सक्दाे चाँडाे पोखरा, नेपालगञ्ज र धरानमा कोरोना परीक्षण गर्ने ल्याब खाेल्छाैँ: उपप्रधानमन्त्री पोखरेल (भिडियो अन्तर्वार्ता)

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध गठन गरेको उच्च स्तरीय समन्वय समितिका संयोजक हुन्। शनिवार मन्त्रालयमा पुग्दा उनी भवनबाहिर बगैँचामा पालमुनि बसेर काम गरिरहेका थिए। व्यवसायीको एउटा समूह सरकारलाई मास्क उपलब्ध गराउन पुगेको थियो। उनीहरूसँग कुराकानी गर्दै थिए तर मन चाहिँ कोरोनाविरुद्ध सामग्री लिन चीन उड्न लागेको नेपाल वायुसेवा निगमको कार्गो विमानमा थियो। उनी सहयोगीलाई बेला–बेलामा सोध्थे– त्यो विमान उड्यो ?

उनीसँग छलफल गर्न उद्योग एवम् आपूर्तिमन्त्री पालमुनि नै थिए। एकैछिनमा भौतिक योजनामन्त्री वसन्त नेम्वाङ आफैं गाडी हाँकेर पुगे। उनको गाडीमा महिला तथा समाज कल्याणमन्त्री पनि थिए। केही बेरमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली त्यहीँ पुग्दै थिए। अर्थात्, अत्यन्त व्यस्त रहेका उनीसँग कोरोना भाइरसविरुद्ध सरकारको तयारीबारे माधव ढुङ्गेल र राजेन्द्र कुँवरले गरेको संवाद :

कोरोना भाइरसविरुद्ध देश ‘लकडाउन’ छ। संक्रमणकारी पनि थपिँदै छन्। सरकारले गठन गरेको कोरोनाविरुद्ध मन्त्रिपरिषद्को उच्च स्तरीय समन्वय समितिको संयोजक हुनुहुन्छ, उपचारमा सरकारको तयारी कस्तो छ ?

जुन बेलादेखि यो उच्चस्तरीय समन्वय समिति बन्यो, त्यस बेलादेखि हामीले तयारीको कामलाई तीव्रता दियौँ। त्योभन्दा पहिले पनि सम्माननीय प्रधानमन्त्रीज्यूले वुआनमा जुन संक्रमण देखियो, त्यसबाट नेपालका युवाविद्यार्थी प्रभावित भए। त्यसपछि नै प्रधानमन्त्रीज्यूको प्रत्यक्ष सक्रियतामा योजनामा काम भयो। पछि उहाँ दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न जाने भएपछि यो उच्चस्तरीय समन्वय समिति उहाँकै निर्देशनमा गठन भएको हो। त्यसले व्यवस्थित ढंगले कामको थालनी गर्‍यो। 

कसरी गर्नुभयो काम ?

सबैभन्दा पहिले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसितको हाम्रो संवाद भयो। हामीले राष्ट्रिय सहमतिका साथ यो समस्यासित जुध्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ। त्यसपछि प्रदेशका मुख्यमन्त्री र प्रदेशका सामाजिक विकासमन्त्री, जसले स्वास्थ्य हेर्नुहुन्छ, उहाँहरूसित हामीले संयुक्त बैठक गरेर प्रदेशको स्थिति के छ र केन्द्रमा हामी कसरी योजना बनाउँदै छौँ भन्ने जानकारी गरायौँ। त्यसपछि हामीले विभिन्न नीजि क्षेत्रका पेशा व्यवसायीसित यसका प्रभाव र असरहरू, यसबाट अपनाउनुपर्ने सावधानीका विषयमा पनि कुरा गर्‍यौँ। चिकित्सकसँगको परामर्शपछि हामीले व्यवस्थित योजना बनायौँ। 

