यो रंगीन दुनियाँमा सुनलाई लात हानेर हिरा रोज्नेहरू सायद देख्नु र सुन्नु भएकै होला। तर सुन भित्रै हिरा खोज्ने केही पात्रहरू जीन्दगीको यात्रामा कहिलेकाही भेटिन्छन्।
हुन त हाम्रो समाजमा अझै पनि दृष्टिविहीन महिलालाई पुरूषले श्रीमति र परिवारले बुहारीको रूपमा स्वीकार्न सक्दैनन्।
तर यहीँ समाजका केही यस्ता जोडी छन्। जहाँ दृष्टिविहीन महिलालाई सपाङ्ग पुरूषले जीवनसाथी बनाएर सुख दुःख सँगै बाडिरहेका छन्।
सन्तोस पौडेल र सीता पोखरेल पौडेलजस्ता जोडीहरू सायदै समाजमा फेला पर्छन्।
जन्मिएको ६ वर्षमा दादुराले थला परेकी सीतालाई यही रोगले दृष्टिविहीन बनायो।
उनी जन्मजात दृष्टिविहीन होइनन्, ६ वर्षको उमेरमा दादुराबाट थला परेकी उनलाई १०३ डिग्रीको ज्वरो निरन्तर आएपछि आँखाको नशा सुक्दै गयो। अन्ततः उनी लो-भिजन हुन पुगिन्।
स्याङ्जाको आरेचौर २ मा जन्मिएकी ३३ वर्षिय पोख्रेल तीन वर्षकै उमेरमा बुटवल झरेकी थिइन्।
एक दाजु, एक भाइ र एक बहिनीकी दिदी उनका बुबा भारतीय आर्मीमा कार्यरत थिए। आमा गृहणी हुन्।
६ वर्षकै उमेरमा आमा गुमाएकी सिता दृष्टिविहीन दाजु र भाइ बहिनीसँग बस्दै आएकी हुन्। मामाघर स्याङ्जा जाने क्रममा सवारी दुर्घटनामा परेर उनकी आमाको निधन भएको थियो।
सानो हुँदा पुस्तक पढ्न औधि रूची राख्ने उनी २-३ पटक पूर्ण दृष्टिविहीन विद्यार्थीको लागि लेखन सहयोगीसमेत बनिन्।
घर नजिकै भएकाले प्राय उनी आफैं स्कुल घर जाने गर्थिन्। कहिलेकाही साथीहरूले लगिदिने गर्थे।
२०५९ सालमा सिद्धिविनायक स्कुल, सेमलारबाट एसएलसी पास गरेकी उनले +२ पनि त्यहीबाट पास गरिन्।
विद्यालय तहमा सरहरूले ब्लाक बोर्डमा लेखेका उनले देख्न नसक्ने कुराहरू साथी कल्पनाले सघाउने गर्थिन्। कमर्स विषय लिएर १०+२ पढेकी उनलाई तेजकुमारी आचार्यले उनले नदेखेका कुरा कापीमा सारिदिने गर्थिन्।
स्नातक पनि कमर्समै गरेकी उनलाई स्कुल पढ्दैदेखि स्थानीय सन्तोस पाैडेलले खुबै मन पराउँथे।
पढाईमा अब्बल उनलाई स्कुलदेखि क्याम्पससम्म सन्तोसले बलियो साथ दिए।
‘घर नजिकै रहेकाले हामीलाई चिन्न अझ सहज भयो, सीताकै छेउमा बसेका सन्तोसले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘उनले आँखा नदेखे पनि म पुरै देख्छु।’
सन्तोस पौडेल राम्रोसँग आँखा देख्न सक्छन्।
उनले कक्षा १२ को परीक्षा दिन जाँदा बाटोमा सीतालाई प्रपोज गरेका थिए। ‘म तिमिलाई माया गर्छु। तिमीसँग बिहे गर्न चाहन्छु, भनेर मैले कक्षा १२ को परीक्षा दिन जाँदा भनेको थिएँ’, सन्तोसले भने, ‘तर त्यो बेला सीताले सन्तोसको प्रस्तावलाई आफू दृष्टिविहीन भएकाले ठाडै अस्वीकार गरिदिइन्।’
तर सन्तोस किन मान्थे रे। घुर्कि लगाइदिए- तिमीलाई म सँग बिहे नगर्ने भए म परीक्षा नै दिन्नँ।
त्यो बेला सन्तोसले कक्षा १२ को पुरक परीक्षा दिँदै थिए।
त्यसपछि सीताको मन केही पग्लियो र भनिन्- त्यसो भए परीक्षा दिएर आउनू अनि कुरा गरौंला।
सन्तोसले प्रेम प्रस्ताव राखेको बेला सीता एकदमै डराएकी थिइन् रे। उनले बिएल नेपालीसँग कुरा गर्दै आफ्नो विगत यसरी सम्झिइन्, ‘मैले कहिले पनि सोचेको थिइनँ, र अपेक्षा पनि थिएन कि, मलाई कुनै देख्ने केटाले प्रपोज गरोस्।’
परीक्षा सकियो। परीक्षा पछि सन्तोसलाई सँगै लिएर अस्पतालमा चेक गराउँछु र मेरो भिजन घट्दै जान्छ भनेमा बिहे गर्न नसक्ने भनेर जवाफ फर्काउने सोच बनाइन्।
