कुनै पनि नयाँ रोगको उत्पत्तिको कारण, मानिसमा त्यसले पार्ने प्रभाव र रोगहरूको समयमा नै निदान गर्ने उपायको सवालमा चिकित्सा मानवशास्त्रको क्षेत्रमा प्राज्ञिक चर्चा परिचर्चा भई नै रहन्छ । चिकित्सा मानवशास्त्र अन्तरविषयगत ज्ञान निर्माणको दर्शनलाई पछ्याउने विषय भएकाले पनि यस विषयका अवधारणा समाज विज्ञान, स्वास्थ्य विज्ञान तथा चिकित्सा विज्ञानका अवधारणामा आधारित भएर निर्माण भएको हुन्छ । चिकित्सा मानवशास्त्रले रोगहरूको उद्विकासवादी अवधारणाको चर्चा गर्दा चिकित्सा इतिहासकारले गरेको अनुसन्धानलाई सापटी लिँदै ज्ञान निर्माणको दायरा फराकिलो बनाउँदै लगेको देखिन्छ ।
सन् १९६२ मा नै पृथ्वीबाट संक्रामक रोगहरूलाई अन्त्य गर्न सकिने खालका सोचलाई चिकित्सा मानवशास्त्रले विवेचना गर्दै आएको छ । त्यसताका नोबल पुरस्कार विजेता अस्ट्रेलियन भाइरोलोजिस्ट सर म्याक फ्यारलेन ब्रनेटले बीसौँ शताब्दीको मध्यसम्ममा पृथ्वीबाट संक्रामक रोगको अन्त्य हुने घोषणा गरेका थिए । म्याक फ्यारलेनले घोषणा गरेको केही समयपछि नै अर्का अमेरिकी चिकित्सक जेस्सी स्टिनफेल्डले सन् १९६९ मा नै संक्रामक रोगका बारेमा लेखिएका किताबहरू थन्क्याएर राख्ने वेला भइसकेको बताएका थिए ।