दाङको तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती सुरू गरेका छन्।
रूकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गरेका हुन्। वार्षिक ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरू गरेका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन्। कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।
दुई वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिए।
चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन्। गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्काले बताए। घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार/पाँच कामदार लगाउनुपरेको उनले बताए।
कागतीको बिरुवा भारतबाट प्रतिबोट रु २५० मा किनेर ल्याएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउँछन्। मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरकफरक नाम भन्ने गरेको उनले बताए। रोजगारीका लागि दुईपटक मलेसिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गरेका हुन् ।
६ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय शुरु गरेका खड्काले व्यवसायमा ७५ लाख लगानी गरेको बताउँछन्।
विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उनले बताए। ‘नेपाली बजारमा सधैं प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ’, खड्काले भने।
बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन शुरु भएपछि खड्काले घोराही उपमहानगरपालिका–५ धर्नामा तीन बिघा जग्गा भाडामा लिएर कागती र माछापालन शुरु गरेका छन्। कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैँसी र बाख्रा पनि पालेका छन्।
व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए। ‘बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ’, खड्काले भने। कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ। सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उनको भनाइ छ । रासस