‘लकडाउन’ पछि दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरूलाई सबैभन्दा समस्या हुन्छ । त्यो स्तरको मान्छेलाई खाद्य पदार्थ वा औषधिमुलो पुर्याउनपट्टि सरकारको ध्यान छिटो जानुपर्छ ।
पशुपतिशमशेर जबरा नेपालका एक अनुभवी, विद्वान र पाका राजनीतिज्ञ हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष छन् । ०४६ सालअघिको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामा पटक–पटक मन्त्री भइसकेका उनी राणा प्रधानमन्त्री चन्द्रसमशेरका पनाति र मोहन शमशेरका नाति हुन्।
उनले त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) मा सन् २०२६ देखि सुरुका चार संस्थापक कार्यकारी निर्देशक भएर काम गरेका थिए। उनी २०३२ सालदेखि करिब १४ वर्ष राष्ट्रिय पञ्चायत सदस्य भए । पटक–पटक मन्त्री बने । बहुदलपछि राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेर त्यसपछि पनि सांसद् र मन्त्री भए।
उनले बेलायतको अक्फोर्ड विश्वविद्यालयमा स्नातक गरेका छन् । सन् १९४१ मे ७ मा जन्मिएका उनी ८० वर्ष लाग्दै छन् । कोरोना भाइरसको महामारीमा संसार फसेको र नेपालमा पनि यसको संक्रमण बढ्दै गएको सन्दर्भमा आर्थिक र सामाजिक दुवै दृष्टिकोणबाट नेपाललाई विश्लेषण गर्न सक्ने राणासँग बिएल नेपाली सेवाका लागि माधव ढुङ्गेलले गरेको संवाद :
विश्व काेराेना भाइरसकाे महामारीसँग जुधिरहेकाे बेला नेपालमा पनि प्रवेश गरिसक्यो । सरकारले गरेको पूर्वतयारीबारे तपाईंको मूल्याङ्कन के छ ?
अहिले आलोचनाभन्दा पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । महामारीको समस्या जसरी नेपालले सामाना गर्नुपरेको छ, त्यसमा सरकार, नीजि क्षेत्र, सम्पूर्ण नागरिक मिलेर यो अभियानमा खटे मात्र यसविरुद्ध हामी सफल हुन सक्छौँ ।
त्यसैले मेरो दृष्टिकोण छ– सरकारले यसअघि लिएका कदमहरू, हिजोको मन्त्रिपरिषद्ले गरेका निर्णय उचित छन् तर पर्याप्त छैनन् । सरकारले गरेका निर्णय कार्यान्वयनमा हामीले कसरी योगदान गर्ने भन्नेमा जोड दिनुपर्छ ।
कोरोना भाइरसको सामना गर्न सरकारले सबैभन्दा पहिले गर्नुपर्ने व्यवस्था के हो ?
महत्वपूर्ण कुरा त अग्रपंक्तिमा खट्ने, सेवा दिने, अन्य यस्ता जोखिमपूर्ण कार्य गर्ने राष्ट्रसेवक र स्वास्थ्यकर्मीहरूलाई कम्तिमा एक करोड रुपैयाँ बराबर इन्स्युरेन्सको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई ‘पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट’ (पीपीई) पूर्ण रुपमा प्राप्त हुनुपर्छ । आफैँ जोखिममा पर्ने गरी अरुको सेवा गर्न सबैलाई मुस्किल हुन्छ । यो कुरामा सबभन्दा पहिला सरकारको ध्यान जानुपर्यो ।
‘स्याम्पल टेस्ट’ गर्न पनि काठमाडौं नै ल्याउनुपर्ने अवस्थालाई सुधार गर्न ढिला भएको भन्ने लाग्दैन ?
