बिरामीलाई भर्ना लिन किन मान्दैनन् निजी अस्पताल?

काठमाडौंप्रेस

काठमाडाै‌ं

कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेका बेला नेपालमा पनि त्यसबाट अछुतो रहन सकेको छैन। नेपालमा अहिलेसम्म तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोनाको संक्रमणको आशंकामा स्वास्थ्य परीक्षणका लागि धेरै बिरामी अस्पताल पुग्ने गरेका छन्।

तर, निजी अस्पतालहरुले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्ने सामान्य ज्वरो आएका बिरामीको समेत भर्ना लिन मानेका छैनन्। कोरोनाको महामारी रोक्न अस्पतालहरु थप्नु पर्ने बेलामा काठमाडौं उपत्यका लगायत देशभरका ठूला निजी अस्पतालहरुले कोरोनाको आशंकामा अस्पताल परीक्षणाका लागि पुग्ने बिरामीको उपचार गर्न आनाकानी गर्दै आएका छन्।

यसले राज्यको सुविधा लिएर खुलेका निजी अस्पतालहरु सेवामा भन्दा पनि नाफा कमाउनमा मात्रै लिप्त छन् भन्ने देखाएको छ। राजधानीका ग्राण्डी, मेडिसिटी, नर्भिक लगायतका निजी अस्पतालहरूले कोरोनाको लक्षण देखिएका बिरामीको भर्ना लिन र स्वास्थ्य परीक्षण गर्न मानेका छैनन्। 

कोरोनाको जोखिम बढेको भन्दै सरकारले एक साताका लागि लकडाउन गरेको छ। कोरोनाको परीक्षण गर्ने काम भइरहेको छ। तर, यो बेला निजी स्वास्थ्य संस्थाले भने आफ्नो दायित्व भुलेका छन्। उनीहरुले कोरोना जाँच गर्ने त परको कुरा हो सामान्य ज्वरो र रुघा लागेका बिरामीलाई समेत जाँच गर्न नमानेको गुनासो बढिरहेको छ।

संकटको घडीमा नेपालका निजी अस्पताल बिरामी छानीछानी उपचार गरिरहेका छन्। यतिबेला मौसमी रुघाखोकी र ज्वरो (मौसमी फ्लु) समेत हुने समय हो। तर, त्यस्ता बिरामी समेत निजी अस्पतालले हेर्न मानेका छैनन्। ज्वरो र रुघाखोकीका बिरामीलाई अपवादबाहेक हेर्न नै छाडेका छन्।

केही निजी अस्पतालले वृद्ध अवस्थाका ज्येष्ठ नागरिकको त निमोनिया तथा श्वाश प्रश्वासका बिरामीको समेत उपचार गर्न छाडेका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भन्छन्, 'निजी अस्पतालहरूले पहुँच नभएका बिरामीहरूलाई गेटबाटै फर्काउने गरेका छन् भन्ने गुनासो आएको छ। यस्तो संकटका बेला सबै अस्पतालहरूले पालना गर्नुपर्ने साझा प्रोटोकल बनाएर कडाइपूर्वक लागु गर्नु पर्छ। जीवनको मूल्य कथित सानाठूला सबैको बराबर हो। चिकित्साकर्मीको सुरक्षामा पनि ध्यानपुगोस्।'

 

प्रकाशित मिति: : 2020-03-28 11:26:06

प्रतिकृया दिनुहोस्