गगन थापाले अमेरिकामा भने- 'ढुक्क हुनुहोस्, दोहोरो नागरिकता पाइन्छ'

फोटो: कृष्णराज खनाल

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अमेरिकामा रहेका नेपालीलाई दोहोरो नागरिकताका बारेमा ढुक्क हुन आश्वस्त बनाएका छन्।

वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा 'एक्काइसौँ शताब्दीका लागि विश्वव्यापि नेतृत्व र सार्वजनिक प्रशासन' विषयक दुईहप्ते कोर्सका लागि आएका थापाले यस्तो धारणा राखेका हुन्।

नेपाली जनसम्पर्क समिति वोस्टन च्याप्टरले आयोजित हिमालयन विष्ट्रोमा आयोजित भेटघाट कार्यक्रममा यस्तो धारणा राख्दै उनले भने 'तपाईहरु यो कुरामा ढुक्क हुनुहोस्। तपाईहरुले दोहोरो नागरिकता पाउनुहुन्छ। कालान्तरमा राजनीतिक अधिकार दिन पनि सकिन्छ, यसबारेमा वहस आवश्यक छ।'

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा आवश्यकता परे आफू जुनसुकै पदमा पनि उम्मेदवार हुनसक्ने बताउँदै उनले अगाडि भने- 'म अहिले नै यो वा त्यो पद भनेर भन्दिन तर पार्टीको आवश्यकताअनुसार कदम चाल्छु।'

'पुरानो पुस्ताका नेताहरुले प्रजातन्त्र प्राप्तिका लागि गर्नुभएको योगदान अतुलनीय छ, एउटा चिठी लेखेको भरमा मन्त्री हुन पाउँने जमानामा उनीहरुले बरु १० वर्ष जेल बस्छु चिठी लेखेर मन्त्री हुन्न भने', उनको प्रश्न थियो- 'के त्यो प्रजातन्त्रको खातिर होइन र?'

उनले नेपालको विभिन्न क्षेत्रमा संस्थागत सुधार र लोकतान्त्रिक संस्कृतिको विकास हुनुपर्ने कुरामा पनि जोड दिएका थिए। थापाले अगाडि भने- 'कतिपय कुराहरु संविधानमा लेखेर मात्र नहुने रहेछ, त्यसलाई व्यवहारमा लागु गर्न संघर्ष र सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नहुने रहेछ।'

उनले अर्को एक प्रसंगमा भने 'हिजोको लोकतन्त्र र आजको लोकतन्त्रको विषयगत कुराहरुमा नै भिन्नता रहेको जनाउँदै देश बिग्रिएको, खत्तम भएको होइन यसलाई सकारात्मक वा नकारात्मक कुन कोणबाट हेर्ने हो त्यसमा भरपर्छ।' उनले तीन तहको सरकार चलाउन परिरहेको बाध्यता दर्शाउँदै त्यसका लागि हाम्रो सामर्थ्य विकास नभइसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने पनि बताए।

उनले पञ्चायत र वर्तमान सरकारको आलोचना गर्दै स्थिरता नभएर विकास नभएको हो भन्ने कुरा नै गलत हो भनेका थिए। स्वतन्त्रता र समानतासँग बाझिने गरी कुनै निष्कर्ष निकाल्न नहुने जनाउँदै थापाले भने 'हाम्रो समृद्धिको मोडल के हो यस विषयमा गम्भीर वहस गर्नुपर्छ, हामीसँग थुप्रै चुनौति छन् तिनलाई पनि सम्वोधन गर्नुपर्छ।'

हालै देशमा ठुलो तामझामका साथ आयोजित नेपाल लगानी सम्मेलनका बारेमा प्रतिक्रिया व्यक्त गर्दै उनले भने- 'लगानी सम्मेलन गरेर मात्र हुँदैन, मुख्य कुरा डरबाट बाहिर निस्कनुपर्छ।'

च्याप्टरका सभापति ध्रुव घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथिहरु विजय शर्मा, प्रल्हाद केसी, विष्णुमणि आचार्य, लोक लामा, अर्जुनजंग कुँवर, यादव दुलाल, सरिता ओली, राजेन्द्र थापा, दिनेश पाण्डेलगायतले संक्षिप्त मन्तव्य व्यक्त गर्दै सांसद थापालाई सुझाव दिएका थिए।

कार्यक्रममा थापालाई पशुपतिनाथ तथा बुद्ध स्तूपासहित वोस्टनमा निर्माण हुन लागेको सामुदायिक भवनको बारेमा पनि जानकारी गराइएको थियो।

प्रकाशित मिति: : 2019-04-04 21:44:36

प्रतिकृया दिनुहोस्