काेराेनाबाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ। 

प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु भएको छ। केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ। इटालीमा हालसम्म ९२ हजारभन्दा बढी नागरिकमा कोरोनाको संक्रमण देखिइसकेको छ। 

त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या ५ हजार ९८२ जना पुगेको छ। स्पेन कोरोना संक्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो।   

यता संयुक्तराज्य अमेरिकामा विश्वमै सबैभन्दा धेरै नागरिक संक्रमित हुने देश बनेको छ। यहाँ अहिलेसम्म १ लाख २३ हजारभन्दा बढी नागरिक संक्रमित भएका छन्। अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २२९ जना पुगिसकेको छ। यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ।
 
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ। 

कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार ३०० जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार ४३९ जना संक्रमित रहेका छन्। 

इरानमा कोरोना भाइरसको संक्रमणका कारण २ हजार ५१७ जनाको मृत्यु भएको छ। हाल ३५ हजार ४०८ जना संक्रमित रहेका छन्। 

जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण ४५५ व्यक्तिको मृत्यु भएको छ। हाल त्यहाँ ५८ हजार भन्दा बढी मानिस सङक्रमित रहेका छन्। फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण २ हजार ३१४ जनाको मृत्यु भएको छ।
  
बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस संक्रमण हुनेको संख्या बढ्दै गएको देखिएको छ। यहाँका १ हजार १९ जनाको ज्यान गएको छ। यहाँका १७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। 

युरोपेली अन्य मुलुकहरुमा पनि कोरोनाभाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ। आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगोजसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ। 

कोरोनाभाइरस संक्रमणका कारण नेदरल्यान्ड्समा ६३९, बेल्जियममा ४३१, स्वीट्जरल्यान्डमा २६४, टर्कीमा १०८, स्वीडेनमा १०५, पोर्चुगलमा १०० जनाको मृत्यु भइसकेको छ। 

दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमणका कारण १५२ जनाको मृत्यु भएको छ। यसैगरी यस संक्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ। 

प्रकाशित मिति: : 2020-03-30 07:09:01

प्रतिकृया दिनुहोस्