काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयर नाइन एन एएमजी कल साइन विमान आकस्मिक अवतरण गराइएको छ। आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए।
विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका छन्। दाहालका अनुसार विमानका क्याप्टेन तेन्जिङ लामा र सह क्याप्टेनमा पिडि शेर्पा थिए।
जहाजका दुवै इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो।
तारा एयरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो।
‘आकाशमै तारा एयरको जहाजसँग कुरा भएछ, त्यपछि तारा एयरकोले हामीलाई जानकारी दिए’ दाहालले भने ‘त्यसपछि हामीले सम्पर्क गर्यौं। तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गरायौं।’
एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो। अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए। तर जहाज सामान्य रुपमै अवतरण भयो।
दाहालले इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परीक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानबिन थालेको जानकारी दिए।
लुक्लाका लागि उडेका यात्रुहरुलाई तारा एयरको विमानले लिफ्ट गरेर गन्तव्यमा लगेको नागरिक उडड्यन कार्यालय रामेछापले जनाएको छ।