पात्रहरुको औचित्य र महत्व त्यतिबेला बढी स्वीकार गरिन्छ ,सम्झना गरिन्छ, अर्थपूर्ण लाग्छ। जतिबेला मान्छेले अप्ठ्यारो अनुभव र अनुभूति गर्दछन्। विश्व यति बेला कोरोना आतंकले भयभित छ। हामी नेपाली पनि आतंकको चपेटामा पिल्सिएका छौ। विश्वका धेरै देशमा महामारी, रोगब्याधीसँग जुध्ने सामर्थ्य छ। कतिसँग छैन, त्यो आफ्नो ठाउँमा छ। तर रोग लागेपछि जाने अस्पताल छ। गुहार्ने सरकार छ। दुर्भाग्य हामीसँग सरकार छ, अस्पताल छ तर कार्यक्षमता भएको सरकार छैन। अनि अस्पताल पनि प्रयाप्त छैन।
भएका अस्पताल पनि प्रबिधि र उपकरण अनि जनशक्तिको अभावमा छन्। स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवच समेत छैन। सर्जिकल मास्क छैन, पीपीइ समेत छैन भनेर डाक्टर,नर्स र स्वास्थकर्मीको असन्तोष छ। अरु औजार र उपकरण कति होला र? हामी पखाला लाग्दा जीवनजल नपाएर मर्ने अभिशप्त वर्तमानमा बाँचिरहेछौ।यही बेला विश्वमा फैलिएको महामारी कोभिड–१९ ले जीवन र जगत माथि धावा बोलेको छ। उत्कृष्ट स्वास्थ्य सेवामा अब्बल ठानिएको इटाली ,स्पेन, अमेरिका, जापान लगायत देशहरु कोरोना नामधारी मृत्युको भयंकर ताण्डवनृत्यले मर्माहत र आहत छन्।
विश्व मानचित्रमा व्यापक बिम्ब र भयको शताब्दी बन्दै छ यो पल। यो समय। विश्व स्वास्थ्य संगठनले खतराको उच्च जोखिममा सूचिकृत गरेर नेपाललाई साबधान रहन आग्रह गर्दा पनि कोरोना खतरामुक्त जोन नेपाल घोषणा गर्दै संसारभरका पर्यटक भित्र्याउने दृष्टिविहिन सपना देखाउन पर्यटन मन्त्री योगेश भट्टराई व्यस्त थिए भने पररास्ट्र मन्त्रीको विदेश भ्रमण जारी थियो केहि हप्ता अघिसम्म। निकट भविष्यको आँकलन गर्न नसक्नेहरु यो देशको सत्ताका महारथी छन् ।
गत फागुन १८ गते नै कांग्रेस नेता गगन थापाले कोरोनाबिरुद्द राष्ट्रिय संकल्प आवश्यक भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताब संसदमा पेश गरेर कोरोना देखिएको छैन भनेर ढुक्कसँग नबसौ यसको न्यूनीकरण गर्ने उपाय खोजौ भनेका थिए। कोरोना संक्रमणबाट बच्न एकीकृत कार्यसंचालन गर्न तत्काल एक्सन प्लान बनाउन सरकारको ध्यान आकर्षण गराउने कोसिस गरेका थिए। इटली, इरान र कोरिया, स्पेनमा झैँ एकैपटक संक्रमण फैलियो भने के गर्ने भनेर प्रश्न मात्र गरेका थिएनन्, अन्यथा मुलुकले व्यहोर्नुपर्ने क्षति अपूरणीय हुनेतर्फ सचेत पनि गराएका थिए।
पूर्वस्वास्थ्य मन्त्री समेत भएका र आफ्नो कार्यकालमा स्वास्थ्यसम्बन्धि महत्वपूर्ण काम गरेका विज्ञ सल्हाकार समुहको सुझावमा आफ्ना धारणा राख्ने नेता भएको कारण गगन यति बेला स्वास्थ्य मन्त्री अर्थात निर्णायक भूमिकामा हुनुपर्ने भनेर अत्यधिक खोजी गरिएका पात्र हुन्।
