सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन्। किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो।
चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको मिनीट्रकमा मट्टीतेल र पेट्रोल बरामद गरिएको हो।
मिनीट्रकमा २५० लिटर जाने पाँच र ५० लिटर जाने प्लाष्टिकका दुई ड्रम फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लले जानकारी दिनुभयो। प्रहरीले दुलाल र चालक श्रेष्ठको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २४३ लिटर मट्टीतेल दि मोडर्न एमनिटी सप्लायर्स बनेपाबाट एक हजार १०० लिटर पेट्रोल खरिद गरेको साधारण बिलसमेत फेला परेको छ।
उल्लेखित पेट्रोलियम पदार्थ, बिल र सवारी साधन रीतपूर्वक बरामद गरी किराना पसल सञ्चालन गर्ने दुलाल र सवारी चालक श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धानकार्य भइरहेको छ।