किर्तिम अभाव र कालोबजारीको डरले नुन, चामल संग्रह गर्दै सर्वसाधारण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास जुम्लामा पनि उच्च बन्दै गइरहेको छ। कोरोनाकै त्रासकाबीच जुम्लाका सर्वसाधारण दैनिक उपभोग्य वस्तु संग्रहमा जुटेका छन्। चाँडै नाका सिल हुने र खाद्यवस्तुको मूल्य वृद्धि हुने आशंकामा स्थानीयले दैनिक उपभोग्य वस्तु चामल, नुन, तेल, ग्यास लगायत अत्यावश्यक वस्तु भण्डारण गर्न लागेका हुन्।

सबैभन्दा बढी खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा चामल र नुन लिनेको घुइँचो बढेको छ। बजार भन्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले संस्थानमा सर्वसाधारणको भिड बढेको हो।

सरकारले कोरोना संक्रमण हुन सक्ने भन्दै स्कुल कलेज तथा एसइई लगायत सबै परीक्षा स्थगित गरेपछि स्थानीयमा उत्पन्न त्रासले पनि अत्यावश्यक सामग्रीको जाहो गर्न लागको चन्दननाथ नगपालिका सिमखाडाकी बिरा उपाध्यायले बताइन्। 

‘कोरोना भित्रन नदिनको लागि नाका बन्द गर्ने हल्ला आइरहेको छ,’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘यदि नाका बन्द भयो भने पुग्ने खाना घरमा छैन। त्यसैका लागि उपभोग्य वस्तुको जोहो गर्न लागेका छौं।’

केही दिनयता खाद्य संस्थान  जुम्ला शाखामा चामल लिनेको घुइँचो लाग्ने गरेको संस्थानका प्रमुख तिलक सुनारले बताए। ‘सामान्य अवस्थामा दिनमा १५ देखि २० बोरा मात्र चामल बिक्री हुने गरेकोमा अहिले थामिनसक्नु भिड छ,’ उनले भने, ‘अभाव नहुनेगरी चामल भण्डारण गरिएको छ। हाललाई चिन्ता लिनुपर्ने अवस्था छैन।’

त्यस्तै नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको जुम्ला शाखामा पनि भिड बढेको छ। केही समय अघि सुनसान रहने कर्पोरेसनमा दुई दिनको अवधिमा झण्डै एक हजार जनाले नुन लिएका छन्। 

कोरोनाको त्रास बढेसँगै जुम्लामा गाडी पुगेपछि पहिलो पटक नुन, चामल लिनेको भिड बढेको छ। पहिलो दिन प्रति व्यक्ति ११ पोका नुन दिएकोमा दोस्रो दिन प्रतिव्यक्ति पाँच पाकेट मात्र बाँडेको साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाले जनाएको छ। 

‘यो अवस्था हेर्दा दस वर्षअघिको याद आइरहन्छ। दस वर्षअघिसम्म यहाँ प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल र गाविस सचिवको पावर चल्थ्यो,’ स्थानीय गिता केसीले भनिन्, ‘अहिले पनि त्यो अवस्था आउन सक्छ। यस्तो भयो भने हाम्रो केही चल्दैन। टाठाबाठा र पहुँचवालाले मात्र चान्स पाउँछन्। त्यसैले हामी अगाडि देखि नै नुनतेल जोहो गर्न थालेका छौं।’

यसैबीच जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ। त्यस्तै उद्योगी तथा व्यापारीहरुलाई कालोबजारी र किर्तिम अभाव सृजना नगर्न आग्रह गर्दै संकटको बेला फाइदा उठाउन खोजे  हस्तक्षेपकारी नीति लिने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति: : 2020-03-21 20:37:15

प्रतिकृया दिनुहोस्