शुक्रबार नेपालमा चौथो व्यक्तिमा कोरोना भाइसरको संक्रमण फेला परेको छ। धनगढीका ३४ वर्यीय युवामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
चैत ७ गते दुबईबाट दिल्ली हुँदै नेपाल फर्किएका उनी काठमाडौँबाट नेपालगञ्जसम्म बुद्ध एयरको उडानबाट र नेपालगञ्जबाट धनगढीसम्म बस चढेर गएको खुलासा भएको छ।
धनगढीस्थित घर पुगेलगत्तै उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
सोही दिन उनको स्वावको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो।
काठमाडौं नेपालगञ्ज हवाई यात्रा र त्यसपछि नेपालगञ्ज धनगढीसम्म बसको यात्रा गरेका कारण उनीबाट अरु धेरै व्यक्तिमा पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा बस्दा उनको परिवार र नातागोतासँग सम्पर्क भएको थियो । शुक्रबारसम्म उनको परिवारका कुनैपनि सदश्य आइसोलेसनमा बसेका छैनन् ।
सेती प्रादेशिक अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।