सिरहाका रोमा कान्तले दुई दशकदेखि काठमाडौंको नयाँ बानेश्वरमा खाना र खाजा खाने पसल चलाउँदै आएका छन् । उनको पसलको नाम हो– लुम्बिनी तन्दुरी तथा भोजनालय ।
डेढ महिनाअघिसम्म उनले दैनिक तीन सयभन्दा बढी मान्छेलाई खाना तथा खाजा खुवाउँथे । अहिले उनको पसल सुनसानप्रायः छ ।
केही दिनअघि सरकारले कोरोना भाइरस संक्रमणबारे सचेतना सूचना जारी गर्दै घरबाहिरको खानेकुरा नखान सर्वसाधारणलाई आग्रह ग¥यो । त्यसपछि रोमा कान्तको पसलमा पनि ग्राहक घटे । उनले भने, ‘अहिले त ५०–६० जना पनि खाना खान आउनुहुन्न ।’
उनको पसलमा नौ जना कामदार छन् । उनी र उनकी पत्नी त्यही पसलमा काम गर्छन् । पसलबाटै परिवार धान्दै आएका रोमकान्तले चिन्ता व्यक्त गरे, ‘सटरको भाडा र कर्मचारीलाई कसरी तलब दिने ? मेरो मनमा पीर लागिरहन्छ ।’
डेढ महिनाअघिसम्म ग्राहक नै ग्राहकले भरिएको हुन्थ्यो उनको पसल । बिहान आठ बजेदेखि राति १० बजेसम्म खाना र खाजा खुवाएर भ्याउँदैनथे । ‘सरकारले बाहिरको नखानू भनेर सर्वसाधारणलाई आग्रह गरेको छ । अब अनि हामी चाहिँ के खानु’, उनले बिएल नेपाली सेवासँग गुनासो गरे, ‘अब यस्तै हो भने सटर बन्द गरेर बस्नुपर्ने हुन्छ, कोही आउँदैनन् ।’
कोरोनाका त्राशले व्यापार घटेको छ तर पनि उनको मन आत्तिएको छैन । ‘नेपालमा कोरोना आइहाल्यो भने पनि त्यत्ति डराउनुपर्ने अवस्था छैन, आफनो सुरक्षा आफैँ गर्न सक्नुपर्छ’, उनले भने।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित हुँदै गएको छ । विद्यालय, कलकारखाना, बजार सबै बन्द हुन थालेका छन् । राजधानीमा विभिन्न पेशा गरेर बस्नेहरू ठूलो संख्यामा राजधानी छाडेर बाहिरिएका छन् । राजधानीका सडक, बजार सबै सुनसान बनेका छन् ।
नयाँबानेश्वरकै अर्का खाजापसले नारायण पोखरेलको पनि व्यवसाय चौपट भएको छ । पोखरा स्थायी घर भएका पोखरेलले पनि १९ वर्षदेखि ‘पोखरेली लुम्बिनी तन्दुरी तथा भोजनालय’ सञ्चालन गर्दै आएका थिए ।
‘रेष्टुराँ खोलेको पनि १९ वर्ष बित्यो, सुरुवाती वर्षमा पनि यस्तो अवस्था आएको थिएन’, पोखरेलले भने, ‘आजकाल कोरोनाको कारण दिनमा ५०–६० जना पनि ग्राहक हुन्नन् । अब व्यापारमा धेरै नै घाटा हुन थालेको छ ।’
व्यापार नभए पनि पसल खोल्न चाहिँ छाडेका छैनन् उनले । ‘पसल नखोले के गर्नु, अरु काम छैन । जानेको काम यही हो’, उनले विएल नेपाली सेवासँग भने, ‘एक महिनाअघिसम्म ग्राहकले बस्ने ठाउँ मिलाउन गाह«ो थियो, आजकल जता पनि खाली छ ।’
ग्राहक घटे सँगै कोरोनाको संत्राश बढेको छ । उनी कोरोना अझ फैलिएमा भोजनालय बन्द गर्न पनि मानसिक रुपमा तयार छन् । आफूलाई पनि कोरोनाको डर लागेको बताउँदै भने, ‘कोरोनाकै डरले यत्रा मान्छे राजधानी छाडेर गइसके । स्कुल–कलेज पनि बन्द ग¥यो सरकारले । यो सर्तकता अपनाएर गरेको हो कि सूचना लुकाएको हो ? म छक्क छु ।’
मनमा कोरोनाको संत्राश त छ नै, सँगसँगै व्यापारमा घट्दै आएको अवस्थादेखि दिक्क छन् उनी । ‘अब सटरको भाडा र कर्मचारी तलब कहाँबाट ल्याएर तिर्नु ?’, उनले अप्ठेरो अवस्था बताए ।
एक वर्षअघि नयाँ बानेश्वर, थापागाउँमा खाजा पसल खोलेका थिए– काभ्रेका प्रदीप खड्काले । पहिलो वर्षबाट नै ग्राहकको पहिलो रोजाइमा परेको थियो– उनको नमस्ते क्याफे एण्ड रेष्ट्रो ।
उनको खाजा र खाना व्यवसाय पनि दिन–प्रतिदिन घटेको छ । ‘दैनिक पाँच सयभन्दा बढी मान्छे खाना आउनुहुन्थ्यो’, खड्काले भने, ‘हिजोआज त दिनभरिमा सय जना पनि आउनुहुन्न ।’
कोरोनाले भन्दा पनि मानिसलाई मनको डरले कमजोर पारिसकेको छ । ‘कोरोना कुनै महामारी हैन, सर्तकता अपनाउनुपर्छ । सब ठिक हुन्छ’, खड्काले आफूलाई निर्धक्क देखाउँदै भने, ‘म पनि डराएको छैन । जिन्दगीमा एक चोटी मर्नु नै छ ढिलो चाडो न हो किन डराउनु !?’
उनको पसलमै काम गर्ने दुई जना कामदार पनि डरका कारण छाडेर गइसकेका छन् । ‘पहिला हामी छ जना थियौँ, अहिले चार जना भएको छौँ’, उनले भने, ‘दुई जनाले छाडेर पनि गइसके । ग्राहक छैन, व्यापार हँुदैन कसरी दिऊँ तलब ?’
‘पहिला सेवा सँगै व्यापार हुन्थ्योे तर आजकाल सेवा गर्न मात्र बसेको जस्तो लाग्छ , कमाइ छैन’, उनले भने, ‘हामीलाई सरकारले आधा भाडा तिर्न सघाउँछ भने हामी पसल बन्द गर्न तयार छौँ ।’
नेपालमा अहिलेसम्म दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । दुबै विदेशबाट संक्रमित भएर नेपाल आएका व्यक्ति हुन् । संसारभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म करिब १५ हजारको ज्यान गइसकेको छ भने झण्डै साढे तीन लाख मान्छे बिरामी परिसकेका छन् ।