पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली र तस्कर समूहबीच दोहोरो गोली हानाहान भएको छ। तस्कर समूहले चलाएको गोली लागेर नेपाली सेनाका एकजना जमदार घाइते भएका छन् भने तस्कर समूहका एक जनाकाे मृत्यु भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी उपसचिव विष्णुप्रसाद श्रेष्ठले तस्करको समूहले गस्तीमा रहेको नेपाली सेनामाथि फायरिङ गरेपछि सेनाले पनि फायरिङ खोलेको गरेको बताए।
‘घटना आज बिहान ९ः१० बजेको बीचमा भएको हो। नेपाली सेनाको टोली पुग्ने बित्तिकै त्यहाँ रहेका तस्करको समूहले गस्ती टोलीमाथि फायरिङ गरेपछि सेनाले पनि फायरिङ गरेको हो,’ श्रेष्ठले भने।
उनका अनुसार एकजना घाइते भएकै अवस्थामा समातिएका छन् भने अन्य भाग्न सफल भए। पक्राउ पर्नेमा तस्करको समूहका मोहनसिंह दोङ रहेका छन्।
सेनाले उनीहरूको साथबाट दुईथान भरुवा बन्दुक बरामद गरेको छ। बन्दोवस्तीका आवश्यक सबै सामानहरू लिएर शिकारकै लागि गएको देखिने सूचना अधिकारी श्रेष्ठ बताउँछन्।
मृतकको सनाखत भएको छैन।अहिले त्यहाँका प्रमुख संरक्षण अधिकृत, नेपाली सेनाका कमाण्डरसहितको टोली घटनास्थलमा नै छन्।