भारतीय सञ्चारमाध्यमको दावीमा सत्यता नभएको भन्दै नेपाली उद्योगी शिवकुमार रुगंटालाई कोरोना भाइरसको संक्रमण नभएको भतिजा आकाश रुगंटाले विभिन्न समाचारमाध्यमबाट पुष्टी गरेका छन्।
उनले बिहार राज्यको राजधानी पटनामा रहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (पिएमसिएच) ले दुई दिनअघि सार्वजनिक गरेको रिपोर्टको आधारमा शिवकुमार रुगंटामा कोरोनाको कुनै संक्रमण नभएको बताएका हुन्।
भारतीय सञ्चारमाध्यमले आइतबार शिवकुमारलाई कोरोनाको संक्रमण भएको पुष्टी गर्दै समाचार प्रकासित गरेपछि नेपालमा पनि यो समाचारले स्थान पाएको थियो। यद्यपि भारतीय समाचारमा शिवकुमारको ठेगाना भारत रक्सौलको बताइएको छ।
अस्पतालको रिपोर्टमा उनको उमेर ५२ वर्ष बताइए पनि उनको वास्तविक उमेर ६७ वर्ष हो भने उनी वीरगञ्ज आदर्शनगर निवासी हुन्।
उनको रगतमा कोरोना भाइरसको संक्रमण सकारात्मक भएको समाचार फैलिएसँगै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले परिवारका १८ सदस्यमध्ये १३ जनालाई घरभित्रै ‘क्वारेन्टाइन’ मा राखिएको बताएका थिए। यस्तै, अन्य ५ जनालाई पटनामा डाक्टरको निगरानीमा राखिएको बताइएको थियो।
पटनामा उपचार गराउनु पूर्व रुगंटाले ५ दिन रक्सौलस्थित नातामा साढुभाई पर्ने गोपिराम धनौरीयाको घरमा बिताएको र धनौरीयालाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको समाचार बाहिरिएको थियो।
रुगंटाको केही समयअघि दुवै मृगौला काम नलाग्ने भएपछि श्रीलंकामा प्रत्यारोपण भएको बताइएको छ।
गत साता आदर्शनगरस्थित आफ्नो फ्याक्ट्री चावोसति ग्रुपमा बसेको बेला एक्कासी ज्वरो आएपछि उनले आफ्नो नीजि चिकित्सकलाई चेकजाँच गराएको र चिकित्सककै सल्लाह मुताविक थप परीक्षणका लागि पटना पुगेका थिए।
उनलाई सुरुमा उपचारका लागि अस्पतालले भर्ना लिन नमानेको तर आफूले सत्तारुढ भारतीय जनता पार्टीका नेतालाई भनसुन गरेर भर्ना गराइदिएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले दैनिक पत्रिका अन्नपूर्ण पाेस्टमा बताएका छन्।
उनले आफ्नो आधिकारीक फेसबुक पोस्टमै लेखेका छन्, ‘रुगंटालाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ।’
उनले अन्नपूर्णलाई दिएको जानकारी अनुसार रुगंटाकै भाइले आफ्नो दाजुको संक्रमणको विषयमा सबै जानकारी दिएका हुन्।
‘भाई सुरेशले जानकारी गराएपछि मैले फेसबुक पोस्टमा सार्वजनिक गरेको हुँ,’ उनले भनेका छन्।