कोरोना भाइरस विश्वयुद्व भन्दा पनि खतरनाक-गेसो, बेलायतमा एक पूर्वगोर्खाको मृत्यु

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) चीनबाट फैलिएर विश्वभर महामारीको रुप लिएको नोभल कोरोना भाइरससँग जोगिन उच्च सतर्ककता अपनाउन अपिल गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै गेसोले गोरखा सैनिकका बहालवाला र भूतपूर्व कर्मचारी रहेका बेलायत, सिंगापुर, हङकङ र ब्रुनाईसहितमा कोरोना भाइरस फैलिएपछि यस्तो आग्रह गरेको हो।

गेसोका केन्द्रीय अध्यक्ष कृष्णकुमार राईले शनिबार एक अपिल जारी गर्दै औषधिसमेत पत्ता नलागेको अवस्थामा देशविदेशका गोरखा सैनिक र अन्य नेपालीलाई बढी भन्दा बढी सतर्क रहन भनेका छन्।

 ‘विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसले विश्वलाई खतरामा पारेको सन्देश दिइसकेको छ’, विज्ञप्तिमा भनिएको छन्, ‘यो भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतरा रहेको कुरा विकसित देशकै विज्ञहरुले बोलिसकेको अवस्थामा तपाईँ हामीसँग सतर्कता अपनाउने बाहेक अर्को विकल्प छैन।’

यसैबीच कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ।

संखुवासभाको खाँदबारी नगरपालिका-१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो।

उनको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पूर्व गोरखा सैनिक राईको कोरोना संक्रमणबाटै मृत्यु भएको जानकारी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईले गराए।

राई यही साता मात्रै अस्पतालबाट घर फर्किएका थिए। तर मंगलबार अपरान्ह ४ बजेको समयमा स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई फेरि नर्थवीक पार्क अस्पताल लगिएको थियो। तर साँझ ८ बजेको समयमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे।

राईको निधनको तीन दिनपछि मात्रै अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए।

कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ।

संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरीमा बसोबास गरिरहेका उनी सन् २००८ मा बेलायत गएका थिए।

आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए। 

राई बेलायतमा श्रीमती र छोराबुहारीसहित बस्दै आएका थिए।

कोरोना संक्रमित भएर निधन भएपछि अहिले उनको परिवारलाई नै ‘आइसोलेसन’ मा राखेर निगरानी गरिएको छ। परिवार नै आइसोलेसनमा रहेकाले आफन्तहरुलाई भेट्न दिइएको छैन।

प्रकाशित मिति: : 2020-03-22 10:16:33

प्रतिकृया दिनुहोस्