कोरोना त्रास: पर्सामा ‘क्वीक रेस्पोन्स टीम’, दैनिक उपभोग्य सामानको बिक्रीका लागि तोकियो समय

कोराना भाइरसको जोखिम बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि पर्सामा ‘क्वीक रेस्पोन्स टिम’ बनाइने भएको छ।

बिहीबार साँझ पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले ‘क्वीक रेस्पोस्स टीम’ बनाउने निर्णय गरेको हो।

नारायणी अस्पतालका मेडिकल अधिकृतको संयोजकत्वमा बन्ने टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य सम्बन्धी हेर्ने अधिकृत तथा नारायणी अस्पतालका नर्सिङ अधिकृत सदस्य रहनेछन्।

कोरोनाको रोकथाम तथा पूर्वतयारी प्रभावकारी बनाउने, कसैमा कोरोनाको संक्रमण देखिएमा तथा संक्रमणको आशंका भएमा उनीहरुको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले क्वीक रेस्पोन्स टीम बनाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

यस्तै कोरोनाका शंकास्पद व्यक्तिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न कुल बेड संख्याको १० प्रतिशत बेड उपलब्ध गराउन पर्साका सबै निजी अस्पतालहरुलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाइ छ।

दैनिक उपभोग्य सामानको बिक्रीका लागि समय तोकियो

यस्तै बैठकले खाद्यान्न, ग्यास लगायतका अत्यावश्क वस्तुहरुको ढुवानी राति ९ बजेदेखि विहान ७ बजेको समयभित्र गर्न लगाउने निर्णय गरेको छ। बैठकले निर्णय गरेपछि शुक्रबार बिहान ९ बजेसम्म वीरगञ्जमा तरकारी बजार खुलेको र तरकारी सहज रुपमा उपल्बध भएको वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले जानकारी दिए।

यस्तै ग्यासको अभाव भएको भन्ने गुनासो आएपछि आपूर्ति सहज बनाउन नेपाल आयल निगम शाखा कार्यालय, वीरगञ्जलाई हरेक दिन जिल्लाका ग्यास उद्योगहरुलाई वितरण गरिएको ग्यासको विवरण उपलब्ध गराउन लगाउने निर्णयसमेत बैठकले गरेको छ।

ग्यासको बिक्रीको समय विहान ११ बजेदेखि ३ बजेसम्म तोकिएको छ।

प्रकाशित मिति: : 2020-03-28 04:04:33

प्रतिकृया दिनुहोस्