सरकारले घोषणा गरेको लकडाउनको पालना गराउन चर्को घाममा दिनभर सडकमा ड्यिुटीमा खटिएका प्रहरीलाई सडकमै पुगेर खानेकुरादेखि पन्जासम्म वितरण गरिएको छ।
नेपाल दशनामी समाज भक्तपुरका युवा अध्यक्ष एवं भक्तपुर मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका अध्यक्ष गोकुल वनले आज सडकमै गएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई सामग्री प्रदान गरेका हुन्। जडीबुटीदेखि साँगासम्ममा ड्यिुटीमा खटिएका करिब २०० प्रहरीलाई पञ्जा, मास्क, पिउने पानी र खाजाको प्याकेट वितरण गरिएको हो।
'कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले २५ गतेसम्मका लागि लकडाउन गरेपछि अधिकांश मानिस घरमै बसेका छन्, तर सुरक्षाका लागि सडकमा खटिएका प्रहरीले किनेर पानी र खाजा खाने ठाउँ पनि छैन, त्यसैले उनीहरुका लागि सामान प्रदान गरेका हौँ' अध्यक्ष वनले भने।
वडाध्यक्षद्वारा मजदूरलाई राहत
त्यसैगरि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा सिपाडोल क्षेत्रका ५०० मजदूरलाई आज खाद्यान्न वितरण गरिएको छ।
यस क्षेत्रमा निम्न आय भएका, ज्याला मजदूरी गरेर खानुपर्ने मजदूरलाई जनही पाँच किलो चामल, दाल र मस्यौरा एक एक प्याकेट वितरण गरेको अध्यक्ष थापाले जानकारी दिए।
त्यसैगरी मध्यपुरथिमिको कौशल्टार क्षेत्रमा स्थानीय युवा नरेश रञ्जितको समूहले दैनिक ज्यालादारी गरेर बाँच्ने गरिब मजदूरलाई खाद्यान्न सामग्री वितरण गरेको छ।