काठमाडौंको तिलगंगा आँखा अस्पतालमा जचाउन गएकी उनलाई डाक्टरले पछिको सम्भावनाबारे यसै भन्न नसक्ने बताए।
तर सोही बेला सन्तोसले उनलाई भने रे, ‘तिमी पुरै दृष्टिविहीन भए पनि म सहस्र स्वीकार्छु। मलाई केही फरक पर्दैन।’
सन्तोसको यस्तो मायाँ देखेर सीताको मन पग्लियो। त्यसपछि उनलाई भित्रैबाट माया भरिएर आयो र भनिदिइन्- ओके।
ओके त भनिन् तर उनलाई मनमा विभिन्न शंका लाग्न थाल्यो। देखावटी माया गरेर पछि छोड्ने पो हो कि, परिवारले नस्वीकार्ने पो हो कि, पछि सन्तोसको मन परिवर्तन भयो भने के गर्ने जस्तो लाग्थ्यो तर सन्तोसको उनी प्रतिको लगाव र मायाले उनको दयालु मन पगालेरै छाड्यो।
तर सन्तोसले सीता र उनको सम्बन्धका बारेमा परिवारमा कुनै कुरा गरेका थिएनन्। ‘सीतालाई मेरो परिवारले नस्वीकार्ने निश्चित थियो। त्यसैले मैले ८ वर्षसम्म लभ पर्दा पनि परिवारलाई सुइकोसमेत दिइनँ’, उनले भने,‘लभको भाइरस नफैलियोस् भनेर हामी एक आपसमा भेट हुँदा पनि सामान्य तरिकाले कुरा गर्ने गर्थ्यौ।’
कक्षा ८ देखिनै सीतालाई मन पराएका सन्तोसले १२ कक्षाको अन्तिम परीक्षामा मात्र भन्ने आँट गरेका थिए।
बिहे अघि कहिल्यै डेटिङसमेत नगएका उनलाई यो संवाददाताले आँखा देख्ने केटीहरू पाउनुहुन्थ्यो होला किन दृष्टिविहीन रोज्नुभयो भनेर प्रश्न राख्दा उनले हाँसेर भने, ‘सानैदेखि एउटै स्कुलमा पढियो। मन पर्दै गयो। माया बस्यो।’
सीताको कुन बानी मनपर्छ भन्ने प्रसङ्गमा उनले भने, ‘मान्छे नै मनपर्छ, बानीको के कुरा।’
अलिक लजालु स्वभावका सन्तोसले सीतालाई भनेको २ महिनापछि उनका बुबासँग कुरा गर्न गए।
तर त्यतिबेला सीताका बुबाले आँखा देख्ने मान्छेको कुनै भर हुन्न भन्दै मानेका थिएनन्।
सन्तोसले पनि परिवारमा सीताकोको बारेमा सम्झाउन निकै कसरत गर्नुपर्यो।
अन्ततः उनीहरूले मागी विवाह गरे।
‘सायद मेरो श्रीमानको परिवारलाई दृष्टिविहीनले घरको काम गर्न सक्दैन भनेरै होला स्वीकार्न अनकनाउनु भएको हो क्यार’, सीताले विगत सम्झदै भनिन्, ‘सासु आमा विहे गरेको सुरूवाति दिनमा दुःखी भए पनि अहिले मलाई नै बढि माया गर्नुहुन्छ।’
बुटवलको सुबिसु नेट कम्पनीमा काम गरिरहेका सन्तोसले यसअघि आफू दृष्टिविहिनका लागि काम गर्ने सिआरबी संस्थामा काम गर्दा दृष्टिविहिनलाई आँखा देख्नेहरूको साथ र सहयोग आवश्यक रहेको बुझेका हुन्।
विवाह पछि आफू सन्तोसँग खुसी रहेको भन्दै सीताले मन, मुटु धडकन र धारणा मिलेमा कोही पनि दृष्टिविहीले जो कोहीसँग विवाह गर्न कसैले नरोक्ने बताइन्।
घुम्न जाँदा बाटोमा ढुङ्गा हुँदा श्रीमानले पन्छाइदिने गरेको र घुम्ने ठाउँको वस्तु अनि दृश्यको बारेमा बताइदिँदा आफू ती दृश्यको कल्पनामा डुबेर मज्जा लिने गरेको सिताले बताइन्।
‘म पूजासमेत गर्दिनँ। किनकि, उहाँनै मेरो भगवान हो’, उनले भनिन्।
विवाह गरेको नौ वर्ष हुँदासमेत उनीहरूको सन्तान भएको छैन। विभिन्न अस्पतालमा उपचारसमेत गराए तर पनि केही उपाय लागेको छैन।
नेपाल र भारतका केही प्रतिष्ठित अस्पतालमा उपचार गराए पनि समस्याको समाधान भएन। अब ६-७ वर्षपछि कतैबाट बच्चा ल्याएर आफ्नो सन्तान बनाएर पाल्ने विचार उनीहरूले गरेका छन्।
हाल सैनामैना २ स्थित कालिका आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएकी उनी रूपन्देही नेत्रहिन संघको उपाध्यक्षसमेत हुन्।
यी जोडीलाई हाम्रो शुभकामना।