बुटवलमा लगत सङ्कलन गरी राहत वितरण शुरु

रासस

बुटवल

बुटवल उपमहानगरपालिकाले नगरभित्र दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवी मजदूरको लगत सङ्कलन गरेको छ। उपमहानगरपालिकाले सङ्कलित लगतका आधारमा राहत प्याकेजसमेत बनाएको छ। 

प्रारम्भिक तथ्याङ्कअनुसार छ हजार ५०० घरपरिवार राहतका लागि सहयोगापेक्षी रहेको पाइएको छ। उनीहरुलाई घरघरमै वा टोलमा उपयुक्त विधिबाट राहत वितरण गरिनेछ।                                                  

उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणीकरण गरेर सङ्कलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए। अहिले सङ्कलन भएर आएका सङ्ख्यामा छुट भएका भए पुनः सर्वेक्षण गरेर यकिन गर्न पनि दुई दिनको समय दिइएको छ।    
                                                                    
उपमहानगरपालिकाको आज बसेको कार्यपालिकाको ५६ औँ बैठकले राहतका लागि कार्यविधिसमेत पारित गर्दै राहतको प्याकेज बनाएको प्रमुख सुवेदीले बताए।

 उपमहानगरले राहत सामग्री वितरण कायविधि २०७६ बनाउँदै व्यवस्थितरुपमा राहत वितरणको काम अगाडि बढाएको छ। अहिले सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नम्बर ११ मा रहेका छन्। 

जहाँ दुई हजार पाँच सय घरपरिवारले दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको उपमहानगरपालिकाले जनाएको छ  । सबैभन्दा थोरै वडा नम्बर १८ मा एक सय घरपरिवार मात्रै रहेका छन् । यद्यपि यो सङ्ख्याको वास्तविकता भने फेरि जाँच गरीने भएको छ ।   
                                                                                    
दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने र अहिले लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिकको परिवारलाई दश दिन पुग्ने अनुमान गर्दै १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन तत्कालै उपलब्ध गराउने गरी कार्यविधि बनाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए। 

सोही आधारमा वडा नम्बर १५ मा वितरणका काम शुरु भएको छ। त्यहाँ ५०० घरपरिवार रहेको तथ्याङ्क सङ्कलन भएको छ।     
                                                                              
उपमहानगरपालिकाले सहयोगार्थ राहत सामग्री प्रदान गर्न चाहनेका लागिसमेत पायक पर्ने वडामा सम्पर्क गर्न सक्ने गरी अपिल जारी गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। 

सहयोगापेक्षी आश्रम तथा संरक्षण केन्द्रलाई समेत राहत सामग्री उपलब्ध गराउने भन्दै प्राथमिकतामा राखेको र सोकोसमेत तथ्याङ्क सङ्कलन गरेको प्रवक्ता रेग्मीले बताए।  
     
उपमहानगरपालिकाको राहतमा कोषमा हाल रु ५० लाख बराबरको बजेट छ। कुनै पनि सामाजिक सङ्घसंस्था, नागरिक अगुवा, समाजसेवी जोसुकैले पनि यहीँ कोषमा रकम जम्मा गरी सहकार्य गर्न बुटवलले आह्वान गरेको छ। साथै प्रकोपको पूर्वतयारीस्वरुप कुनै पनि सहयोगीले जिन्सी सामान (चाँडै नसड्ने) पनि उपमहानगरपालिकामार्फत जम्मा गर्न सक्ने गरी व्यवस्था मिलाएको छ।

प्रकाशित मिति: : 2020-03-31 21:52:09

प्रतिकृया दिनुहोस्