योजनाको हकमा अहिले हामीले केन्द्रमा एउटा ‘कोरोना डेडिकेटेड हस्पिटल’ बनाउने औपचारिक निर्णय गर्‍याैँ। त्यसलाई अब सञ्चालन गर्दैछौँ। काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताललाई नै हामीले ‘डेडिकेटेड अस्पताल’ बनाउने काम गर्‍याैँ। सँगसँगै हामीले हरेक प्रदेशमा ‘डेडिकेटेड अस्पताल’ बनाउँदै छौं। जसले ‘क्रिटिकल ट्रिटमेन्ट’ को जिम्मा लिन्छ। ‘क्रिटिकल ट्रिटमेन्ट’ गर्ने हिसाबले त्यो खालको अस्पताल बनाउनुपर्छ भन्ने हिसाबले कामको थालनी गरेका छौँ। 

प्रदेश सरकारको तर्फबाट आ–आफ्नो प्रदेशमा त्यस्तो प्रकारका ‘डेडिकेटेड अस्पताल’ कहाँ–कहाँ हुनसक्छन् भनेर उहाँहरूले गृहकार्य (‘ग्राउण्ड वर्क’) गर्नुभएको छ। त्यसका आधारमा ती ‘डेडिकेटेड अस्पताल’ हामी तोक्छौँ। योसँगसँगै हामीले केन्द्रीय कोष यो आम रुपमा प्राकृतिक विपत्तिमा खर्च गर्ने होइन, यही कोरोना ‘एफेक्टेड’ समस्यामा खर्च गर्नका लागि बनाएका छौँ। त्यसमा सहयोग पुर्‍याउन, त्यसलाई रोकथाम गर्न हामीले केन्द्रीय कोष खडा गरेका छौँ। त्यो केन्द्रीय कोषमा संघीय सरकारले ५० कराेड रुपैयाँबाट थालनी गरेको छ। हिजो (शुक्रबार) सम्मको आँकडामा झण्डै ७० करोड रुपैयाँजति त्यहाँ जम्मा भइसकेको छ। हामी त्यो ‘डेडिकेटेड’ कोषमा जम्मा भएको रकम प्रदेशमा गरेको तयारीका लागि उपलब्ध गराउँछौँ। र, केन्द्रबाट गर्नुपर्ने काम पनि गर्छौं। यो काम यही कोरोना प्रभावित क्षेत्रका लागि मात्र समर्पित हुन्छ। यो हामीले गरेका प्रारम्भिक तयारी हुन्। 

दैनिक ज्याला गरेर गुजारा गर्नेहरूका लागि केही सहुलियत घोषणा गर्दैछ, सरकारले ?

अब हामी तत्कालै यो ‘लकडाउन’को स्थितिपछि उत्पन्न जुन विकराल परिस्थिति छ, त्यो परिस्थितिमा कतिपय दैनिक रोजगारीबाट गुजारा चलाउने र अरु समस्या परेका व्यक्तिका लागि कसरी हामीले ध्यान दिने हो, त्यसमा योजना बनाउँदै छौँ। केही सहुलियत र छूटको प्याकेजको पनि हामीले घोषणा गर्नुपर्ने हुन्छ। संभवतः भोलि वा पर्सिसम्ममा यसको औपचारिक घोषणा पनि गर्छौं। 

यो घोषणा गर्नु भनेको यस्तो संकटको सामना गरिरहँदा यो अभियानमा देखापर्ने समस्यालाई कसरी समाधान गर्ने भन्नका लागि हो। त्यसबाट अधिक प्रभावित ‘सेक्सन’ जुन हुन्छ, त्यसलाई सम्बोधन गर्न चाहेको हो। 

कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण कत्तिको छन् ?

