स्पेनमा थप ३ नेपालीलाई कोरोना संक्रमण

भाेला लामिछाने

बार्सिलाेना,यूराेप ब्यूराे

स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि ४ जनामा संक्रमण देखिएको थियो। योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ। २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको छ।

संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपचार भइरहेको छ। बिगत चार दिनयता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन्। उनीहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन्। संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन्।

एक सातादेखि आईसीयूमा उपचार गराइरहेका एक नेपालीको स्वास्थ्यमा भने सुधार आएको छ। एनआरएनए स्पेनका पूर्वअध्यक्ष भिष्मकुमार गुरुङले दिएको जानकारी अनुसार उनलाई मंगलबारदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको छ। 

स्पेनमा झण्डै १० हजार नेपालीहरु छन्। क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ।
 

प्रकाशित मिति: : 2020-04-01 09:10:00

प्रतिकृया दिनुहोस्