नेपालको स्वास्थ्य सेवा बारे अध्ययन गरेका अनि डाक्टर गोविन्द केसीको स्वास्थ्य शिक्षा आन्दोलनमा निरन्तर सरोकार राख्ने, सुझबुझ पूर्ण निर्णय गर्ने, केसीले गरेका आन्दोलनको महत्व र गरिमालाई राज्यको अभिन्न र विस्तारित स्वास्थ्य सेवाको मर्म भनेर बुझ्ने कांग्रेस पार्टी भित्रका थोरै मध्येका महत्वपूर्ण व्यक्ति हुन।
कांग्रेस भित्र मौसमी समर्थकभन्दा अटुट र निरन्तर समर्थन र सद्भाव व्यक्त गर्ने मान्छे हुन गगन थापा। अत स्वास्थ्य मन्त्रीको रुपमा यो संकटग्रस्त घडीमा गगनको नाम धेरैको उच्चारण भित्र पर्छ। वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अकर्मन्यता, गैरजिम्मेवार अभिव्यक्ति अनि अल्पज्ञानले देश उनीसँग रुष्ट छ। संकट, आपदविपदमा बिभिन्न चरित्र पात्र र प्रवृतिको बारेमा चर्चा हुन्छ, तुलना हुन्छ अनि आवश्यकता बोध हुन्छ। त्यस्तै आवश्यकता बोध गरिएका पात्र डाक्टर गोविन्द केसी र गगन थापा हुन।
सौभाग्य हामी अहिलेसम्म भयानक संकटमा छैनौ तर संकटासन्न छौं। संकटले संघारमा टेक्दै गरेको स्थितिमा छौं। त्यसैले के हुनु पर्थ्यो, के भएन र किन र कसको कारणले भएन त्यो विश्लेषण हुनु आज जरुरी छ। विगतको संस्मरण गर्दै वर्तमानमा एक्सन प्लान बनाउदै भविष्य बारे सोच्ने पनि समय हो यो। अतितको गल्ति सच्याउने अनि भविष्य उजिल्याउने अवस्थालाई सदुपयोग गर्नुपर्छ। धेरै मान्छेको मानसपटलमा डाक्टर गोविन्द केसी अनि उनको सत्याग्रही छवी पनि आँखा अगाडि आएको छ। गोविन्द केसी तिनै मान्छे हुन, जसले बाबुराम भट्टराई, खिलराज रेग्मी,प्रचण्ड , शेरबहादुर देउवा, शुशील काेइराला हुँदै केपी ओलीलाई तेश्रो पटक चुनौति दिएर मृत्यु उन्मुख बनेर ब्युझाउने प्रयत्न गरे।
बाबुरामले सर्वप्रथम २०६९ आषाढमा गोविन्द केसीका माग जायज छन्, सम्बोधन राज्यले गर्नुपर्छ भनि राज्यको तर्फबाट आधिकारीक दस्ताबेजिकरण गरे । गोविन्द केसीको न्यायोचित माग राज्यको नजरमा पर्यो। देशमा स्वास्थ्य क्षेत्रमा रहेका तमाम विकृति सतहमा आयो। धेरैले धेरै कुरा जान्ने बुझ्ने मौका पाए। राज्यले जनतालाई गुमराहमा पारेको कुरा भुइँ तहसम्म आइ पुग्यो।