यतिबेला हामीसित स्वास्थ्य उपकरणको अत्यन्त अभाव थियो। जसका कारण चिकित्सक, स्वास्थ्यकर्मीहरू अत्यन्त जोखिम मोलेर उपचार कार्यमा खट्नुभो। म यो कार्यक्रममा भन्न चाहन्छु– चिकित्सक र स्वास्थ्यकर्मी जोखिम मोलेर यसबीचमा पनि उपचारमा खट्नुभएको छ, म उहाँहरूकाे सम्मान र प्रशंशा गर्न चाहन्छु। उहाँहरूको त्यो भावनालाई उच्च सम्मान व्यक्त गर्दै म के आग्रह गर्छु भने नेपाल सरकारले जति सक्दाे चाँडो ती उपकरण उपलब्ध गराउन आज शनिवार २ बजे नेपाल एअरलाइन्सको जहाज चीन पठाएकाे छ। उक्त कार्गो विमानले भोलिसम्म उपकरण, औषधि, किट लगायतका सामान ल्याइसक्छ। सामान आउनासाथ सबै प्रदेशमा ती सामान पठाउँछौँ। अहिलेको न्युनतम आवश्यकता पूरा गर्ने हिसाबले हाम्रो तयारी छ। 

हामी तयारी गर्दैछौँ। भटाभट बिरामी भेटिन थाले। धनगढीमा भेटिएको बिरामीलाई अस्पतालमा पानी खुवाउने मान्छे पनि छैनन्। यो अवस्थामा कसरी हटाउने ?

महामारीको सङ्केत देखिएपछि त्राशको भावना पनि पैदा हुने नै भयो। अर्को, चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षाको कुरा पनि छ। त्यस खालका लगाउने उपकरण, औषधि, किटको अभावका कारण पनि त्यस्तो भइरहेको छ। भोलि नै आउनासाथ सबै ठाउँमा पठाउँछौँ। 

अर्को, स्थानीय जनप्रतिनिधि जो हुनुहुन्छ, जनताका प्रतिनिधि भएका हुनाले त्यस्ता कुरा समाधान गर्नका लागि त्यो समस्याप्रति सहानुभूति देखाएर उपचारमा सहयोग गर्न भूमिका खेल्नुपर्छ। हामीले आह्वान गरेका छौँ– हरेक राजनीतिक पार्टीहरू– म सम्बन्धित दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू, नेपाली कांग्रेसका कार्यकर्ताहरू, अरु राजनीतिक दलका कार्यकर्ताहरू सबैले एकताबद्ध भएर यो समस्यामा परेका नागरिकलाई सहयोग पुर्‍याउन उद्धारमा लाग्नुपर्छ। 

चिकित्सा क्षेत्रमा रहनुभएका साथीले पनि यसमा लाग्नुपर्छ। आजसम्म चिकित्सक र स्वास्थ्य क्षेत्रका कर्मचारीले जस्तो भूमिका खेल्नुभो। त्यो भूमिकाका लागि म प्रशंशा पनि गर्न चाहन्छु। हामी सबै मिलेर समस्या समाधान गर्नुपर्छ भन्ने सोचबाट हामी निर्देशित हुनुपर्छ। त्यो घटनाबारे तपााईंले मलाई जानकारी दिनुभो। म त्यहाँको अस्पताल, त्यहाँका प्रतिनिधि साथीसँग सम्पर्क गर्छु। हामी त्यस्तो हुन दिन्नौँ।

अहिलेसम्मको तयारीले देशभरिमा एकसाथ कति जनासम्म बिरामी भेटिए भने उपचार गर्न सक्ने अवस्था छ ?

अहिले म जुन ठाउँमा छु, यहाँबाट ठ्याक्कै यति जना बिरामी भए भने हामी गर्न सक्छौँ भन्ने भन्दा पनि मैले अघि बताएँ– ‘डेडिकेटेड’ अस्पतालको आवश्यकता पर्छ। हाम्रोमा ल्याबको समस्या थियो। ल्याब काठमाडौंको टेकुमा मात्र थियो।पोखरा, नेपालगञ्ज र धरानमा केही पूर्वाधार थिए, त्यो पूर्वाधारमा केही जोड दिँदा स्थापना भएको हुनाले हामीले त्यो ठाउँमा ल्याब स्थापना गर्ने , यसका लागि दुई–चार दिन समय लाग्न सक्छ। 

