अमेरिकामा राहत चेक आउँछ तर 'कति, कसलाई, कहिले' ट्रम्पलाई पनि थाहा छैन !

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकामा कोरोना भाइरससँग जुध्न सरकारले पठाउने भनिएको 'राहत चेक' अहिले चर्चाको शिखरमा छ। यसो हुनुको मूल कारण आम मानिसमा यसलाई लिएर अनेकौ प्रश्न छन्; जस्तो कि : यो  राहत कसले पाउँछ? कति पाउँछ? कहिले पाउँछ? कुन माध्यमबाट पाउँछ ? अमेरिकी नागरिकले मात्र पाउँछ कि स्थायी बसोबास भएका (पीआरधारी) ले पनि पाउँछ ? विद्यार्थी र टीपीएसवालाले ले पाउँछ कि पाउँदैन ? आदि इत्यादि ।

यी पंक्तिहरू लेखिरहदासम्म माथिका कुनै प्रश्नका उत्तर कसैसँग पनि छैनन्। लाग्छ, ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि छैनन्। उनीहरू  दुबैले अहिले यसैमा गृहकार्य भैरहेको मात्र बताएका छन्। 

ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले पछिल्लो पत्रकार भेटघाटमा  कतिको चेक पठाउने, परिवार वा व्यक्ति केलाई आधार मान्ने, कति आम्दानी भएका सम्मलाई दिने ? त्यसबारेमा द्गुततर गतिमा गृहकार्य भैरहेको बताएका थिए। तर, उनले यो पनि बताउका थिए कि हामी सबैको टुंगो लगाउँछौ, त्यसको जानकारी गराउँछौं र आउँदो दुई साता भित्रमा घरघरमा चेक पठाउने व्यवस्था गर्नेछौं ।

त्यसपछि सरकारकै तर्फबाट एकहजारको चेक पठाउने र अमेरिकीलाई मात्र दिने भन्ने खालका ट्राइल बलुन बाहिर आएका छन्। तर, त्यसमा सरकारले सकारात्मक रेस्पोन्स पाउँन सकेको छैन। अमेरिकीलाई मात्र दिने कुराको विरोध भएको छ र कम्तिमा पनि सोसल सेक्युरिटी भएका र सन् २०१८ को ट्याक्स फाइल गरेका जो कोहीलाई पनि दिनुपर्ने आवाज सुनिएको छ।

यसैगरी एकहजार डलर पनि पर्याप्त नभएको अमेरिकी जनमत रहेको छ। उनीहरू कम्तीमा पनि तीन महिनासम्म एक एकहजारका दरले दिनुपर्ने आवाज  उठाइरहेका छन्। 

कति आम्दानीभन्दा माथि भएकालाई दिने भन्ने बारेमा पनि फरक फरक मत देखिएको छ। रिपब्लिकनहरू ६५ हजारभन्दा तल भएकालाई दिनुपर्ने भनिरहेका छन् भने डेमोक्रेटहरू त्यो ज्यादै कम भएको र कम्तीमा पनि एक लाख बनाउनुपर्ने बताइरहेका छन्।

अमेरिकामा राहत चेक आउँछ तर 'कति, कसलाई, कहिले' आउँछ ? ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र राष्ट्रपति डोनल्ड ट्रम्पलाई पनि थाहा छैन। उनीहरू  दुबैले अहिले यसैमा गृहकार्य भैरहेको मात्र बताएका छन्। बाहिर आएका 'पानी ज्योतिषी'का भविष्यवाणी अनुमान हुन्। मिलेमा सञ्जोग मात्र हुनेछ।

यी त ट्रायल बलुनका कुरा भए, औपचारिक रूपमा त्यसपछि कुनै पनि सूचना बाहिरिएको छैन। अमेरिकाका शक्तिशाली सञ्चार माध्यमले पनि यस बारेमा कुनै नयाँ समाचार ब्रेक गर्न सकेका छैनन् ।

अमेरिकामा रहेको नेपाली समुदायमा भने यसका बारेमा आआफ्नै किसिमका अनुमान बाहिरिएका छन्। यहाँका नेपाली मिडिया आउटलेट र नेपाली समाजसेवी, अभियन्ता, ह्विसलब्लोअरले पानी ज्योतिषीका रूपमा आआफ्ना डम्फू बजाएका छन्। तर, ती सबै अनुमान हुन् र कसैको अनुमान मिल्यो भने त्यो संजोग मात्र हुनेछ ।

राहत चेकका बारेमा उठेका प्रश्नहरूको उत्तर दिन सक्ने सम्भावित आधार भनेको यसअघि २००८ को आर्थिक मन्दीसँग जुध्नका लागि अमेरिकी सरकारले के कसरी राहत चेक बाँडेको थियो भन्ने नै हो।त्यतिबेला हरेक वयस्कलाई ३ सयदेखि ६ सय डलरसम्मको चेक पठाइएको थियो। त्यसको आधार उनीहरूको आम्दानीलाई बनाइएको थियो। बार्षिक ७५ हजारभन्दा कम आम्दानीको ट्याक्स फाइल गरेका सबैले राहत  प्राप्त गरेका थिए। रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो। वालवालिकालाई भने सबैलाई समान ३ सय डलरको चेक पठाइएको थियो ।

अहिलेका लागि पनि त्यही नजीरलाई आधार बनाइन्छ भन्ने धेरैको अपेक्षा छ। तर, यो ट्रम्पको अमेरिका हो, यतिबेला निम्न र मध्यम आय भएका जनतालाई दिने हैन, उनीहरूबाट लिने हो। त्यसैले यो वर्गलाई दिने मामलामा कन्चुस देखिएका र आप्रवासीप्रति पटक्कै दयाभाव नभएका ट्रम्पले अमेरिकी नागरिक बाहेक अरूलाई पनि देलान् भन्न सकिन्न। तर, यो चुनावी वर्ष भएकाले चुनाव जित्नैका लागि भए पनि ट्रम्पले धेरैभन्दा धेरैलाई र त्यो पनि धेरै दिए भने पनि अचम्म मान्नु पर्दैन।

अहिलेका लागि भने राहत चेक दिने कुरा निश्चितप्राय: छ। तर, त्यसपछिका कति, कसरी, कहिलेसम्म, कस्कसले पाउँनेलागयतका प्रश्नहरूको औपचारिक उत्तर भने ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि छैन। 

प्रकाशित मिति: : 2020-03-20 17:06:41

प्रतिकृया दिनुहोस्