राज्यले जनताको स्वास्थ्यप्रतिको दायित्व किन निर्वाह गर्न सकेन? स्वास्थ्य सेवा पैसा छाप्ने मेशिन कसरी बन्यो यसको जड के हो? किन राजनीतिक पार्टी र नेताहरु चुके? किन सरकार र पार्टीहरु माफियाको चंगुलमा परे? कसरी राज्य स्वास्थ्य क्षेत्रको नीजिकरण गरेर सेवालाई ब्यापारमा रुपान्तरण गर्न पुग्यो आदि इत्यादी अनगिन्ती सबाल र यसको जबाफ खोजिन थाल्यो। स्वास्थ्य र शिक्षामा भएको विकृतिको चांग नै चांगले सरकार र पार्टीलाई बेलाबेलामा निधार खुम्च्याएर सोच्न बाध्य बनायो। मेडिकल शिक्षामा बिद्यार्थी माथि भएको चरम शोषण , मेडिकल शिक्षा डाक्टरी लाइसेन्स बेच्ने पसल भएकोमा देशको ध्यान गयो। गाईगोठ बनाउन, चर्पी बनाउन मापदण्ड पालन गर्नुपर्ने तर मेडिकल शिक्षा पढाउन मापदण्ड नचाहिने कारण पैसा भए सब मिल्ने परिपाटी र कमशल मेडिकल शिक्षा प्रणालीको अभ्यास भयो।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा जुन खेलाची प्रदर्शन गरियो। जथाभावी सम्बन्धन दिइयो। त्यो विल्कुल गलत थियो। यसलाई औल्याउन स्वास्थ्य क्षेत्रकै मान्छेको आवश्यकता पर्यो, जसको लागि हिम्मत गरे हाडजोर्नी विशेशज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीले। मान्छेको मुटु, कलेजो, फोक्सो मृगौला लगायत अरु भित्री अंग बिग्रेको मौका छोपेर कमाउन बसेका लोभी पापी र स्वार्थीहरुको चंगुलमा देश जानेछ। डाक्टरी पढाइ केवल प्रमाणपत्र बेच्ने कालो धन्दामा सिमित बन्नेछ। काला कर्तुतधारीहरुले नैतिकता इमान जमानको पसल थाप्नेछन्। जहाँ स्वार्थको कारोबार चल्ने छ। मानवता र स्नेह एकादेसको कथा हुनेछ। घर खेत बेचेर ऋण धन गरेर पनि हामीले राम्रो स्वास्थ्य उपचारको अवसर पाउने छैनौ। डाक्टरी शिक्षा केवल प्रमाणपत्र बेचिने थलोको रुपमा परिणत हुनेछ भनेर गोविन्द बहुलाएका थिए र छन् पनि।
एक समर्थक र सत्याग्रहको हिमायती हुनुको नाताले मलाई पनि अरुलाई झैँ सरकारप्रति गोबिन्द केसीको आक्रोश , रिस, खस्रो अभिव्यक्ति अनि असहज शव्दले बिझाउँथ्यो। यतिसम्म नभने पनि हुन्थ्यो झैँ लाग्थ्यो तर अहिले थाहा भयो, गोविन्द किन त्यस्तरी रिसाएका रहेछन। सम्झौताको फर्जी चेक थमाएर दर्जनौ पटक चेक बाउन्स हुँदा कस्तो पिडा हुन्छ, शायद गोविन्द केसीकाे आक्रोस त्यही थियो। अन्तरहृदयको सच्चाईको चिच्याहट थियो। आजको परिस्थिति गोविन्दको अन्तरमनले पहिल्यै देखेको थियो। राज्यको मेडिकल कलेज र अस्पताल ठाउँ–ठाउँमा दुर दराजका गाउँ गाउँमा। उनी भन्थे र त्यस्तै माग राखेर लमतन्न पल्टन्थे। तर सत्याग्रह र दुराग्रह अनि मुढाग्रह भनेर गोविन्दको बिरुद्द डमि अनशनकारी खडा गरियो र राज्यसंयन्त्रको दुरुपयोग गरेर गोविन्दको हुर्मत काढन काँधमा बोकियो , बोकाइयो आज जनजनले बुझे होला गोविन्द सत्य कि दुराग्राही सरकारले उचालेको डमी पात्र?