त्यो नहुञ्जेल ‘ल्याब टेस्ट’ का लागि संकलन गरिएका नमूना ल्याउन पूर्वमा बिराटनगर, पश्चिममा नेपालगञ्ज र धनगढीसम्म हामी दैनिक एक उडान गर्दैछौँ। ती विशेष उडानले टेष्ट गर्नुपर्ने ती नमूना स‌ंकलन गरेर ल्याउँछन्। टेकुमा परीक्षण हुन्छ। हामी यो अवस्था धेरै दिन रहन दिन्नौँ। जति सकिन्छ चाँडो पोखरा, नेपालगञ्ज र धरानमा ल्याब टेस्टको व्यवस्था गर्छौं। सातै प्रदेशमा यस्ता ल्याब स्थापना गर्ने हाम्रो योजना छ। त्यसअनुरुप हामी जोरजाम गर्दैछौँ। 

भोलिदेखि पीपीई नै नहुने, उपचार गर्न डाक्टर नै डराउने अवस्था रहन्न ?

हामी आउनासाथ नेपाल एयरलाइन्सको कार्गो जहाज पठाएका छौँ। त्यहाँबाट हाम्रो अहिलेसम्मको क्यालकुलेशनमा भोलि ‘फस्टआवर’ (पहिलो प्रहर) मै सामान आइपुग्छ। आउनासाथ हामी बुझेर विमानस्थलबाटै सम्बन्धित प्रदेशहरूमा पठाउँछौँ। मुख्यमन्त्रीजीहरूलाई जिम्मा लगाउँछौँ। त्यो सामग्रीको अधिकतम उपयोग गर्ने क्रम सुरु हुन्छ। 

प्रतिपक्ष लगायत सरकारका आलोचकहरू भन्दै छन्– सरकारले गफ धेरै गर्‍यो, काम चाहिँ गरेन ? के भन्नुहुन्छ ?

उहाँहरूले टिप्पणी गर्न पाउनुहुन्छ। उहाँहरूलाई जे लागेको छ भन्न पाउनुहुन्छ। मेरो कुनै प्रतिक्रिया छैन। तर, हामी जे बोल्दै छौँ, गर्नका लागि बोल्दैछौँ। बोलेअनुसार काम गर्नका लागि हामी पहल प्रयत्न गर्दैछौँ। हामीले यसबीचमा जे गर्‍याैँ या गर्न खोज्दै छौँ, त्यो जस्ताको तस्तै तपाईंलाई बताएको हो। हामी यी भनिएका कामहरू गर्छौँ। हामीले उच्च स्तरीय समन्वय समितिको तर्फबाट बेला–बेलामा जे निर्णय गरेका छौँ, ती सार्वजनिक गरेका छौँ। सार्वजनिक गरिएअनुरुप ती काम गर्दैछौँ। म सबैलाई के भन्न चाहन्छु भने यतिबेला यो महामारीविरुद्ध लड्नु सत्तापक्षको मात्र काम होइन। सत्तापक्ष, प्रतिपक्ष, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेशागत सङ्गठन, सबैको साझा काम हो। हामी सबै मिलेर सभ्यताको विरुद्ध, मानवताको विरुद्ध, अहिलेसम्म प्राप्त भएको समृद्धि र विकासको विरुद्धमा देखापरेको यो संक्रमणविरुद्ध लड्नु पर्छ। यो संक्रमणको विरुद्धमा लड्नु भनेको समृद्धिको रक्षा गर्ने, सभ्यताको रक्षा गर्ने, मानवताको रक्षा गरी मानव जातिको हितमा उभिने कुरा हो। त्यसकारण हामी सबैको कर्तव्य हो। 

