कम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशकाले जस्तै सुरक्षात्मक सामग्री पाउनुपर्छ: डब्लुएचओ

एजेन्सी

काठमाडाै‌ं

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पीपीईको अभाव गम्भीर बनेको बताएको छ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पीपीई) उत्पादनका लागि शुक्रबार पुनः अपिल गरेका छन्।

जेनेभामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘विश्वभर भइरहेको पीपीईको अभाव अहिलेको सबैभन्दा ठूलो र तत्कालीक चुनौति हो। यसले गर्दा जीवन रक्षा गर्ने हाम्रो संयुक्त प्रयासमा धक्का लाग्ने जोखिम बढेको छ। कम तथा मध्यम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशका स्वास्थ्यकर्मीले जस्तै सुरक्षात्मक सामग्री पाउनुपर्छ।’

यस्तै उनले कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिएका छन्। 

डब्लुएचओका आपतकालीन अवस्था सम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले विश्व अनिश्चित भविष्य तर्फ लागेको बताए। उनले भने, ‘विश्वका धेरै देशहरुमा यो महामारी चक्रको सुरुवात मात्रै भएको देखिँदै छ। केही देशहरु यो महामारीको चक्रबाट गुज्रिएका छन्, सिंगापुर र चीन। यी देशहरुमा रोग पुनः नफैलियोस् भन्ने छ।’

कोरोना भाइरसका कारण हुने जोखिम वृद्ध तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हुने भए पनि ५० वर्षमुनिका १० देखि १५ प्रतिशत व्यक्तिमा पनि मध्यम तथा गम्भीर संक्रमणको जोखिम रहेको डा. रायनले बताए।

वयश्यकहरुमा भएको संक्रमणबारे गरिएको प्रश्नमा उनले भने, ‘अधिकांश वयश्यकमा यसको अति कम संक्रमण देखिएको छ। तर २० देखि ६० वर्षका केही सीमान्तकृत व्यक्तिहरुमा भने संक्रमण अधिक छ।’

प्रकाशित मिति: : 2020-03-28 20:50:24

प्रतिकृया दिनुहोस्