अमुक ढोंगी पात्र बोकेर हिड्ने योगेश उत्तम कि सत्याग्रही गोविन्द केसीको पक्षमा जनमत बनाउने गगन ठिक? मूल्यांकन समयले गर्छ। परिस्थितले क्षमता र योग्यताको मापन गर्छ। यति बेला देशलाई हाक्ने मुटु भएको मान्छे चाहिएको छ। दृष्टि भएको आँखा चाहिएको छ। ब्यवस्थापकीय क्षमता भएको म्यानेजर चाहिएको छ।
सधै र जहिल्यै मेडिकल शिक्षाको बेथितिको बारेमा डाक्टर गोविन्द केसीले मात्र मृत्युपत्रमा हस्ताक्षर गरेर सुत्ने ठेक्का अवश्य छैन होला? बेलगाम शिक्षामा व्यापार र लुट टुलु टुलु हेरेर बस्नु नेपाली जनताको भाग्यमा लेखेको कुरा हो। समाजवादी मार्गमा हिड्ने नेपालको संविधानको प्रतिवद्दता पक्कै पनि शिक्षा र स्वस्थ्यको व्यापार र अपचलन थिएन। लोक कल्याणकारी राज्यले शिक्षा र स्वास्थ्यमा व्यापार प्रवर्दन गरेर लुटको साम्राज्य फैलाउन दिनु नपर्ने हो। बाटो गलत रहेछ भने मार्ग बदल्ने सुझबुझ पूर्ण निर्णय र कार्य जरुरी हुन्थ्यो ।
गलत बाटो हिँडे पछि गन्तव्यमा पुग्न सकिदैन भन्ने हेक्का र चेत आउन अझै किन ढिला? मेडिकल कलेजको अबैध धन्दालाई अझै किन राजनीतिको संरक्षण? अबैध धन्दा र कारोबार बर्जित गराउने राज्यको कानुन किन यति निरिह र लाचार। कानुनको परिपालना गराउने निकायको जुम्सोपन भित्रको स्वार्थ र हिसाबकिताब किन निर्लज्ज? यी यावत सबको मुल्यांकन पुनरावलोकन र समीक्षा अबका दिनमा गर्नु र तदनुकूल नीति तर्जुमा गर्नुपर्छ। होइन भने आजको यो संगीन संकटको महामारीमा पनि बिरामी अस्पतालको मुख नदेखी मर्न बाध्य हुनेछन्।
सबैलाई थाह छ काला ब्यापारी , माफिया , खुफिया, तस्कर , दलालको कुनै पार्टी विशेष हुदैन। कुनै सिद्दान्त हुदैन। कुनै वादको आदर्श हुदैन। केवल आफ्नो लागि संरक्षण गर्ने पार्टी भए पुग्छ। देश र जनताप्रति कुनै उत्तरदायित्व वहन गर्नु पर्दैन। केहि नेतालाई रिजाए पुग्छ। रंगविहीन सिद्दान्तको झोली बोकेर जता पनि पस्न, निस्कन र मिसिन सक्ने खुवी हुन्छ। पानी रंगको सिद्दान्त बोकेर पैसाको ब्रिफकेस उचालेर यिनीहरु कहिले ब्यापारी बन्छन्, कहिले राजनीतिज्ञ बनेर चुनाव लडन पुग्छन्। बिभिन्न पार्टीमा सेल्टर निर्माण गर्छन् र आफ्नो प्रभाव बनाउँछन् । भिन्न भिन्न पार्टीमा लाग्छन् तर आफ्नो स्वार्थ सिद्द गर्न एक ठाउँमा बस्छन्।
बिभिन्न पार्टीको माध्यमबाट प्रतिनिधि बनेर आधिकारिक र बैधानिक निकायमा पुग्छन्। अनि प्रणाली कब्जा गरेर बैधानिकताको खोल भिरेर देश चुस्न, जनताको खोक्रो भकारी अझ खोक्रो पार्न लागिपर्छन्। अलिकति संकट आयो कि आफ्नो ओरिजनल ठाउँमा गठजोड गर्न आइपुग्छन्। आफ्नो कित्तामा उभिन्छन्। वर्गीय स्वार्थको लागि सबै एकै ठाउमा लामवद्द हुन्छन्। पढ़ाउन सक्दिन भनेर धमास दिन्छन्, संकटमा औषधि गर्न सरकारी अस्पताल देखाउछ्न् र आफ्नो अस्पतालको गेट बन्द गर्छन।
