नेपाली अलपत्र मुम्बईका गल्लीमा, चूपचाप छ दूतावास दिल्लीमा

भारतमा कोरोना भाइरस संक्रमणका बिरामीहरू दिनानुदिन बढिरहेका छन्। प्रकाशित बिभिन्न तथ्यांक अनुसार भारत पनि कोभिड–१९ को उच्च जोखिममा रहेको छ। लामो बन्दाबन्दीले यहाँको जनजीवनमा निकै कस्टकर बनिरहेको छ। बाहिर हिँडडुल गर्ने अवस्था नै छैन। कोरोनाबाट संक्रमतिको संख्या महाराष्ट्र राज्यमा सबैभन्दा बढी छ। महाराष्ट्र – जहाँ करिब ६ लाख नेपालीहरुको बसोबास रहेको अनुमान गरिन्छ। आजकल सबैभन्दा धेरै मारमा नेपालीहरु समेत देखिन्छन्।

केहीँ दिनअघि मुम्बई बदलापुरमा २२ जना नेपालीहरू अलपत्र परेको समाचार बिएल नेपाली सेवामा प्रकाशित भयो। समाचार प्रकाशित पछि उनीहरूको मुम्बईमा सामाजिक काम गर्ने बिभिन्न संघ–संस्थाको प्रयासमा उद्धार गरिएको छ। अहिले उनीहरुको अवस्था सामान्य रहेको र राहत आउने क्रम जारी रहेको बताए।

५ दिनसम्म पानी र बिस्कुट खाएर बाँचेका महेन्द्र न्यौपानेले पटक–पटक नेपाली दूतावास दिल्लीमा फोन गर्दा पनि नउठाएको गुनासो गरे। ‘हामीहरूले सडकको सहारा लिइरहेको बेला साथीले दूतावासको नम्बर पठायो र फोन गरेँ तर, अहँ... दूतावासले फोनै उठाएन’, न्यौपानेले भने।
उनीहरू दैलेख जिल्ला भैरबी गाउँपालिका र दूल्लु नगरपालिकाका बासिन्दा हु्न्। स्थानीय पत्रकार अशोककुमार शाही, दर्पणराज रोकायाको उद्धार र पहलमा १५ जना नेपालीलाई बिरेन्द्र लामिछानेको समूहले रासन र बसोबासका लागि सहयोग गरेको छ।

पुणेमा अलपत्र परेका नेपालीहरुको समेत सामाजिक संस्था कै पहलमा उद्धार गरिएको छ। उनीहरुलाई दाल, चामल, चिनी, नुन, तेललगायतका सामानहरु मुम्बईमा रहेका ५० बढी संस्थाले जुटाउने गरेका छन्। सबै संघ–संस्थाहरु यतिबेला उद्धारमा जुटे पनि प्रयाप्त हुने अवस्था छैन।
होटल, रेस्टुरेन्ट, चाइनिज ठेला, ड्राइभिङ र कम्पनीहरू पूर्ण रूपमा बन्दछन्। प्रायः नेपालीहरू मुम्बईमा यी काममा कार्यरत थिए। उनीहरूलाई होटल, रेस्टुरेन्टका मालिकले काम गरे बापतको पैसा समेत दिएका छैनन्। हातमा पैसा नहुदाँ उनीहरु सबैभन्दा बढी तनाबमा छन्।

मुम्बईमा अलपत्र परेका प्रवासी नेपाली गाउँ फर्किन चाहन्छन्। उनीहरुका दिल्ली दूतावासलाई गुनासै–गुनासा छन्। १४ वर्षदेखि मुम्बईमा बसोबास गरिरहेका नामकर खनालले दिल्ली दूतावासलाई फोन नउठाएकोमा आक्रोश पोखे। ‘मुम्बई लाइनमा होटल बाहिर सयौं संख्यामा मानिसहरू अलपत्र बसेको खबर दिल्ली दूतावासलाई पुर्‍याउन खोज्दा समेत दूतावाले फोन उठाउँदैन। मैले तीन वटा नम्बरमा पटक–पटक पकल गरेको छु’, उनले भने, ‘हामी नेपालीहरूकै पसिनाको तलब खाएका राजदूतलाई मेरो प्रश्न छ – तपाईँ दिल्ली किन आउनुभएको हो? दुःखमा परेका नेपालीहरुको फोन उठाउन किन गाह्रो परेको छ?’

आइतबार ठाणे जिल्लामा अपलत्र परेका ९ जना नेपालीहरुको उद्धार गरियो। उनीहरुको बाससमेत सडक मै थियो। पानी पिएर बाँचेका उनीहरुले संघ–संस्थाको सहयोगमा अहिले सहारा लिएका छन्। डोम्बिवलीमा दैलेख घर भएकी एक गर्भवती महिला काखे छोराको साथमा अलपत्र अबस्थामा फेला परिन्। उनलाई श्रीमानले नै ग्रामिण अस्पतालमा छाडेर सम्पर्कबिहिन भएका छन्। बदलापुर प्रहरी चौकीको समन्बयमा ती माहिलाको उद्धार गरिएको छ।

महाराष्ट्रमा अनुमानित ७ देखि ८ हजारको संख्यामा नेपालीहरु घर बाहिर अलपत्र परेको समाजसेवी सागर भण्डारीले जानकारी दिए। आफूले दूतावासमा फोन गर्दा समेत फोन नउठेको उनले बताए। दिल्ली दूतावास मार्फत नेपाल सरकारले नै गाउँ फर्काउने वा सुरक्षित स्थान मै राख्ने ब्यवस्था गर्नुपर्ने उनले बताए। भारतका बिभिन्न शहरहरुमा बन्दाबन्दीको कडाइ गरिएको छ। मुम्बई शहर सुनसान बनेको छ। सडकमा एम्बुलेन्स, प्रहरी र संघ–संस्थाका सावरी–साधनहरु मात्रै देख्न सकिन्छ।

प्रकाशित मिति: : 2020-03-30 14:18:00

प्रतिकृया दिनुहोस्