विकासको नाममा चोइटिएको किसानकाे खुशी (भिडियाेसहित)

बाईरोडको बाटोमा धुलो उडाउदै। यहि गीतको तालसँगै पोखराबाट ५ घण्टाको जिपको यात्रामा घान्द्रुक पुगियो। खन्दै गरेको सडकमा डुङडुङती उडेको धुलो खाँदै  पहाडको भित्ता र खोच हुँदै त्यहाँ पुग्दा, अनुहारभरी उडेको धुलोलाई बाँया हातले पुछ्दै हतारिदै हिडेका दुई बृद्ध बालाई देख्नासाथ मेरो पाईला टक्क रोकियो।

घान्द्रुक गाउँमा मानिसको चहलपहल देख्दा गाउँलेको आँखा नयाँ मान्छेतिर देखिन्थे तर ती दुई बृद्ध भने चहलपहल देखेर झर्को माने झै अगाडी लम्किँदै थिए।

मैले सोधे–‘बुवा कस्सिएर हिड्नु’भा छ नि? 

उताबाट उत्तर आयो–‘के गर्नु नानी? किसान मान्छे खेतमा पानी हाल्न जानलाग्या नि।’

मेरो प्रश्न सुनेर बीच बाटोमै रोकिएका ती बृद्ध थिए, सुकबहादुर दमाई (५७) र दुर्गाबहादुर नेपाली (६६)। 
 
सुकबहादुरका ४ छोरा र ४ छोरी छन्। उनले छोटो चिनजानकै क्रममा भने– के गर्नु नानी! सरकारका विकासे कार्यक्रमले किसानको रोजीरोटी खोस्यो। त्यही भएर गरिब मान्छे खेततिर जान लाग्या।

उनको कुरा सुनेर एकछिन त म पनि अलमलिए। र, सोधे– ‘के गर्यो बा विकासे कार्यक्रमले?’ 

उनी केही भावुक बने। र, भने–‘के गर्नु हजुर। हामी गरिब किसान मार्ने काम भो।’ 
 
उनको उत्तर सुनेर म झन् अलमलमा परे–विकासले गरिब र किसान मार्ने काम कसरी भयो? हैन यी बा के भन्छन्?
म एकछिन घोत्लिन विवश भए। तर अहँ! बुझिन्? सोधे–‘हैन के भन्या बा यस्तो?’ सुकबहादुर बा अलि जोस्सिए। 
भने–‘हेर्नुस् त घान्द्रुक। ढुङ्गैढुङ्गाको बाटो अनि ढुङ्गाकै घर ठाउँठाउँमा बिसाउने चौतारी। अनि बाटो छेउका पोखरीहरू। आफ्नो छुट्टै पहिचान बनाएको थियो, त्यो ठाउँले। मान्छेहरू बाटो नभए पनि हिँडेरै सुस्ताउदै चौतारीमा बिसाउँदै यहाँसम्म आइपुग्थे। तर अहिले यहाँको पहिचान नै हराउन लाग्या छ।’

उनले अलि पर खनेको डाँडालाई देखाउँदै भने, ‘यी सबै ठाउँमा खेती हुन्थे। अहिले सबै विकासका नाममा मासे।’ 

उनले निमेश भरमै धेरे कुरा गरे। पहिला गाउँको वुढाले कति दुःखले ढुँगा बोकेर ल्याए र यहाँको आफ्नै मौलिकता बनाए तर त्यो मौलिकता हराएको छ। उनले आफ्नो मजेत्रोले पसिना पुछदै विरक्ति सुनाए। 

‘मानिसहरू पोखराबाट हिडेरै अन्नपूर्ण बेस क्याम्प पुग्थे। बाटो बिसाउदै जाँदा खर्च पनि टन्नै गर्थे। अहिले यो बाटोले गर्दा कोही पनि हिड्न रुचाउँदैनन्। घाटा त यसै भो नि हजुर’, उनले विकासले गरिबमाथि कसरी समस्या थप्यो? मलाई प्रष्ट्याए। 

‘घाटा त भो बुवा तर किसानलाई त्यस्तो अचाक्ली घाटा के भो त?’ मैले सोझे प्रश्न गरे। उनले यसको पनि सोझै उत्तर दिए, ‘हामी गरिब मान्छे साहँुको जग्गा कमाउँछौ। हाम्रा साहँु अमेरिका र अस्ट्रेलिया बस्छन्। हामीले अधियामा खेती लगाएपछि भनेजति उनीहरूलाई दिनै पर्छ तर उब्जनी नै नभएपछि कसरी दिने? भन्नुस् त अनि हामी मरेनौ?’

