कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्नेको ह्वातै बढेको छ। गत बुधबार सरकारले उच्च सतर्कता अपनाउन भन्दै शिक्षण संस्था बन्द गरेपछि पछिल्ला तीन दिनमा काठमाडौं छोड्नेको संख्या बढेको हो।
कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ। चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन्।
सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने घोषणा गरिसकेको छ। उपत्यकाको सडकमा खचाखच हुने सवारी साधन गुड्न छाडेका छन् । मन्दिरमा भीड हुन छाडेको छ । सबै सार्वजनिकस्थलमा सुनसान छन्।
कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि सरकारले शैक्षिक सत्रको अन्तिम महिनामा हतारहतार वार्षिक परीक्षा लिइएको थियो भने माध्यमिक स्तरको एसईई परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो। लोकसेवा आयोग तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन गरिएको बताएका छन् । दाहालका अनुसार प्रहरीको विशेष टोलीले आजबाट अनुगमनलाई तीव्रत दिनेछ ।