भारतका मुम्बई, पुणे, नागपुर शहर ‘लक डाउन’!

संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो छ।

यसैबीच कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन महाराष्ट्र सरकारले भारतमा ठूला सहरहरू मुम्बईसहित, पुणे, पिपरी, चिन्चवड र नागपुर लकडाउन गर्ने निर्णय गरेको छ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेपछि महाराष्ट्रका सहरहरू लकडाउन गर्ने निर्णय गरेका हुन्।

दैनिक जीवनमा अत्यावश्यक पर्ने बैंक, मेडिकल, खाद्य स्टोर, दूध केन्द्र आदि बाहेक सबै बजार पसल आगामी ३१ मार्च सम्म बन्द गर्ने महाराष्ट्र सरकारले निर्णय गरेको छ।

यसअघि महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले पनि आवश्यक परे मुम्बई पुरै लकडाउन गर्ने बताएका थिए।

टोपेका अनुसार विदेश यात्राबाट फर्किएका ४० जना कोरोना संक्रमित पाइएको भन्दै जुनसुकै बेला आवश्यक कदम उठाउने बताएका थिए।

भारतमा अहिलेसम्म ५ जनाको ज्यान जानुका साथै २०६ जना संक्रमित भेटिएका छन्। महाराष्ट्रमा मात्रै ५२ जना संक्रमित भेटिएका छन्।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा १० हजार ८० जना मान्छेको निधन भइसकेको छ भने इटालीमा मात्र सर्वाधिक ३४०५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-03-21 04:43:59

प्रतिकृया दिनुहोस्