यतिबेला हामीले लकडाउन र बन्द–बन्दीको कुरा गरिरहँदा यो सरकारले कुनै ‘इमर्जेन्सी’ को कुरा गरेको होइन। यो कुनै राजनीतिक उद्देश्यद्वारा अभिप्रेरित भएर होइन, हामी हरेकको आफू सुरक्षित हुनु भयो भने तपाईंले अरुलाई पनि सुरक्षित राख्न सक्नुहुनेछ। देशलाई सुरक्षित बनाउन सक्नुहुनेछ भन्ने आह्वान गरिरहेका छाैं। यो कुनै करबलबाट होइन, हामी आफैँले पूरा गर्नुपर्ने काम हो। 

बेलायती युवराज चार्ल्स, प्रधानमन्त्री बोरिश जोन्सन लगायत संसारका शक्तिशाली देशमा मन्त्रीले आफूमा कोरोना भाइरस संक्रमण देखिएको घोषणा गरेका छन्। कसैमा संक्रमण देखियो भने उनीसँग सानिध्यता भएका व्यक्तिले तत्काल परीक्षण गर्छन् वा क्वारेन्टाइनमा बस्छन्।

हाम्रो सरकारले कोरोना भाइरस संक्रमित व्यक्तिको नाम र वतन गोप्य राख्नुको कारण के हाे? 

यो ठूलो कुरा पनि होइन। प्रभावित भएका व्यक्तिलाई गोप्य राख्नुपर्छ भन्ने जरुरी होइन। तर, प्रारम्भमा यसलाई चाहिनेभन्दा बढी संवेदनशील बनाएर चित्रण गरिएको हुनाले व्यक्तिको इच्छामा पनि भर पर्छ भन्ने हिसाबले सोचेर बनाइएको हुनसक्छ। व्यक्तिको नाम सार्वजनिक गर्न पनि सकिन्छ। यो ठूलो कुरा होइन, गर्न सकिन्छ। 

सरकारले विदेशबाट आउने उडान रोक्ने निर्णय गरेपछि पनि त्यो मिचेर विमान अवतरण गरे, हैन ?

अब त्यो समस्या हल भो। हामीले हिजोमात्र केही विदेशी पर्यटक नेपालका विभिन्न ठाउँमा हुनुहुन्थ्यो। हामीले ल्याएर उहाँहरूले आफ्नो व्यवस्थामा आफैँ आफ्नो मुलुक जान्छौँ भनिसकेपछि उहाँहरूको योजनामा केही विशेष उडानलाई अनुमति दियौँ। ती पर्यटकहरू विशेष विमानबाट आफ्नो मातृभूमि फर्कनुभएको छ। अझै केही बाँकी हुनुहुन्छ। उहाँहरू पनि त्यसै गरी फर्कनुहुन्छ। 

खाद्यान्न, औषधि, फलफुल–तरकारीजस्ता वस्तुको सहज उपलब्धताको बन्दोबस्त कसरी गर्ने ? कालाबजारी सुरु भयो भन्ने सरकारलाई जानकारी छ हैन?  

हाम्रो लडाइँ तीन वटा क्षेत्रमा हो। पहिलो, उपचारको प्रसंग। दोस्रो, वितरण र आपूर्तिको कुरा। तेस्रो, शान्तिसुरक्षाको विषय हुन्छ। पहिलो, उपचारको सन्दर्भमा गाँसिएको कुरा के छ भने क्वारेन्टाइनको चरण हुन्छ। क्वारेन्टाइनमा रहने चरणमा पनि अवधारणा नै प्रष्ट नभएको अवस्था थियो। क्वारेन्टाइन पनि निश्चित मापदण्डको आधारमा मात्र स्थापित गरिनुपर्छ। त्यसै क्वारेन्टाइन भनेर मात्र त हुँदैन। सबै ठाउँ सबै स्थानीय तह र प्रदेश तहमा क्वारेन्टाइन स्थापित गर्नुस्। त्यो गरिसकेपछि यो मापदण्डमा स्थापना गर्नुस्। त्यो मापदण्ड पूरा गरेका मात्र क्वारेन्टाइनका रुपमा रहने छन्। त्यो क्वारेन्टाइन मापदण्डविपरीत नगर्नुस् भनेर हामीले निर्देशन पठाएका छौँ। त्योभन्दा पहिला त बुझाइमा पनि एकरुपता थिएन। दोस्रो, केही समस्या देखिएपछि ‘आइसोलेसन’मा लैजानुपर्छ। तेस्रो, संवेदनशील उपचारको कुरा हो। जब समस्या देखिन्छ, त्यसपछि ‘डेडिकेटेड हस्पिटल’ ‘क्रिटिकल ट्रिटमेन्ट’ का लागि हो।

