टेलिकम कम्पनीले २ सयसम्म ब्यालेन्स सापटी र सस्ताे डाटा दिन पाउने

बिएल संवाददाता

काठमाडाै‌ं

दूरसञ्चार कम्पनीहरुले आफ्ना ग्राहकलाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई सहज बनाउन यो सापटीको सीमा बढाउन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको हो।

प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। हाल नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन्।

उनका अनुसार दूरसञ्चार कम्पनीहरुलाई पत्र पठाइसकिएको छ। ‘२ सयसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘बढीमा एक महिनासम्मको लागि यस्तो व्यवस्था गरिएको छ।’

यस्तै, दूरसञ्चार कम्पनीहरुले विभिन्न डाटा प्याकेज घोषणा गर्न सक्ने खनालले जानकारी दिए। यसको लागि प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था सञ्चालक समितिले गरेको छ।

यसअघि सेवा प्रदायकहरुले कुनै डाटा वा भ्वाइस प्याक बनाउनु अघि प्राधिकरणबाट स्वीकृत गर्नुपर्ने व्यवस्था थियो।
 

प्रकाशित मिति: : 2020-03-25 06:45:15

प्रतिकृया दिनुहोस्