म यो विषयको विशेषज्ञ त होइन तर नीजि क्षेत्रको ल्याबरेटरी पनि छन् । तिनीहरूलाई कसरी परिचालन गर्ने भनेर नीति बनाउनुपर्छ । टेकुमा मात्र सीमित हुनु हुँदैन । पूर्व र पश्चिम नेपालमा तत्काल ल्याब खोल्दा अलि सहज हुन्छ ।
‘सरकारले लकडाउनको घोषणा चाहिँ गर्यो तर पीपीई समेत ल्याएन । लकडाउन गरेर डाक्टरको 'गाउन' सिलाउन थाल्यो । काम गरेन, गफ मात्र गरिरह्यो’ भन्ने विपक्षी दलका नेताहरूको आरोपमा कत्तिको दम देख्नुहुन्छ ?
कमी–कमजोरी सरकारका धेरै छन् । म आलोचकभन्दा सहयोगी भएर कुरा गर्न चाहन्छु । अघि मैले भनिसके– स्वास्थ्यकर्मीले लगाउने पीपीई सबैलाई पुर्याउनुपर्यो ।
लकडाउन भएपछि ठूलो समस्या के हुन्छ भने ‘लकडाउन’ पछि दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरूले आर्जन गर्न पाउँदैनन् । खानलाई पनि सङ्कट हुन्छ । त्यो स्तरको मान्छेलाई खाद्य पदार्थ वा औषधिमुलो कसरी पुर्याउने, यतापट्टि सरकारको ध्यान छिटो जानुपर्छ ।
सरकारले हिजो ल्याएको राहत कार्यक्रममा यसलाई सम्बोधन गरिएको छ, हैन ?
हिजो सरकारले ल्याएको राहत प्याकेज उचित छ । पर्याप्त छैन ।
तपाईं अर्थशास्त्रको विज्ञ पनि हुनुहुन्छ । देशको शासनसत्ता चलाएको अनुभव पनि छ । राहत प्याकेज ल्याउँदा कतिसम्म धान्नसक्ला. हाम्रो अर्थतन्त्रले ?
केही हदसम्म त सरकारले व्यहोर्नैपर्छ । तपाईंले याद गर्नुभो भने सरकारको चलन के छ भने आर्थिक वर्षको पछिल्लो दुई–तीन महिना बाँकी छँदासम्म बजेटको ३०–४० प्रतिशत खर्च हुँदैन । त्यो रकम अहिले परिचालन गर्नुपर्यो । बजेटमा पर्ने तर खर्च नहुने रकमलाई सरकारले मानवीय कार्यमा लगाउनुपर्छ । मान्छेलाई विभिन्न किसिमको अप्ठेरो पर्नसक्छ । जस्तो, अहिले सरकारले घरधनीलाई बहाल छूट देऊ भनेको छ । एकथरि मान्छे यस्ता होलान्, जसको घरबहालबाहेक आयस्रोतै छैन । ती व्यक्तिलाई चाहिँ कसरी राहत दिने ? त्यो पनि व्यवस्था गर्नुपर्छ । यो सबै घरधनीलाई होइन । जसलाई परेको छ, त्यसलाई गर्नुपर्छ ।
यस्तो खराब दीनहीनमा पनि भ्रष्टाचार र अनियमितताको आरोप लागेको देख्दा चाहिँ तपाईंलाई कस्तो लागेको छ ?
अर्को कुरा महामारीको अवधिभरि नै ऋणमा ब्याज चाहिँ मिनाहा गर्नुपर्ने अवस्था छ । त्यो गरेन भने गाह्रो हुन्छ । आज मैले बडो चिन्ताजनक कुरा पढेँ– स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको । त्यो नहुन पनि सक्छ । के भएको हो, थाहा छैन । सबै प्रक्रिया पूरा गरेर यस्तो संकटग्रस्त अवस्थामा मालसामान खरीद गर्न त गाह्रो हुन्छ । यदि भ्रष्टाचार कहीँ भएको रहेछ भने यस्तो अवस्थामा पनि भ्रष्टाचार गर्नु भनेको त पापै हो त्यो । त्यसैले यतापट्टि पनि हामीले ध्यान दिनुपर्छ ।
लकडाउनको मौका छोपेर कृत्रिम अभाव र कालाबजारी गर्ने पनि सक्रिय भएका छन् । यो नियन्त्रण गर्ने उपाय हुँदैन, देश अप्ठेरोमा परेको अवस्थामा ?