‘आइसोलेसन’का लागि नीजि क्षेत्रका अस्पताल, मेडिकल कलेजका सञ्चालकलाई पनि हामीले अनुरोध गरेका छौँ– तपाईंहरू आफ्नो अस्पताललाई अरु केही नभए पनि क्वारेन्टाइन सेन्टरका लागि  हामीलाई प्रयोग गर्न दिनुस् भनेर। ‘आइसोलेटेड बेड’ का लागि हामी प्रयोग गर्न चाहन्छौँ, त्यो उपलब्ध गराउनुस् भनेका छौँ। उहाँहरूको सकारात्मक प्रतिक्रिया पाएका छौँ। चाँडै नै नीजि अस्पताल र मेडिकल कलेजलाई समेत यो काममा प्रयोग गर्छौँ– क्वारेन्टाइन सेन्टरका रुपमा, ‘आइसोलेसन बेड’ हरू बनाउन पनि प्रयोग गर्छौँ। 

जहाँसम्म ‘क्रिटिकल ट्रिटमेन्ट’ को कुरा छ, विभिन्न अस्पतालमा बाँडेर १० जना त्यहाँ, पाँच जना त्यहाँ गरेर हुँदैन। ‘क्रिटिकल ट्रिटमेन्ट’ डेडिकेटेड अस्पतालमै गर्नुपर्छ। त्यो हामी गर्छौँ। कतिपय समाजसेवी हुुनुहुन्छ– म महावीर पुनजीको पनि नाम लिन चाहन्छु, उहाँ जस्ता व्यक्तिले पनि, सामाजिक संघसंस्थाले पनि यो महामारीविरुद्ध जुध्नका लागि आफ्नो तर्फबाट पहल प्रयत्न गर्नुभएको छ। त्यो प्रशंशनीय छ। राज्यको तर्फबाट त्यस्ता पहल र प्रयत्नलाई के सघाउनुपर्छ, हामी सघाउन तत्पर छौँ। 

आजमात्र नीजि क्षेत्रका उद्यमी व्यवसायीले स्वास्थ्य मन्त्रालयलाई केही मास्क र पीपीई उपलब्ध गराएको छ। अरु यस्ता व्यक्तिले पनि गराउनुभएको छ। यो सरकारले घोषणा गरेको कोषमा पनि केही सहयोग गर्न खोज्नुभएको छ। यो भावनालाई म उच्च सम्मान गर्न चाहन्छु। सबैको साथ समर्थनबाट नै सरकारले नेतृत्व गर्दै अविभावकीय भूमिका खेल्दै यो समस्यासित जुध्ने छ। 

म फेरि भन्न चाहन्छु– यो लडाइँ सभ्यताको रक्षाको लागि हो। मानवताको रक्षाको लागि हो। हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धिको रक्षा गर्नका लागि हो। समृद्धि जो प्राप्त गरेका छौँ, यसको रक्षाका लागि हो। त्यसैले हामी सबै मिलेर लड्नुपर्छ।

यस क्रममा अग्रपंक्तिमा उभिएर खट्नुहुने हाम्रा चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू जसले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ, सबैलाई विशेष सम्मान गर्न चाहन्छु। 
 

प्रकाशित मिति: : 2020-03-29 07:46:57

प्रतिकृया दिनुहोस्