कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडौं छाड्ने यात्रुको संख्या ह्वातै बढेको छ। कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले स्कुलरकलेज बन्द तथा बढी भिडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएपछि उपत्यका छाड्नेको संख्या बढेको हो।
ट्राफिक प्रहरी महाशाखाकाअनुसार गएको तीन दिनमा झण्डै तीन लाखभन्दा बढीले काठमाडौं छोडेका छन्। गएको मंगलबारदेखि बिहीबारसम्म तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका महाशाखाले जनाएको छ।
सबैभन्दा धेरै बिहीबार एकै दिन उपत्यकाबाट एक लाख ८ हजार ४५८ यात्रु बाहिरिएका छन्। उपत्यका छाड्नेको संख्या बढेसँगै आज दिउँसोदेखि साँझसम्म काठमाडौंको मुख्य नाका कलङ्की–थानकोट सडकखण्डमा लामो जाम भएको थियो।