इटालीमा कोरोना कहर: एकै दिन ४७५ को मृत्यु, ज्यान गुमाउनेको संख्या तीन हजार नजिक

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमणको इटालीमा अवस्था अति भयावह बनेको छ। कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ।

इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ।

इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये चार हजार भन्दा बढी मानिस निको भएका छन्। इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। सो क्षेत्रमा एकै दिन ३१९ जनाको मृत्यु भएको हो।

गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस देखिएको चीनपछि सबैभन्दा बढी प्रभावित भएको देश हो इटाली। अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा ८ हजार ७५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन्।

अहिलेसम्म दुई लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये चीनसहितका एसियाली क्षेत्र र युरोपमा ८० प्रतिशत संक्रमित छन्।

इटाली विगत दुई हप्ता भन्दा बढी समयदेखि लक डाउनको अवस्थामा छ। तर विश्व स्वास्थ्य संगठनका प्रमुखले बुधबार कोरोनाको संक्रमण रोक्नका लागि देशहरु आइसोलेसनमा जानु पर्ने, परीक्षण र उपचारको व्यवस्था हुनु पर्ने बताएका छन्।

कोरोनाको संक्रमण बिस्तार हुन निदनका लागि विश्वका विभिन्न देशले कडा प्रयास गरेका छन्। सामाजिक दूरी कायम गर्ने, सार्वजनिक कार्यक्रमहरु रद्द गर्ने तथा हिँडडुलमा प्रतिबन्ध लगाउनेसहितका नियम लागु भएका छन्।

नेपालमा पनि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ। यता शिक्षणसंस्थाहरु समेत बन्द गरेको छ।

प्रकाशित मिति: : 2020-03-19 19:53:43

प्रतिकृया दिनुहोस्