कालाबजारी गर्नेलाई दण्डित गर्नुपर्छ । कालोबजारी गर्नेलाई सजाय गर्न हाम्रो ऐन–कानून सबै छँदै छन् । त्यसको आधारमा जसले यस्तो बेलामा कालाबजारी गर्छन्, तिनीहरूमाथि कडाभन्दा कडा कारवाही हुनुपर्छ ।
अहिले जारी ‘लकडाउन’ दुई साताका लागि घोषणा भएको छ । तपााईंको विचारमा लकडाउन कति लम्ब्याउनुपर्ला ?
यसबारे त भन्न सकिन्न । अहिले कसरी आयो भने हामीलाई काठमाडौंमा को—को बिरामी भए भन्नेसम्म राम्ररी थाहा होला । मान्छे ह्वार–ह्वार्ती आएका छन् । पश्चिमतिर, पूर्वतिर बाहिरबाट मान्छे आएका छन् । अन्यत्र (काठमाडौंबाहिर) त मुकाबिला कसरी गर्ने भन्ने केही व्यवस्था नै छैन । त्यसैले हामीले यो रोगविरुद्ध काठमाडौंबाहिर कसरी मुकाविला गर्ने भनेर ‘सिस्टमाइज’ गर्ने प्रणाली नै तयार गर्न अत्यन्त आवश्यक छ ।
यहाँ रोजगारी भएन, विदेश गए । उता काम छैन, महामारी फैलिएर हाहाकार भयो । परिवार नेपालमै छन् । आफ्नो देश आएका मान्छेलाई नआऊ भन्न पनि त मिल्दैन । आउन दिनैपर्छ । यसकाे तालमेल कसरी मिलाउने ?
यो बडो ठूलो समस्या छ । आएकाहरूलाई रोक्न पनि गाह्रो ! आएकालाई क्वारेटाइन नगरी छिर्न दिँदा पनि अरु सबै नेपाली खतरामा पर्ने ! यो दुइटाबीच विवेकपूर्ण समाधान खोज्नुपर्छ ।
चिनियाँ अर्बपति ज्याक मा वा अमेरिकी अर्बपति विल गेट्सजस्ता धनाढ्यले संसारलाई सघाइरहेका छन् । कोरोनाविरुद्धको अभियानमा नेपाली अर्बपतिहरू र नीजि क्षेत्रका व्यवसायीकाे भूमिकाप्रति तपाईंको मूल्याङ्कन के छ ?
यसमा दुई–तीन वटा कुरा छन् । मैले अघि पनि भनेँ– अहिलेको अभियानमा को नागरिक, को नीजि क्षेत्र, को सरकार सबै मिलेर खप्नु परेको छ । बाहिर–बाहिर हामी सुन्छौँ– ठूला उद्योगपतिहरू बिल गेट्स, ज्याक मा जस्ताले यस्तोमा एकदम अगाडि सरेर काम गरेका छन् । नेपालमा नीजि क्षेत्रको त्यो खालको रेस्पोन्स मैले देखिरहेको छैन। अहिले चाहे त्यो व्यापारी होस् वा नीजि क्षेत्रले होस्, जनताप्रति उनीहरू संवेदनशील भएर जिम्मेवारपूर्ण रुपले उनीहरु पनि लाग्नुपर्ने कर्तव्य हो ।
सबैले सहनशील भएर विवेकपूर्ण ढंगले एकजुट भएर संसारकै मानव जातिका अगाडि आइपरेको संकटको सामना गर्नुपर्छ भन्ने तपाईं निष्कर्ष हो ?
हो । एकदमै सही हो । अहिलेको अवस्था ठूलो सङ्कट हो । संसारभरिको सङ्कट हो । अहिले संसारको सबैभन्दा ठूलो शक्तिराष्ट्र पनि ठूलो सङ्कट झेलिरहेको छ । संसारभरि परेको सङ्कटप्रति सबै संवेदनशील र ‘रेस्पोन्सिभ’ भएर काम गर्नुपर्छ ।