मैले मेरा हजुरबा नामुद कविराजलाई चिन्ने मौका पाउँदा उहाँ सरकारी सेवाबाट निवृत्त भइसक्नु भएको थियो र गोरखा बजारको हाम्रो मूलघरमा आफ्नो निजी चिकित्सालय चलाउनु हुन्थ्यो । मसँग हजुरबाका सम्झनामा आँगनभर सुकाइएका थरीथरीका जडिबुटी, दलिनभर झुन्ड्याइएका अनेकौं सेता पोका, ठूलाठूला घैलाजस्ता भाँडामा राखिएका रसद छन् । तत्कालीन ग्रामीण परिवेश, तल छेपेटारतिरबाट हस्याङ र फस्याङ गर्दै हाम्रो आँगनको डिलमा आइपुगेका एक जना कुमाल बूढाको ‘‘बाजे रातभरि बाख्राले छर्यो, के गर्ने होला?’’ भन्ने प्रश्नको जबाफमा पिंढीमा तमाखु खाइरहनु भएको हजुरबाले सहज उत्तर दिएको याद छ – गाँजा खुवाइदेऊ । ती कुमाल हस् भनेर फर्के । बाख्रालाई जाति भयो, भएन त्यो भने थाहा भएन । अहिले आएर के थाहा भयो भने गाँजामा औषधीय गुण हाम्रो आयुर्वेदले चिनेको रहेछ ।