सरकारले बारम्बार र सम्झौता गरेर पटकपटक बेइमानी गरिरहन्छ। त्यसैले उनको अनशन पनि १७औ पटक चल्यो। दर्जन पटक सम्झौता गरेको सरकार केसीलाई फर्जी चेक हातमा राखिदिएर आम नेपालीको स्वास्थ्य र शिक्षामा भएको खेलवाडको साक्षी र संरक्षक बन्छ। आफैले गरेको सम्झौता र कानुन उल्लघन गर्दै सरकार केसीलाई चिढ्याउदै जनतामाथि घात गरिरहन्छ। चिकित्सा क्षेत्र सुधारको लागि कम्तिमा चार दिन देखि २७ दिनसम्म १७ औ पटक भोको बसेका केसी भोक खप्न राजी छन्।
मृत्युको नजिक जान इच्छुक छन् तर कसैसँग डराउदैनन्। ज्यान मार्ने धम्कीदेखि लोभ, आश्वासन र थुप्रै ठूला पदको अवसरभन्दा आफ्नो निष्ठा, आदर्श, पुण्य र परोपकारी कर्मलाई महान सम्झन्छन्। सादा जीवन र उच्च विचार यिनको आदर्श सहितको प्रतिबिम्बित यथार्थ ब्यबहार र संस्कार हो। हठी स्वभावका केसी आफ्नो पागलपन र समर्पणप्रति दृढ छन्। घरपरिवार सम्पति केही नजोडेका केसी बिरामीको सेवा र सत्कर्म नै आफ्नो लागि ठूलो सम्पति र रोगी, घाइते बिरामीले गर्ने माया र इज्जत नै धनदौलत हो भन्छन्। देश, देशान्तर डुलेर समाज बुझेको कारण नै समाजमा ब्याप्त रोग, गरिबी, अशिक्षा , भ्रस्टाचार र बेथिति नजिकबाट देखेका छन्।
जनताले स्वास्थ्य सेवाबाट बन्चित भएको हृदयविदारक र कारुणिक दृश्य पनि हेरेका छन्। दु:खसँग एकदम नजिक बसेर साक्षात्कार गरेका छन्। सेवा र अवसर कस्तो हुनुपर्छ त्यो हेरेका बुझेका छन्। त्यसैले नेपालीको दु:ख देखेर भावुक बन्छन् र नेपाल र नेपालीप्रति राज्यसत्ता गैरजिम्मेवार बनेकोमा आक्रोश पोख्छन्। एक व्यक्तिको रुपमा बरु आफ्नो विश्वसनीयता गुम्दा राज्यलाई घाटा हुँदैन तर राज्यको विश्वसनीयता गुम्यो भने देश र जनताको लागि गम्भीर घाटा र दुर्घटना हुनपुग्छ।
राज्यको विश्वसनीयतामा कमि आएकोले नै पटकपटक आफूले अनशन गर्नु परेको र जनताले दु:ख पाएको केसीकाे बुझाई छ। ढिलो बुझ्लान् तर जनताले सत्य बुझछन् । सत्यको लागि साथ दिन्छन्। आफ्नो सम्पूर्ण तागत भनेको जनताको माया समर्थन र विश्वास हो। राज्य इमान्दार हुने हो भने जनताले दु:ख पाउनु पर्थेन, पद्दति बसाउनको लागि सधै आन्दोलन जरुरी थिएन। आफूले हारेर फरक पर्दैन, म एक्लो व्यक्ति मरेर राज्यलाई ठूलो घाटा छैन तर राज्यले हार्यो भने नैतिकता गुमायो भने देशले बेहोर्नुपर्ने क्षतिको फेहरिस्त लामो हुने केसीकाे तर्क छ।
