सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट खरिद गरी ल्याइएका पिसिआर मेसिन, रिएजेन्ट, टेस्ट किट लगायतका प्रयोगशालाका उपकरण र पाँच जना विज्ञसहितको प्राविधिक टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी आइपुगेको हो।
प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाइएको छ। पठाइएका उपकरणबाट भोलिबाटै परिक्षण शुरु गरिने सूचना अधिकारी खड्काको भनाइ छ।
६४ मोटरसाइकल नियन्त्रणमा
धनगढीमा लकडाउन उल्लङ्घन गरी चलाइएका ६४ वटा मोटरसाइकलहरु मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएको छ।
कोरोना भाइसरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लङ्घन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।