नेपाल एयरलाइन्सको विमान चढी हङकङबाट शनिबार काठमाडौं आइपुगेका तीन जना नेपाली मूलका बेलायती नागरिकलाई त्रिभुवन विमानस्थलमै रोकेर राखिएको छ । दुई जना पुरुष र एक महिला २४ घन्टा बित्दा पनि विमानस्थलमै रहेका छन् ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार, ती यात्री शनिबार साँझ आइपुगेका हुन् । नाम र वतन गोप्य राखिएका नेपाली मूलका ती विदेशी नागरिकहरू अद्यागमन कार्यालयमै बसिरहेका छन् ।
‘नेपाल एयरलाइन्सका अधिकारीले उनीहरुलाई हङ्कङ फर्किन आग्रह गरिरहेका छन्’, स्रोतले भन्यो, ‘उनीहरू हामी उता फर्कन्नौ भनेर जिद्दी गरिरहेका छन् । क्वारेन्टाइन वा अन्यत्र कतै पनि पठाइएको छैन ।’