कति जेलिएको कुरा रहेछ। मलाई यी बासँग थप कुरा जान्ने इच्छा जाग्यो र फेरि सोधे–‘उब्जनी चाहि कम कसरी भयो बा?’ 
उनी अलि हौसिए र भन्न थाले–‘नानी! तपाई शहरको मुन्छेले के बुझनु, यस्तो कुरा। हेर्नुस् विकास गर्ने भन्दै जंगलफाडे। खेती गर्ने जग्गा घट्यो। एक्याप (अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्ट) भन्ने संस्थाले जनावर लखेट्न पनि दिदैन। जनावर जति खेत पसेर सबै खाइदिन्छन्। बादर, मृग, चरा, भालु सब खेतबारीमा पसेर बाली नष्ट बनाइदिन्छन्। अनि उब्जनी नै नभएपछि हामीले साहुँलाई के बुझाउने?’

गफकै सिलसिलामा उनले वर्षौदेखि गुम्सिएको रिस पोख्न पाए झै गरि भने–‘हेर्नस् न कृषिको विकास भन्छन्। शहरको दुईवटा गमलामा गोलभेडा लाको फोटो देखाउँछन्। हामी किसानलाई केहि सुविधा छैन। यसरी हुन्छ विकास?’ 

सुकबहादुर र दुर्गाबहादुर दुबै उमेरले पाको भएपनि काम गर्ने जोश र जाँगर भने उत्तिकै देखिन्छ। भन्छन्–‘हाम्रा हात पाखुरामा उस्तै दम छ तर सरकारले यसलाई कुजो बनाइदियो। हामी किसान खेती गर्ने अवसर हामीलाई दिने हो। शहरमा गमलामा गोलभेडा रोपेर कृषिको विकास भो भन्दै समाचार फुकेर हुन्छ?’ 

उनले आफूसँग पहिले १ सय २९ वटा गाई भएको सुनाए। ‘सबै मरेर सकिए। अहिले ५०–६० वटा गाई र १५ जति भैसी छन्। पहिला गाउँकै जडिबुटी खुवाएर पनि गाईभैसीको उपचार हुन्थ्यो। अहिले जंगलफाडेर जडिवुटी मासिए।’  

उनी भन्दैथिए– ‘भेटनरीको डाक्टर आउँछ। एउटा ट्याबलेट जुकाको औषधी दिएर जान्छ। अब त्यो मैले कुन खुवाउने? लु भन्नुस् यहि हो त विकास? खेतबारीमा काम गर्दा पहिला गोरु जोतेको दिनमा १२ सय आउँथ्यो। महिलालाई खेत रोपेको दिनमा ६ सय आउँथ्यो अव उव्जनी नभएपछि कमाइ पनि छैन। अनि गरिव कसरी बाच्ने? हजुर! गरिब कसरी बाच्ने?’  
यी बाको कुरा सुनेपछि म पनि एकछिन सोच मग्न भएछु। पहिले निकै हौसिएका सुकबहादुरको स्वर अब मलिन बन्यो, उनी त्यही मलिन स्वरमा भनिरहेका थिए, ‘कोदो, गहुँ, मकै र धानबाली गर्ने ठाउँमा अलैची लगाएको छ। किसानले त्यही खाएर बाच्ने? गरिबलाई खाने चामल छैन। अलैची लगाएर हुन्छ?’

उनको कुरा सुनेपछि मलाई सरकारको याद आयो। अहिले सरकारको नारा छ, ‘समृद्ध नेपाल र सुखी नेपाली।’ यही नाराअन्तर्गत सरकारले विभिन्न विकासे योजना अगाडी सारेको छ। तर, धान्द्रुकको गाउँमा बसोबास गर्ने सुकबहादुर र दुर्गाबहादुर जस्ता हजारौं गरिब किसानलाई भने भोकभोकै मर्ने त होइन? भन्ने ठूलो चिन्ता छ। 

प्रकाशित मिति: : 2020-03-20 00:05:00

प्रतिकृया दिनुहोस्