूटिकल कम्पनीले काेराेना भाइरसकाे ईम्यूनाईज गर्ने भ्याक्सिन पनि तयार गरे कि भनेर गुगल चाहिँ गरिरहेकै हुन्छु।

समाचार नहेर्दा र काेभिड-१९ काे बारेमा तथ्याङ्क थाहा नहुँदा मेरो दैनिकीमा अलिकति सजिलाे भएकाे जस्ताे महसुस भएकाे छ। किनभने मैले चिनेका अन्डरलाईन मेडिकल कन्डिसन भएका जस्लाई मैले मनमनै सायद अन्तिम साक्षात्कार हाेला भनेर ठानेर बिदा गरेकाहरु पनि निकाे भएर घर फर्कने तयारीमा छन्। अहिले परिवारकाे अनुपस्थितिकाे फाइदा लिएर मलेरिया, एचआईभी एड्सलगायतका अनेकन औषधीकाे परीक्षणले जवान मानिसकाे ज्यान गएकाे त हैन भन्ने पनि मनमा कता कता लाग्न थालेको छ।

 

 

प्रकाशित मिति: : 2020-04-02 03:08:21

प्रतिकृया दिनुहोस्