आफूसँग गरिएको सम्झौता राज्यले चटपटे बेच्न र मसाला पोको पार्ने कागजको खोस्टो सम्झेको कारण नै एकै र उस्तै उही मुद्दाको लागि बिगत दश वर्षदेखि लड्नु परेको डाक्टर केसीको दावीमा बिमति जनाउने ठाउँ हुदैन। देशको माया, म आफ्नो माया नगरेर नै गर्छु। मलाई यो देशको माया छ तसर्थ म भोकै मरेर देशले जित्छ, जनताले सुख पाउछन् र समृद्द नेपालको सपना पुरा हुन्छ भने म मृत्युपत्रमा हस्ताक्षर गर्न सधै तयार छु केसी आफ्नो दृढता व्यक्त गर्छन। अस्थिर सरकार, संयुक्त सरकार र बिभिन्न पार्टी गठबन्धनको सरका , पूँजिवादी पार्टी र सरकारले ढाँटे त्यहाँ बाध्यता थियो होला। त्यो हदलाई म कठिन नै लागे पनि स्वीकार गर्छु तर कम्युनिस्टको शक्तिशाली दुई तिहाइको एकमना सरकार, कम्युनिस्ट सिद्दान्तलाई नै म्याच हुने स्वास्थ्य र शिक्षाको आमुल परिवर्तन, जनमुखी बैज्ञानिक बिधि र पद्दतिको पक्षमा बहस पैरवी गर्दा स्वयं कम्युनिस्ट पार्टीको सरकारले वास्ता नगर्दा धोका दिँदा, आफूलाई पूँजीवादको दलालको बिल्ला भिराइ दिएकोमा भने चित्त दुखाएका छन्। ओलीले इमान भुलेकोमा, आफ्नै निर्णय लत्याएकोमा आक्रोशित छन केसी।
लाज बेचेर लुगा किन्ने मान्छे जस्तो लागेको छ डाक्टर केसीलाई राज्यको नियत। त्यसैले आज केसी पून चर्चामा छन्। जनताको नजरमा छन्। जनताले केसीको दूरदर्शीता र गगनको कार्यक्षमताको समष्टि खोजेका छन्।
आफ्ना समर्थक, साथीभाई र शुभचिन्तकबाट सन्त चिकित्सकको उपमा पाएका केसी धन सम्पति र लाभको पद लिने थुप्रै सम्भावना र अवसरलाई आफ्नो जीवनको धेय नभएको बताउँछन्। जनहितको कार्य र समाजसेवामा आफूलाई सम्पन्न देख्छन्। आफ्नो धन नै मान हो, सम्पति जोड्नुभन्दा चुडिएका हातपाउ जोर्नु चै ठूलो र महत्वपूर्ण कुरा ठान्छन्।
रोगी बिरामीका घाउ ,पिप, सिंगान,दिशा, पिसाब, मलमुत्र, रगत खकार सोहोरेका केसी ७७ जिल्ला कम्तिमा पनि तीन पटक पुगेर मानवीय सेवामा कटिबद्द छन्। त्रिवि शिक्षण अस्पतालबाट अवकास प्राप्त गरेपछि केसी आफूले एमबिबिस पढेको बंगलादेशको राजशाही कलेजमा केहि समय स्वयंसेवक बनेर रहे। रोहिन्ग्या शरणार्थी शिविरमा स्वास्थ्य सेवा दिए।
हाल एक महिनादेखि डडेल्धुरा अस्पतालमा स्वयं सेवारत छन्। निस्वार्थ सेवा गर्न पद र ओहोदा मात्रै चाहिदैन केवल मानवीय भावना भए पुग्छ। आज कोरोना कहरमा गोविन्द केसीले विगत दश वर्षदेखि उठाएका नेपालको मेडिकल क्षेत्रको सुधार र यसमा रहेको विकृति बढार्नु पर्ने निचोड र निश्कर्षले सार्थकता पाएको छ। उनले गरेको सत्याग्रहको अर्थ औचित्य र अठोट प्रमाणित भएको छ।
क्रमभंग गर्नेहरुले अनुशासन र नैतिकताको क्रम भंग गर्न सके तर अन्याय,बेथिति, अत्याचार र विभेदको क्रम भंग गर्न सकेनन्। हाम्रो राजनीतिको बिडम्बना यही भयो। ब्यवस्थामा क्रम भंग तर अवस्था नियत र नियतिको क्रमभंग हुन सकेन। अबको समय क्रमभंग गर्ने समय हो। त्यो क्रम भंग डाक्टर केसीले झैँ हुनु जरुरी छ।