भोलिदेखि एक साताका लागि नेपालको सीमा नाका बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले सोमबारदेखि छिमेकी भारत र चीनका नाका एक सातका लागि बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि सोमबारदेखि लागू हुने गरी भारत र चीनसँगको सीमा नाका एक सातका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिए।

 यो निर्णसँगै अब दुवै देशसँगको नाकाबाट आवातजावत बन्द हुनेछ ।  सोमबार बिहान १० बजेबाट नाका बन्द गर्न गृह मन्त्रालयले नाका भएका जिल्लाहरूमा परिपत्र गर्ने तयारी गरेको छ।

यस्तै कोभिड १९ को महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मो्मिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको कोष खडा गर्ने निर्णय पनि भएको छ । उक्त कोषका लागि सबै मन्त्री १–१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बसेको हो।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो। चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको थियो। उनी अन्य मन्त्रीभन्दा करिव ३ मिटर टाढा बसेका थिए। अन्य मन्त्रीले सर्जिकल मास्कको प्रयोग गरे पनि प्रधानमन्त्री ओली बने बिना माक्स नै बैठकमा सहभागि भएका थिए। 

प्रकाशित मिति: : 2020-03-23 09:18:56

प्रतिकृया दिनुहोस्