सुनसान जुम्ला बजार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास कम गर्न जुम्ला  ‘लकडाउन’ गरेपछि मुख्य बजार सुनसान छ। विपद् व्यवस्थापन समितिले सोमबारदेखि लागू हुने गरि निर्णय गरेपनि सर्वसाधारणको घुइचो नरोकिदा प्रशासनले माइकिङ गरेर सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक बाहिर निस्कन रोक लगाएको हो। 

प्रशासनले बिहान छदेखि नौ बजे तथा साँझ चार देखि सात बजेसम्म अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने पसल मात्र खोल्न आग्रह गरेपछि जुम्ला सदरमुकामको मुख्य बजार क्षेत्रमा  सर्वसाधारणको आवाधी घटेको छ।

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी सवारी साधन बन्द रहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। ‘ठाउँठाउँमा सुरक्षाकर्मी खटाइएको छ, माइकिङ भइरहेको छ। अत्यावश्यक काममा बाहेक अन्यलाई हिंडडुल गर्न रोक लगाएका छौं,’ उनले भनिन, ‘हवाइ सेवा पनि बन्द छ भने बजार पनि बिहान बेलुका आंसिक रुपमा बाहेक अन्य समयमा बन्द छ।’

यसरी मुख्य बजार सुनसान भएपनि बजार आसपासका र जिल्लाका सहायक बजार भने खुल्ला छन्। जुम्लाको तातोपानी, कुडारी, नाग्म, नराकोट, गोडिजिउला, उर्थु, डिल्लीचौर लगायतका साना बजारमा ‘लकडाउन’ प्रभाव कम रहेको छ। भने गाउँमा चहलपहल बढेको छ। भारतबाट आउनेहरुसँगै कारोना भित्रिएको हुन सक्ने त्रास भएपनि आउने क्रम घटेको छैन।

जुम्लामा पछिल्लो एक हप्तामा कर्णाली राजमार्ग हुँदै जिल्लामा भित्रनेको संख्या बढेको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार यो हप्ता एक हजार एक सय एकचालीस जना भित्रिएका छन्।
 

प्रकाशित मिति: : 2020-03-25 23:03:40

प्रतिकृया दिनुहोस्