मापसे जाँच स्थगित, कक्षा पनि लिनु नपर्ने

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच तत्कालका लागि स्थगित गरेको छ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मापसे जाँच रोकिएको हो। यद्यपि, अत्यावश्यक अवस्थामा भने अस्पतालमा लगेर प्रहरीले परीक्षण गरेर आफन्तको जिम्मा लगाइने भएको छ।

‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’, ढकालले भने ।

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

महाशाखाका प्रमुख ढकालका अनुसार कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले विशेष अभियानबाट यात्रु माथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने स्थानहरूमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउने गरि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाईएको छ। ‘यस विशेष टोलीले सीट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सँधै मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन्।’

महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको महाशाखाका प्रमुख ढकालले बताए।

त्यस्तै सार्वजनिक सवारी साधनलाई कोभिड – १९ (कोरना) भाईरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ ।

 महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि आजदेखि कार्यालयको मूलगेटमा साबुन पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए ।

‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं । ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचना समेत मूलगेट अगाडि राखेका छौं । कार्यलयमा प्रहरी कर्मचारी होस् वा सेवाग्राही आगन्तुकलाई साबुन पानीले हात धोएपछि मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाएका छौं,’ एसपी श्रेष्ठले भने।

महाशाखाका मातहतका ट्राफिक कार्यालयहरूमा पनि आज विहानैदेखि साबुन–पानीले हातधुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ ।

‘यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाईरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि विशेष अभियानमा ट्राफिक प्रहरी परिचालित गरिसकेको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ’ श्रेष्ठले भने।

प्रकाशित मिति: : 2020-03-21 02:14:10

प्रतिकृया दिनुहोस्